शव कुल्चिँदै धौलागिरि हिमालको यात्रा

0

धौलागिरि हिमालको शिखर चुम्नै लागेका आरोही लाक्पा शेर्पा परिवार र आफन्तजनसँग खुसी साट्न आतुर थिए। तर एकाएक झस्किए। आफू उभिएकै अगाडि विदेशीको शव देखेपछि उनको उत्साह हरायो। ‘त्यो देखेपछि मेरो मन नै मरेर आयो। परिवार र आफन्तलाई फोन पनि गरिनँ’, उनले भने।

अघिल्लो वर्ष मे १८ मा ८ हजार १ सय ६७ मिटर आग्लो धौलागिरि चुचुरो चुमेका थिए उनले। ‘विदेशी नागरिकको यो शव करिब २० वर्ष पुरानो होला। ‘ती पर्वतारोही पनि मजस्तै उत्साहित भएका थिए होलान् चुचुरो चुम्दा’, पायोनियर एडभेन्चर ट्रेक प्रालि आरोही दलका प्रमुख लाक्पा शेर्पाले भावुक हुँदै सम्झे, ‘लमतन्न परेर ढलेको अन्दाजी ४५÷५० वर्षका लाग्ने विदेशीको मृत शरीर देखेपछि मन खङ्ग्रङ्ग भयो।’

समस्या हिमालमा ढलेको विदेशी आरोहीको एउटा शवको मात्र हैन, अहिले आरोहण अनुमति दिइएका अधिकांश आठ हजार मिटरभन्दा अग्ला हिमालमा यस्तै बेवारिस शव बग्रेल्ती छन्। लाक्पा भन्छन्, ‘हिउँका खुड्किला नाघ्दै उकालो चढ्दा ठाउँठाउँमा शव कुल्चनुपर्ने अवस्था छ।’

विदेशी र नेपाली आरोहीका शव हिमालमा त्यत्तिकै छन्। आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्तै शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्कँदै मन खिन्न पार्छन्। पर्वतारोहण प्रशिक्षक संघका उपाध्यक्ष अर्का आरोही लाक्पा शेर्पाले चार वर्षअघि आफूसँगै आरोहणमा हिँडेका दोस्रो टोलीका तीनजना चिनियाँ धौलागिरि हिमालमै हराएको दुःखद् घटना सुनाए। ‘ती चिनियाँको शव खराब मौसामले गर्दा ल्याउन सकिएन, हिमालमै रह्यो’, उनले भने।

हिमाल विशेषज्ञसमेत रहेका उपाध्यक्ष लाक्पा कमजोर सुरक्षा विधिका कारण हिमालैभर आरोहीको शव देखिने अवस्था आएको बताउँछन्। हिमालमा रहेका वेवारिस शवको व्यवस्थापन नहुँदा समस्या भएको स्वीकार गर्दै उनले भने, ‘मन्त्रालय र विभागले प्राथमिकता दिएर शव ल्याउनुपर्छ।’ आठ हजार मिटरमाथिको क्षेत्रलाई ‘डेड जोन’ (कालभूमि) मानिन्छ। हिमालमा चढ्दा स्वयं सतर्क नहुनु, कम्पनीका सहयोगी र गाइड दक्ष नहुँदा मृत्यु हुने आरोहीको संख्या बढेको उनको भनाइ छ।

हिमाल आरोहण कठिन कार्य हो। ठाडो हिउँको उकालोमा ‘एक्स’ खोपेर डोरीमा झुन्डँदै अघि–अघि चढिरहेको आरोहीले पछाडि फर्केर हेर्न पनि सक्दैन। कथम् कदाचित आफूसँगै आरोहण गरिरहेको साथी खस्यो भने पनि उसलाई त्यत्तिकै छाडेर अघि बढ्नु त्यहाँको बाध्यता हो। त्यसैले एकै दलको साथीको मृत्यु भए पनि उसको शव हिमालमा त्यत्तिकै रहन्छ।

आरोही आफू पनि सक्षम भई हिमाल चढ्छन्। राम्रो पर्वतीय अनुभव भएको गाइडबाट मात्र हिमालमा आरोहण गराउँदा थोरै दुर्घटना हुने गरेका छन्। सामान्य शिखरसमेत नचढी सगरमाथा चढ्न होडबाजी गर्ने चलनले पनि हिमालमा शवको संख्या बढेको विषेशज्ञहरूको दाबी छ। कमजोर आरोहीलाई बचाउन खोज्दा दर्जंनौं गाइडको समेत मृत्यु भइसकेको छ।

नेपाल पर्वतीय पथप्रर्दशक संघका महासचिव एवं आरोहण-विशेषज्ञ फुर्वानाम्गेल शेर्पा कम्पनीले पैसाको लोभमा जोसुकैलाई हिमाल आरोहण गराउन पहल गर्ने र सरकारले पनि क्षमता नहेरी अशक्तलाई समेत आरोहण अनुमति दिने गर्दा यो अवस्था आएको बताउँछन्। यो अवस्था नहटेसम्म शवको संख्या झन् बढ्ने उनको तर्क छ। हिमालको ‘रोयल्टी’ संकलन गर्न मात्र मन्त्रालय–विभागले ध्यान दिने उनको आरोप छ। चुचुरोका शव व्यवस्थापनमा पनि ध्यान दिन सरकारलाई उनी आग्रह गर्छन्। कानुनअनुसार कसैको मृत्यु भएमा उसको शव त्यहाँबाट ल्याउने जिम्मा उसलाई त्यहाँ पठाउने एजेन्सीको हुन्छ। त्यसपछि बिमा कम्पनीले परिवारलाई बिमा रकम दिनुपर्छ।

