रक्तदानको गुणस्तरीयतामा म्याग्दी नेपालमै नमुना जिल्लाभित्र

0
151

रक्तदान जिवन दान । सुन्दा पनि आनन्द आउने यो भनाईले म्याग्देलीलाई छपक्कै छोपेको छ । जिल्लामा रगत अभावकै कारण पछिल्लो करिव एकदशक यता एकजना पनि ज्यान गुमाउनुपरेको छैन भने छिमेकी जिल्लाहरूमा समेत आवश्यक पर्ने रगत पठाउने मात्रै गरिएको छैन् राष्ट्रियस्तरबाट हुने कार्यसम्पादन मुल्याङ्कनमा समेत म्याग्दी उत्कृष्ट जिल्लाभित्र समावेश भएको पाइएको छ ।

जिल्ला अस्पताल भित्र नेपाल रेडक्रस सोसाईटीको मातहतमा रहेको रक्तसञ्चार केन्द्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गरिएको बाहिरी गुणस्तर कार्यसम्पादन मुल्याङ्कनका मापदण्डमा म्याग्दी जिल्लाले ९९.०७ प्रतिशत अंक प्राप्त गरेको बरिष्ठ ल्याव प्राविधिक याम बहादुर थापाले बताए ।‘केन्द्रले तोकेर पठाएका मापदण्डलाई यहाँ भएका गतिविधिका आधारमा मुल्याङ्कन हुन्छ । यसपटक उत्कृष्टभित्र समावेश भएको विवरण प्राप्त भयो’ थापाले भने।

उनले एचआईभी, हेपाटाइटिस् ‘बि’,हेपाटाईटिस ‘सि’ लगाएतको रगत परिक्षण सहितका माग भएका मापदण्डका आधारमा म्याग्दीले १ सय अंकमा ९९.०७ प्राप्त गरेको बताए । जिल्लामा रक्तदानमा प्रोत्साहन गर्ने नेपाल रेडक्रस अन्र्तरगत रक्तसञ्चार केन्द्रका संयोजक सुरत केसीले पुरानै पुर्वाधारमा समेत उत्कृष्ट अंक प्राप्त भएको बताए ।

उनले मानवीय सेवाको नमुना उदाहरणको रुपमा चिनिने रक्तदान कार्यक्रम म्याग्दीका धेरै संघसंस्थाको रोजाईमा पर्ने गरेकाले पनि दिवस,उत्सव सहितका कार्यक्रममा गरिने रक्तदानको अभियानले समेत केन्द्रमा समेत म्याग्दीको प्रशंसा हुने गरेको बताए । २०६५ सालमा जिल्ला अस्पताल परिसरभित्र स्थापन भएको रक्तसञ्चार केन्द्रमा बार्षिक ३ सय ५० पिन्ट रगत संकलन हुने गरेको छ । म्याग्दी जिल्लामा बार्षिक १ सय पिन्ट खपत हुने र बाँकी बागलुङ, पर्वत र कास्कीमा पठाउने गरिएको छ । जिल्ला अस्पतालमा अप्रेसन सहितको प्रसुती सेवा सहित जटिल अप्रेसन समेत सुरु गरिएपछि रगतको खपत धेरै हुने गरेको छ ।

तस्विर ओमकुमारी शान्ति कोषका सचिव लोकेश पुनमगरले एक महिलाको उपचारमा आवश्यक पर्ने रगतका लागि शनिबार रक्तदान दिदैं