सन्तोष गौतम
फागुन १८ गते त्रिभुवन विश्व विद्यालय अन्तरगतका क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिने उमेद्वारहरुको अन्तिम नामावली आईतबार सार्वजनिक भएको छ । म्याग्दीको बेनी स्थित म्याग्दी बहुमुखी र बाबियाचौरको मंगला शिक्षा क्याम्पसमा चार वटा संगठनका ५८ जना उमेदवार चुनावी मैदानमा उत्रिने भएका छन् ।

४७७ जना मतदाता रहेको म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्यक्ष निर्वाचीत हुने अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य पदका लागि २९ जना उमेद्वार रहेका निर्वाचित अधिकृत रेखाकौशल रेग्मीले जानकारी दिनुभयो ।नेत्रबिक्रम चन्दको नेतृत्वमा रहेको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको तर्फबाट सचिवमा उमेद्वारी दिएका कमल खत्री र सदस्यमा उमेद्वारी दर्ता गराउनुभएकी बिनीता श्रीसले मनोनयन फिर्ता गर्नुभएको छ ।

नेविसंघले हरिकृष्ण आचार्य, अनेरास्ववियुले सावित्री केसी, अनेरास्ववियु क्रान्तिकारीले सुदिन पौडेल र विप्लप निकट अनेरास्ववियु क्रान्तिकारीले सम्राट सापकोटालाई सभापतिको उमेद्वार दर्ता गराएका छन् । तिन वटा संगठनले प्रत्यक्ष निर्वाचित हुने सबै पदमा उमेदवारी दिएका छन भने विपप्ल निकट क्रान्तिकारीले अध्यक्ष र सचिवमा मात्र उमेदवारी दिएका छन् ।

यसैगरी ५४ जना मतदाता रहेको मंगला शिक्षा क्याम्पसमा नेविसंघ र नयाँ शक्ति विद्यार्थी युनियनको संयुक्त प्यानलबाट रोशन अधिकारी, अनेरास्ववियुबाट अनिषा भट्टराई, अनेरास्ववीयु क्रान्तिकारी (प्रचण्ड)की कुशम पाण्डे र अखिल क्रान्तिकारी (विप्लप)का प्रेमबहादुर बिकले सभापतिमा उमेद्वारी दर्ता गरेका छन् । मंगलमा प्रत्यक्ष निर्वाचित हुने तिन पदाधीकारी र ४ सदस्यका लागि तिन वटा संगठनले सबै तथा विप्लप निकट अखिल क्रान्तिकारीले सभापतिमा मात्र उमेद्वारी दर्ता गरेका छन् ।

समानुपातीतर्फ चयन हुने म्याग्दी क्याम्पसमा ६ र मंगलाका चार जना उमेद्वारहरुको बन्द सूची समेत विद्यार्थी संगठनहरुले बुझाएका छन् । विद्यार्थी संगठनहरु विद्यार्थीको हक अधिकार, क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक सुधार गर्ने लगायतका मुद्दा सहित चुनाव प्रचारप्रसारका लागि घरदैलो, सामाजिक सञ्जाल, फोन, भेटघाटलाई तिब्रता दिएका छन् ।

मिनी संसदीय चुनावको रुपमा हेरीने स्ववीयु निर्वाचनलाई राजनितिक दलहरुले पनि महत्व दिएका छन् ।

यसैबीच म्याग्दी बहुमुखी क्याम्पसका उमेद्वारहरुको सामुहीक परिचय तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । म्याग्दी जेसीज र क्याम्पसको सहकार्यमा सबै उमेद्वारहरुले एकै ठाउँबाट आफ्नो एजेण्डा सार्वजनीक गर्ने र मतदातासंग अन्तरक्रिया गर्ने व्यवस्था मिलाउन लागिएको निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो । मंगलबार बिहान उमेद्वार परिचय तथा अन्तरक्रिया कार्यक्रम तय भएको छ ।