नेपाल पर्वातारोहण संघ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पाले बाटोमा पर्वतारोहीले केही शव देखे पनि हिमालमा सयौंको संख्यामा शव भएको बताउँछन्। उनी हिमालमा हिउँ पग्लँदा जताततै शव देखिने हिउँ पर्न थालेपछि पुरिएर नदेखिने बताउँछन्। ल्होत्से, कञ्चनजंजा, मनास्लु, आमादब्लम, छ्यो यू, मकालुलगायतका हिमालमा करिब सयभन्दा बढी शव अझै रहेको उनको दाबी छ।

विदेशी आरोहीले १० हजार डलर हेलिकोप्टर उद्धार बिमा, नेपालीले १५ लाख दुर्घटना बिमा, चार लाख स्वास्थ्य बिमा गरी हिमाल आरोहणमा जाने गरे पनि मृत्युपछि शव व्यवस्थापन नहुँदा पर्यटन मन्त्रालयले कडाई गर्नुपर्ने अध्यक्ष शेर्पाको माग छ।हिमालमा रहेका शव पहिचान गरी परिवारलाई जिम्मा दिनुपर्ने, एजेन्सी र बिमा कम्पनीलाई मनखुसी गर्न दिन नहुने, अनुमति दिँदा राज्य गम्भीर नहुनु नै हिमालमा शव थुप्रनुका मुख्य समस्या हुन् उनले भने।

शव व्यवस्थापन गर्न मन्त्रालयलाई नेपाल पर्वातारोहण संघ र गाइडहरुले सुझाव दिएपछि बाध्यात्मक रुपमा हिमाल आरोहणमा पडाउने एजेन्सीलाई नै शव ल्याउन निर्देशन दिएको छ। तर खराब मौसम भन्दै एजेन्सी र बिमा कम्पनीले शव ल्याउँदैनन्।आरोहण दललाई एक सम्पर्क अधिकृत पठाउनुको सट्टा प्रशासन, सञ्चार, प्राविधिक, प्रहरी, डाक्टर र आरोहीसहितको एकीकृत सम्पर्क अधिकृत टोली पठाउन पषौंदेखि माग गरेपनि मन्त्रालयले वेवास्ता गरेको एनएमएको गुनासो छ।

खराब मौसम, हिमपहिरोको बढी खतरा, हिउँले ढादिँदा डेढ सय किलोसम्म तौल हुने भएकाले शव ल्याउन पाँचजना भन्दा बढी दक्ष जनशक्ति खाँचो पर्ने एनएमएको भनाई छ। यो समस्या समाधानका लागि मन्त्री, सचिव र पर्यटन महानिर्देशकलाई बारम्बार सुझाव पठाए पनि कार्यान्वयन नहुने समस्या हामी कहाँ बढी हुँदा समस्या जस्ताको त्यस्तै रहेको अध्यक्ष शेर्पाको दाबी छ।

पुरानो डोरी प्रयोग गरी आरोहणमा जानु, हाइअल्टिच्यूड खप्न नसक्नु, प्राविधिक दक्षता नहुँदा चिप्लेर मृत्यु हुने र शवलाई व्यवस्थापन गर्न नसक्दा हिमाल आरोहणमा जाँदा शव कुल्चनु पर्ने बाध्यता भएको नेपाल पर्वतीय पथप्रर्दशक संघ कार्यवहाक अध्यक्ष सुनारबहादुर गुरुङ बताउँछन्।हेलिकोप्टर बस्न नसक्ने स्थानमा डोरीबाट झुण्डिएर गरिने लङलाइन रेस्क्यूको व्यवस्था तथा शवलाई सम्बन्धित निकायसम्म बुझाउनुपर्ने व्यवस्था राज्यकै तर्फबाट गराउनुपर्नेमा गुरुङ जोड दिन्छन्।

कानुनी समस्याले गर्दा पनि हिमालका शव चाहेर पनि ल्याउन नसकिएको गुरुङले बताए। उनले भने, शवको व्यवस्थापनका लागि रेस्क्यू प्रणाली व्यवस्थित बनाउनु पर्छ, हाइअल्टिच्यूड, फुडपोइजन रेस्क्यूमा हेलीले ढिला गर्ने, दुर्घटना स्थलमा विरामी भए विमाका लागि प्रशासनको कागज विमा कम्पनीले खोज्ने, उद्धार गरी ल्याउँदा बाटामै मृत्यु भए प्रशासनको रोहवरमा भएको कागजात बिमा कम्पनीले खोज्ने गर्दा समस्या हुने गरेको उनले बताए।

हिमाल आरोपमा हुने मृत्युको संख्या कम गर्न रेस्क्युमा डाक्टरको व्यवस्था, शव ल्याउन मुचुल्का उठाउन प्रहरी प्रशासनको व्यवस्था गर्नु आवश्यक रहेको आरोहीको माग छ। अहिले दूतावास र एजेन्सीलाई दबाब दिने परिवारका आफन्तको मात्र शव आउने गरेको छ। बाँकी हिमालमै रहेकाले नेपालमा आरोहण रेस्क्यूको विदेशीमा प्रभाव नकरात्मक पर्ने गरेको छ।

पर्यटन विभाग सूचना अधिकृत दुर्गादक्त ढकाल भने, ‘पाँच हजार भन्दा उचाईमा जाँदा विमा गराएर मात्र पठाउने गरेको सबै जिम्मा विमा कम्पनी र एजेन्सीलाई हुने भएकाले शव व्यवस्थापन पनि उनीहरूले गर्नु पर्छ।’ हिमाल आरोहणका क्रममा बाटोमै आफूले पठाएका आरोहीको मृत्यु हुँदा शव नल्याएको उजुरी परे ल्याउन निर्देशन दिने तथा अटेर गरे कारवाही गरिने ढकालले बताए। (अन्नपुर्णपोष्ट)