Wednesday, May 14, 2025
26.8 C
Beni
26.8 C
Beni
Wednesday, May 14, 2025
Home Blog Page 802

जंगली च्याउ विष हुन सक्छ ! ०.०२ ग्राम च्याउले नै लिन्छ ज्यान

0

यो साता जंगलबाट ल्याएको विषालु च्याउ खाँदा  ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलमा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् । जंगली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–७ फुलवारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढक कुमारी बिष्ट रहेका छन् ।

आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया बिष्ट, ढक कुमारीसहित एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भएका थिए । त्यसपछि उनीहरुलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा पठाइएको थियो । जंगली च्याउ विषालु पनि हुन्छन् भन्ने धेरैलाई थाह छ ।मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ ।

तै पनि मानिसहरु जंगल जान्छन्, च्याउ टिप्छन पकाएर खान्छन् । ती मध्ये केही पारखी वा भनौं खान हुने च्याउ चिन्नेहरुलाई केही हुँदैन । तर चिन्न नसक्नेहरु मृत्युको मुखमा पुग्छन् ।नेपालमा सय किशिमका च्याउ विषालु छन् । केही च्याउ त यति धेरै विषालु छन् कि शुन्य दशमलव शुन्य २ ग्राम मात्रै पेटमा पर्यो भने मान्छे केही बेरमै मर्छ । जंगलमा पाइने, रुखमा उम्रन, परालमा उम्रने, ढुंगामा उम्रने, गोबरमा उम्रने च्याउहरु पनि विषालु हुन सक्छन् । मानिसहरु आँखा चिम्लेर च्याउ खाइरहेका छन् ।

नेपालमा १२ सय किशिमका च्याउ पाइन्छन् । ती मध्ये १४५ प्रकारका च्याउ खान हुने किशिमका छन् । ७३ वटा च्याउ औषधीय महत्व बोकेका पनि छन् । औषधीय महत्व बोकेका च्याउहरुलाई प्रशोधन गरेर औषधि बनाइन्छ । नेपालमा पाइने धेरै च्याउको वैज्ञानिक परिक्षण पनि भएको छ ।

खेतिको भन्दा जंगलको च्याउन स्वादिष्ट हुन्छ । यहि भएर मानिसहरु जंगली च्याउमा आकर्षित हुन्छन् । वर्षौ अघि काठमाण्डुको असन, इन्द्रचौकमा जंगली च्याउ बिक्रीका लागि राखिन्थ्यो । व्यापारीहरु जंगलबाट च्याउ टिपेर ल्याउँथे । पेरुंगोमा राखेर बजार पुर्याइन्थ्यो । हामीले पनि किनेर खाएकै हो । आजकल व्यवसायिक उत्पादन हुन थाल्यो । त्यस्तो चलन हटिसक्यो ।

अहिले पनि जंगल छेउ बस्ने आदिवासीहरु जंगली च्याउ खान्छन् । उनीहरुले जंगली च्याउमध्ये कुन ठीक हो भन्ने चिन्छन् । केहीले चिन्दैनन् । जंगली च्याउ खान हुने हो वा होइन छुट्टयाउन विशेषज्ञ वा पारखी हुनु पर्छ । किनभने खान मिल्ने र नमिल्ने दूरुस्तै हुन्छ । मान्छे सजिलै झुक्किन सक्छ । केही मानिसहरु काठमा उम्रेको, परालमा उम्रेको च्याउ खान हुन्छ भन्छन् । तर काठ र परालमा उम्रेका च्याउ पनि विषालु हुन सक्छन् । कुनै ठाउँ विशेषमा उम्रेंकै भरमा खान हुने र नहुने छु्ट्टिदैन ।

नेपालमा मानिसहरु च्याउको रङ, चिप्लोपना, उम्रेको स्थान, वास्ना, चाँदीको चम्चाले चलाएर छुट्टयाउने गर्छन् । यी प्रक्रिया परम्परागत हुन् । यीनमा कुनै वैज्ञानिकता छैन् । सामान्यतः १२ वटा परम्परागत प्रयोग गरेर खान हुने नहुने च्याउ छुट्टयाउने गरिएको छ ।

कसरी चिन्ने खान योग्य र अयोग्य च्याउ ?

