कुहुँका महिला गाउँमै सेनेटरी प्याड बनाउँदै

0
325

महिनावारी हुदाँ बजारमा पाईने सेनेटरी प्याडको प्रयोग गर्ने गरेका कुहुँ गाविसका महिलाले गाउँमै स्थानीय प्रविधिको प्रयोग गरी सेनेटरी प्याड बनाउने तालिम लिएका छन् । महिला सञ्जाल कुहुँले गाविसका आयोजना गरेको सिपमुलक तालिममा कपडा र स्थानीय प्रविधिको प्रयोग गरी प्याड बनाउन सिकाइएको छ ।
तालिमको सहजीकरण गदै थाईवाङ निमावीकी प्रधानध्यापक देवी पुर्जाले गाविसमा रहेका सबै महिला सञ्जालको सक्रियता, विद्यालय सहित वडास्तरमा तालिम सञ्चालन गरी आयातित प्याडको प्रयोगलाई निरुत्साहित गर्न सहज हुने बताउनुभयो ।

कुहुँ, भर्जुला आसपासका क्षेत्रमा महिलालाई आयमुलक र गाउँमा हुने विभिन्न गतिविधिहरुका बारेमा समेत जानकारी गराउने गरेकी पुर्जाले तालिम पश्चात गाउँमा महिलालाइ आम्दानीको स्रोतका रुपमा समेत प्याड बनाउन प्रोत्साहन गर्ने जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी, स्वयमसेविका, विद्यालयका शिक्षक लगाएत गाविसका करिव २८ जना महिलाको सहभागिता रहेको तालिममा प्लाटिनको कपडा प्रयोग गरी गाउँमै ५० रुपैयाँ लगानीमा स्तरीय सेनेटरी प्याड बनाउन सकिने महिला सञ्जाल कुहुँकी अध्यक्ष गौमति रोकाले बताउनुभयो । उहाँले कुहुँका महिलालाई विभिन्न किसिमका सिपहरुको प्रयोगमा प्रोत्साहन गरिरहेको बताउँदै आगामी दिनमा समेत आयमुलक र ब्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेर तालिम सञ्चालन गरिने बताउनुभयो । प्याड बनाउने तालिम लिएका महिलाले नियमित बनाएर आम्दानीको स्रोत बनाउने प्रतिबद्धता जनाएका छन् ।