सदरमुकाम बेनीको विरेन्द्रचोकमा पाँचबर्ष अगाडी देखी मानसिक सन्तुलन गुमाएकी एक महिलाले विहान देखी बेलुकीसम्म छाडा शब्दको प्रयोग गर्ने गरेपनि नजिकै ठेलामा ब्यापार गर्ने महिलाहरू चुप लागेर बसेका थिए ।दैनिकजसो चर्को स्वरमा महिलालाई तत्लो स्तरको गालीलाई समेत बेवास्ता गरिरहेका ठेलामा ब्यापार गर्ने मनिसा किसानले प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्कालाई सुनाईन् ।

‘पाँचबर्ष देखी एउटै समस्या झेल्नुपरेको थियो । आफ्नो समस्यालाई फोन गरेरै सुनायौं’ किसानले बेनीअनलाइनलाई भनिन्। जिल्ला प्रशासन कार्यालयको पछाडी ठेला ब्यापार गर्ने महिलाले डिएसपीको सुझाव अनुसार नै मानसिक सन्तुलन गुमाएकी महिलालाई सम्झाएर त्यहाँबाट हटाए । पाँचबर्ष देखीको कचकच एकदिनमै समाधान भएपछि उनीहरू फुरुङ्ग भएका छन् । जिल्ला अदालतबाट सम्बन्ध विच्छेदको फैसला कार्यान्वयनमा पुरुष पक्षले आनकानी गरेपछि महिला अगुवाले फैसला कार्यान्वयनमा देखिएका जटिलतालाई प्रनाउ खड्कालाई समस्या सुनाए ।

विगतमा प्रहरीको नजिक नपर्ने महिलाहरुले समेत महिलाको जिल्लाको प्रहरी महिलाको कमाण्डमा आएपछि उत्साहित हुदै समस्यामा परेकालाई समेत तत्काल समस्या लिएर सुनाउन अनुरोध गर्ने गरेका छन् । फैसला कार्यान्वयनमा अपनाउनुपर्ने प्रक्रियाका बारेमा बुझेर पिडित पक्ष फर्किए।म्याग्दी जिल्लाको इतिहासमा पहिलोपटक प्रहरीको कमाण्ड महिलाले सम्हालेपछि प्रहरीबाट टाढा रहेका महिलाहरूले आफ्ना समस्यालाई टेलिफोन गरेरै सुनाउन थालेका छन् ।

करिव दुईसाता अगाडी जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रमुखको जिम्मेबारी सम्हाल्नआएकी प्रनाउ खड्कालाई दैनिकजसो महिलाले फोन गरेर आफ्ना समस्या सुनाउने गरेका छन् । दर्जनौ महिलाको समस्या सुनेकी प्रनाउ खड्काले महिला हिंसालाई अन्त्य गर्न महिलाको सक्रियता आवश्यकता रहेको बताईन् । सदरमुकाम बेनी संगै जिल्लाको दोस्रो ब्यापारिक केन्द्र दरवाङ, बावियाचौर लगाएतका क्षेत्रमा भएका कार्यक्रममा समेत महिलाहरुको उत्साहजनक सहभागिता, नजिक गएर आफ्ना समस्यालाई सुनाउने जस्ता गतिविधिबाट समेत प्रनाउ खड्का समेत उत्साहित देखिएकी छन् ।

सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रसम्म महिलाले फोन गरेर जिल्लामा स्वागत गदैं घरेलु हिंसा, सम्बन्ध विच्छेद, समाजमा भइरहेका महिला सम्बन्धि
घटनाका बारेमा सुनाउने गरेका छन् ।‘सबै क्षेत्रबाट बधाई आइरहेको छ ।महिलाले खुलेर आफ्ना समस्या सुनाउनुहुन्छ, तत्कालै समस्यालाई समाधानको प्रयास गरिरहेको छु’ प्रनाउ खड्काले भनिन् । उनले शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढ बनाउन सुझाव संकलन गर्ने उद्देश्यले नागरीक समाज, उद्योगी, व्यवसायी, राजनितिकर्मी, पत्रकार लगाएतका सरोकारवाला निकायसंग छलफल गरेको बताईन् ।

शान्त, सुरक्षीत र स्वच्छ जिल्ला बनाउने गुणस्तरीय सेवा, नागरीक मैत्री व्यवहारलाई प्राथमिकता दिदैं समाजसंग सन्तुलीत सम्बन्ध राख्ने खड्काको भनाई छ ।‘जिल्लाको सम्रग बस्तुस्थितिको अध्ययन गरिसकेको छु ।अपराध नियन्त्रणमा जनताको सहभागितालाई समेत बलियो बनाउन जनताको घरमै प्रहरीको उपस्थिति भएको महसुुुस दिलाउने प्रयासमा छु’ उनले भनिन् । साधा पोशाकमा रहेका प्रहरी जनता नै भएकाले अपराधजन्य गतिविधिलाई न्यूनिकरण गर्न अभियानमुखी कार्यक्रमलाई विद्यालय देखी बस्तीसम्म पु¥याउने गरी योजना बनाउने समेत उनले बताईन् ।

पितृसत्तात्मक सोंच राख्ने समाजको परिवर्तन गर्न आवश्यकता रहेकाले महिला शिक्षित र सक्षम भए परिवार नै सक्षम हुदै समाज बलियो हुने भएकाले महिलालाई आर्थिक सबलीकरण सँगसँगै समाजमा महिला हिंसा बढेकाले सबै मिलेर त्यसको निराकरण गर्नुपर्नेमा जोड दिईन् । २०६१ सालमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी खड्काले प्रहरी नायव महानिरिक्षकको स्टाप अफिसर, महिला तथा बालबालिका निर्देशनालय, मानवअधिकार इकाई, काठमाण्डौको सोह्खुट्टे क्षेत्रको प्रहरी प्रमुखको नेतृत्वसंगै शान्ति स्थापनार्थ दक्षिण सुडान र सुडानमा समेत मिसन, देशका विभिन्न स्थानमा प्रहरीलाई मानवअधिकार, महिला हिंसा, बालबालिका सम्बन्धि दर्जनौ प्रशिक्षणमा अनुभव समेत रहेको छ ।

प्रहरीलाई आन्तरिक रुपमै सक्षम, मापसेबाट मुक्त सेवाग्राहीलाई सास्ती, अनावश्यक झन्झट लगाएतका समस्या समाधान गर्ने समेत सक्षम रहेकी प्रनाउ खड्काले जिल्लाबासीको सहयोगमा अपराधिक घटनालाई न्यूनिकरण गर्ने योजनाहरु बनाउने बताईन् । यसैविच म्याग्दी म्याग्दीको कमाण्ड सम्हाल्न आएको एक हप्तामा विभिन्न संघसंस्थाले स्वागत तथा सम्मान गरेका छन् । बेनी नगरपालिका–१३ तातोपानी स्थित सरस्वती मावि, धौलागिरि मावि सिंगा, महिलाको लगानीमा सञ्चालित दिदी बहिनी र संगिनी बचत तथा ऋण सहकारी संस्था, म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीले स्वागत तथा सम्मान गदैं जिल्लालाई सुरक्षित बनाउन आवश्यक सहयोगको प्रतिबद्धता समेत जनाएका थिए ।