बर्डफ्लू भित्रिन नदिन म्याग्दीमा कुखुरा आयातमा कडाई

0

कास्कीको पोखरामा वर्ड पलु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकाहरुमा कडाई गरिएको छ । दैनिकजसो सस्तो मुल्यमा पोखरा– बागलुङ सडकखण्ड हुदै भित्रिने कुखुरा, अण्डा र चल्लाहरुलाई जिल्लामा भित्रिने नदिने गरी सर्तकता अपनाइएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीका प्रमुख डा. मान बहादुर पुनले बताउनुभयो । ‘दुईवटा नाकामा कर्मचारी परिचालन गरिएको छ । जिल्लामै भित्रिने सम्भावना कम भएपनि सतर्कता अपनाइरहेका छौ’ उहाँले भन्नुभयो ।

बेनीबजारमा रहेको पोल्टी फर्मले तराई क्षेत्रबाट सस्तोमा कुखरा, अण्डा र चल्ला खपत गर्ने गरेका छन् । जिल्ला भित्रिने पर्वत बेनीको नाकामा प्राविधिक सुवास रेग्मी र बागलुङ जोड्ने रत्नेचौरमा टुकनाथ तिवारीलाई खटाइएको छ । दुईवटै नाकाबाट भित्रिने पशुपंक्षीमा चेकजाँच र आवश्यकता अनुसार परिक्षण गर्ने ब्यवस्था मिलाइएको पशुसेवा कार्यालयले जनाएको छ । विहान बेलुकी लुकिछिपी समेत भित्रन सक्ने सम्भावनालाई समेत मध्यनजर गरी प्रहरीसंग समेत समन्वयन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बस्ने जिल्लास्तरीय समितिको बैठकले समेत थप योजना बनाएर वर्ड पलु नियन्त्रणका लागि आवश्यकता अनुसारको सर्तकता अपनाउने पशुसेवा कार्यालयले जनाएको छ । म्याग्दी जिल्लामा पर्वत बेनी हुदै दैनिक १ हजार देखी १५ सयसम्म कुखुरा भित्रिने गर्दछ । जिल्लाभित्र नै मासुका लागि प्रयाप्त कुखुरा खपत हुने गरेको अवस्थामा मासु पसलका सञ्चालकले सस्तो मुल्यमा विना परिक्षण मासु ल्याउने गरेको गुनासो समेत गर्ने गरिन्छ ।