जंगलमा पाइनेमध्ये कुन च्याउ खान हुने र कुन नहुने ? यसमा खासै द्विविधा छैन । सामान्य हिसाबले पनि खान नहुने र हुने च्याउ पहिचान गर्न सकिन्छ ।

च्याउ अनेक प्रजातिका हुन्छन् । यसमध्येबाट पनि च्याउको प्रकृति, रंग, स्वाद र गुण हेरेर चार भागमा विभाजन गरिएको छ ।

१. खान हुने

२. तीतो

३. विषालु

४. काम नलाग्ने

हेर्दा आकर्षक लाग्ने, रंगीन च्याउ विषालु हुन्छ । हलक्क र रहरलाग्दो देखिन्छ । खान नहुने च्याउ पहिचान गर्ने सामान्य विधि भनेको यी च्याउमा हत्तपत्त किरा लाग्दैन । निचोर्दा सेतो दूध निस्कन्छ ।

खान योग्य च्याउ

गाउँघरतिर वर्षेनी जंगली च्याउ खाने गरिन्छ । आफूले विगतदेखि नै खाइरहेको च्याउ पहिचान गरेर खानु उपयुक्त हुन्छ । नचिनेको वा त्यसअघि नखाइएको च्याउ सेवन गर्नुहुँदैन ।

बुढापाकालाई त जंगली च्याउबारे धेरै ज्ञान पनि हुन्छ । उनीहरूले पहिचान गरेको र खाँदै आएको च्याउ खान सकिन्छ । यद्यपि यस किसिमको च्याउ पनि कुनैबेला विषालु बन्न सक्छ ।

कृतिम च्याउ कति खान योग्य ?

अहिले बजारमा केही थरीका च्याउ पाइन्छ, जुन कृतिम ढंगले उत्पादन गरिएको हो । यस्तो च्याउ खान वर्षायाम कुरिरहनुपर्दैन, जुनसुकै सिजनमा पनि पाइन्छ ।

तर, कृतिम ढंगले उत्पादन गर्ने यी च्याउ कति खान योग्य हुन्छ ? यसबारे भने विचार गर्नुपर्छ । किनभने कृतिम ढंगले उत्पादन गर्ने च्याउलाई उमार्न, बढाउन, किरा लाग्न नदिन र भण्डारण गर्न विभिन्न औषधि एवं रसायनको प्रयोग गरिएको हुनसक्छ । खानेकुरामा प्रयोग गरिने यस्ता हानिकारक तत्वले हाम्रो शरीरलाई सोझै असर पुर्‍याउने भय रहन्छ।

च्याउमा के पाइन्छ ?

च्याउ खानै नहुने कुरा चाहिँ होइन । यो स्वादिलो र पोषक तत्वले भरिपूर्ण हुन्छ । च्याउमा प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि तत्व पाइन्छ । च्याउमा बोसो नगन्य मात्रामा पाइन्छ, यसमा स्टार्च हुँदैन । त्यसैले यो खानयोग्य उत्पादनमै पर्छ ।

च्याउ के हो ?

यो एक प्रकारको वनस्पती हो । फूल नफुल्ने प्रजातिको । यो फन्जाइ वर्गमा पर्छ । च्याउ एक प्रकारको ढुसी हो ।

संसारमा तीन हजार ८ सय बढी प्रजातिको च्याउ पत्ता लागेका छन् । त्यसमध्ये एक हजार विषालु र दुई हजार खानयोग्य मानिन्छ । जबकि २ सय प्रजातिको च्याउ औषधीय गुणले भरिपूर्ण मानिन्छ ।एजेन्सी  

म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा

0

म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ ।

कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिनुभयो । “म्याग्दीबाट वार्षिक दुई हजार ५१९ दशमलव ७६ मेट्रिक टन माटो भू–क्षयका कारण बगेर जाने गरेको छ”, उहाँले भन्नुभयो, “माथिल्लो क्षेत्रमा पहिरो र भूक्षय हुँदा नदीमा बाढीको आयातन बढेर कटान हुने गरेको छ ।”

