(प्रताप बानियाँ)
पश्चिम म्याग्दीको बाबियाचौरमा आयोजित एमालेको तेस्रो इलाका अधिवेशनले शतप्रसाद रोकाको अध्यक्षतामा १७ सदस्यीय एमालेको इलाका नम्बर ७ तथा मङ्गला गाउँपालिकाको गाउँ कमिटी चयन गरेको छ । गाउँ कमिटीको उपाध्यक्षमा धनबहादुर बुढाथोकी, सचिवमा सागर सुवेदी र उपसचिवमा हिराबहादुर फगामी रहेका छन् । यसैगरी कमिटीको सदस्यहरुमा कलाधर कँडेल, अमृता विक, राजु पाण्डे, हिरा जुग्जाली, प्रेमा अधिकारी, फुलमाया नेपाली, लालबहादुर किसान, यामबहादुर रोका, गोविन्द खत्री, सुशीला फगामी, क्याप्टेन हर्कबहादुर रोका, सुमित श्रीष र श्यामसुन्दर कँडेल रहेका छन् ।

जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं संसदीय दलका सचेतक गोकुल घर्तीले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन तोकिएको मितिमै हुनुपर्ने बताएका छन् । उनले संविधानको कार्यान्वयन गराउन स्थानीय तहको निर्वाचन आवश्यक रहेको बताएका हुन् ।

उनले संविधान कार्यान्वयनको विकल्प नभएको हुँदा संशोधनभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै नेकपा एमालेले जनमुखी संविधान कार्यान्वयनका लागि दवाव दिइरहेको बताए । एमालेले संविधान कार्यान्वयनमा जोड दिइरहे पनि वर्तमान सरकारको नेतृत्व गरेका दलहरुले संशोधनमा जोड दिइरहेको बताउँदै उनले औचित्य, आवश्यकता र अनुभवसिद्धको आधारमा मात्रै संविधान संशोधन हुनसक्ने बताए ।

एमाले नेता घर्तीले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको अवस्थामा एमालेसहित विपक्षी दलले संविधान संशोधनमा केही लचकता देखाए पनि त्यसलाई संसदको विधायन समितिमा लगेर थन्क्याइने बताएका छन् । उनले संविधान निर्माणताका जुनजुन शक्ति मिलेर संविधान जारी गरेका थिए संविधानको कार्यान्वयनका लागि पनि तिनै शक्तिहरु मिल्नु आवश्यक रहेको बताए । देशलाई टुक्राउने बिखण्डनकारी योजनासहित बाह्य शक्तिको इशारामा आएको राष्ट्रघाती संविधान संशोधनको विधेयक कुनै पनि हालतमा पारित नहुने उनको भनाई थियो ।

सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्र थापाले नेकपा एमालेका विरुद्धमा विभिन्न शक्तिहरु मोर्चाबन्दी गरेर एमालेलाई पराजित गराउन लागिपरेको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनमुखी बजेट, नीति तथा कार्यक्रम ल्याएर नेपाली जनतालाई राहत दिन लागेको अवस्थामा माओवादी र काँग्रेस गठबन्धन गरी भारतको इशारामा सरकार ढालेको आरोप लगाएका छन् ।

उनले दशवर्षे द्वन्द्वकालमा भारतविरुद्ध सुरुङयुद्ध गर्नुपर्छ भन्ने माओवादी अध्यक्ष प्रचण्ड अहिले भारतकै भूरुङ बनेर नाचेको भन्दै देश विकास गर्न, नेपालीलाई धनी बनाउन र देशलाई समृद्ध बनाउन सबै जनता एमालेमा लाग्नुपर्ने बताए ।कार्यक्रममा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले नेकपा एमालेको निरन्तर दवाव र खबरदारीका कारण सरकार बाध्य भएर स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको बताउँदै अझै पनि त्यसका लागि आवश्यक ऐननियम र कानुनहरु बनाउनुपर्नेमा सरकारले वेवास्ता गरिरहेको बताए ।

जारी नेपालको संविधानले सबै क्षेत्र, वर्ग, लिङ्ग र जातजातिको अधिकार सुनिश्चित गरेकाले संविधान संशोधन भन्दापनि कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताएका थिए। व्यवस्थापिका संसदका सदस्य तथा पूर्वराज्यमन्त्री नरदेवी पुनले सरकारी कामकाजको भाषा हिन्दी बनाउनुपर्ने, अङ्गिकृतलाई राष्ट्रिय सभाको सदस्य बनाइनुपर्ने, अङ्गिकृत नागरिकलाई राज्यको माथिल्लो तहमा पु¥याउनुपर्ने र ५ नम्बर प्रदेशको सीमा टुक्राउने गरी आएको राष्ट्रहित विपरीतको संविधान संशोधनको विधेयक पारित हुनै नसक्ने बताइन् ।

उनले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी चुनाव लड्न अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरुलाई निर्देशन समेत दिएकी छिन् ।एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले नजिकिँदै गरेको स्ववियु निर्वाचनलाई लक्षित गरी केही क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीलाई धरपकड गर्ने र प्रलोभनमा पार्ने काम भएकोप्रति आक्रोस पोख्दै उनले विचारले जित्न र प्रतिस्पर्धा गर्न चेतावनी दिएका छन् ।

कार्यक्रमको अवसरमा नेकपा माओवादी केन्द्र परित्याग गरी रामकुमारी किसान, सम्मरबहादुर किसान र राष्ट्रिय जनमोर्चा पार्टी त्यागेर रामबहादुर विक नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथि, सांसदलगायतले फुलमाला र अबिर लगाई पार्टीमा स्वागत गरेका थिए । यसैबीच मङ्गला शिक्षा क्याम्पस बाबियाचौरमा हुन गैरहेको स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फदेखि उम्मेदवार बनेका अनिशा भट्टराई नेतृत्वको विद्यार्थीको परिचय समेत गराइएको थियो ।

नेकपा एमाले इलाका ७ का संयोजक धनबहादुर खातीको अध्यक्षता, जिल्ला कमिटी सदस्य किरण सापकोटाको सञ्चालन र नारायण अधिकारीको स्वागतमा सम्पन्न कार्यक्रममा अभियान संयोजक शङ्कर शेरचनले मन्तव्य राखेका थिए । ‘राष्ट्रिय स्वाधीनता, समृद्धि र स्वाभिमान, संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने मूल नारासहित नेकपा एमालेले शुरु गरेको ४ महिने सङ्गठन सुदृढीकरण तथा जनपरिचालन अभियानअन्तर्गत साविकको इलाका नम्बर ७ को सङ्गठन आयोजक कमिटीको आयोजनामा तेस्रो इलाका अधिवेशन तथा जनसभा आयोजना गरिएको एमाले म्याग्दीले जनाएको छ ।