धवलागिरिको लमसुङ, खोरिया, दर, ताकम, मालिकाको देवीस्थान, बिम, जुकेपानी, छाप, रातोढुङ्गा, रुम, घोर्सी, दिच्याम गोगनपानी, दरवाङ, मङ्गलाको खर्सुपानी, हाँडेभिर, बेनी नगरपालिकाको सिङ्गा तातोपानी, भकिम्ली, पुलाचौर, भसभसे, घतान, पात्लेखेत, रघुगङ्गाको पाखापानी, दग्नाम, राहुघाट, कटुवालटोल, भगवती, रानीपौवा, पिप्ले, अन्नपूर्णको दोवा, घोस्केखोर, शिख तल्लोगाउँ र फगाममा पहिराको जोखिम रहेको कार्यालयले जनाएको छ ।

यसैगरी म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको दरवाङ, दुखुबेँसी, सहश्रधारा, शेरफाँट, हाँडेभिर, पिपलचौतारी, पानावगर, काशेगर, ताराखेत, सिङ्गा तातोपानी, भसभसे, गलेश्वर र भुरुङ तातोपानीमा कटानको जोखिम भएको मिश्रले बताउनुभयो । जोखिमयुक्त ठाउँबाट ४५ स्थानमा पहिरो नियन्त्रण, २५ स्थानबाट खोला किनार सरक्षण र ३२ स्थानबाट गल्छी संरक्षण तथा व्यक्तिगत घर, खेतबारी संरक्षणका लागि ७५ जनाको माग निवेदन आएको छ ।

कालीगण्डकी, राहुघाट र म्याग्दी नदीमा सहायक खोलाबाट आउने बाढीले नदीको धार परिवर्तन गराउनु, सडक निर्माण गर्ने क्रममा भिरालो जमिन कटान गर्दा सडकभन्दा माथिको माटो तल फाल्नु र सोको व्यवस्थापन नगरिनु, सडकले गर्दा परापूर्वकालदेखि बग्दै आएको भलबाढी अनियन्त्रित हुनु र नदीमा बाढीको आयातन बढेर तटीय क्षेत्रमा कटान गर्ने समस्या रहेको मिश्रले बताउनुभयो ।

यसैबीच म्याग्दीमा मनसुनजन्य विपद् प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मनसुनजन्य विपद्को जोखियुक्त स्थान पहिचान, सतर्कता, विपद्को अवस्थामा उद्धार, राहत र व्यवस्थापनका लागि विगतको अभ्यास र सरोकारवालाको सुझावका आधारमा प्रतिकार्य योजना बनाएर कार्यान्वयन थालिएको बताउनुभयो ।

उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने र जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीको तटीय क्षेत्रमा बाढीको पूर्वसूचनाका लागि सम्पर्क व्यक्ति खटाउने प्रक्रिया थालेका छन् ।

दुर्गम मुदीको खाम्लामा सडक पुग्यो

0

म्याग्दीको दुर्गम धबलागिरि गाउँपालिका ४ मुदीको खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका ७ खारादेखि खाम्लासम्म १० किलोमिटर सडकको ट्रयाक खोलेसँगै दुर्गम गाउँमा सडक पुगेको हो ।

मुदीमा निर्माण हुने ५३ मेगावाट क्षमताको अपरम्याग्दी एक, ३७ मेगावाटको अपरम्याग्दी र ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावर लिमिटेडले संयुक्त रुपमा खारादेखि खाम्ला हुँदै मुदीको नुनथलासम्म सडक निर्माण गरेको छ । सडक निर्माण भएसँगै दुर्गम वस्ती नाउरा र खाम्लाबासीले सडक सुविधाको उपयोग गर्न पाएका छन् ।

जलविद्युत कम्पनीहरुले सडक निर्माण गरेपछि दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगराका स्थानीयवासीहरु लाभान्वित भएको धबलागिरि गाउँपालिकाका पूर्वपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । यस क्षेत्रमा निर्माण हुन लागेका जलविद्युत आयोजनालाई आफ्नो कार्यकालमा काम गर्ने वातावरण तयार पारिदिएका कारण दुर्गम भेगमा सडक विस्तार भएको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार खाम्लामा पुगेको सडक नाउरा हुँदै दुर्गम बगरादेखि धौलागिरि बेसक्याम्प जाने जेल्टुङ हुँदै दोभानसम्म पुग्नेछ । नाउरादेखि माथिको सडक अपरम्याग्दी र म्याग्दी हाइड्रोपावरले निर्माण गर्ने जलविद्युत कम्पनीले जनाएको छ । मुदीको जेल्टुङमा अपरम्याग्दी ५३ मेगावाट र दोभान भन्ने स्थानमा म्याग्दी हाइड्रोपावरले ५७ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएका छन् ।

कडा चट्टाने भिर फुटाएर सडक निर्माण गर्नुपर्ने भएकाले अझै दुई तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । सो स्थानमा निर्माण हुने जलविद्युत कम्पनीका कारण जिल्लाको दुर्गम भेगमा रहेका वस्तीमा सडक सुविधाको पहुँच विस्तार भएको मुदीका वडाध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो ।

खाम्लामा पुगेको सडकलाई खिबाङसम्म लग्न पालिका र प्रदेश सरकार गरी एक करोड ३३ लाख रुपियाँले सडक खन्ने काम भएको उहाँले बताउनुभयो । कडा खालको भिर भएकाले खिबाङसम्म सडक लग्न थप बजेट लाग्ने वडाध्यक्ष घर्तीले बताउनुभयो । Gorkhapatra

आँखा परीक्षणबाट १६६ विद्यार्थी लाभान्वित

0

बेनी नगरपालिका–८, स्थित बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरेको छ ।
नेपाल नेत्रज्योती संघ म्याग्दीको आयोजनामा मंगलबार सम्पन्न भएको शिविरमा १ सय ६६ जना लाभान्वित भएका छन् । शिविरको उद्घाटन गदैं वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले विद्यार्थीलाई नियमित स्वास्थ्य परीक्षण आवश्यकता रहेको बताउनुभयो ।

सोही अवसरमा वडा सदस्य हिरा पुन, चितकुमारी खड्का, विब्यस अध्यक्ष मनबहादुर चर्मकारले मन्तब्य राख्नुभएको थियो। शिविरमा परीक्षण गरिएको मध्ये ८ जनालाई थप उपचारका लागि केन्द्रमा रिफर गरिएको संघका सचिव राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आँखा जाँच कार्यक्रममा अधिकांस विद्यार्थीको आँखामा सामान्य भएपनि केही समस्या देखिएकालाई समेत निशुल्क सेवा दिने संघले जनाएको छ । सो अवसरमा आँखामा समस्या देखिएका विद्यार्थीलाई निःशुल्क औषधि प्रदान गरिएको थियो । शिविरको अध्यक्षता संघका अध्यक्ष तथा स्वागत अमर बानियाँ र समापन कोषाध्यक्ष बसुधा श्रेष्ठले गर्नुभएको थियो । संघले म्याग्दीमा विभिन्न सघसंस्थाको सहयोगमा दुर्गम क्षेत्रमा समेत शिविर सञ्चालन गर्ने गरेको छ ।

 

वनको शौचालयमै किशोरी बलात्कृत, जोमसोमबाट राजन पक्राउ

0

जिल्ला प्रहरी कार्यालय मुस्ताङले एक किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ चैलेका २९ वर्षीय राजन विक रहेका छन् ।

प्रहरीका अनुसार विकले १६ वर्षकी एक किशोरीलाई जबरजस्ती करणी गरेका थिए । विकले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि शनिबार साँझ जबरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ घरपझोङ गाउँपालिका–४ जोमसोमबाट विकलाई पक्राउ गरेको हो । विकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरु काटेको अभियोगमा पक्राउ परेका धरौटीमा रिहा

0

गोरु काट्दै गरेको अवस्थामा पक्राउ परेका ९ जना धरौटीमा छुटेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा पक्राउ परेका सोमबार जिल्ला अदालतको आदेशमा धरौटी बुझाएर छुटेका हुन् ।

जिल्ला अदालतले गोरु काट्ने क्रममा संलग्न पुरुषलाई जनही १ लाख २० हजार र महिलालाई ४५ हजार धरौटी माग गरिएको थियो । पक्राउ परेकालाई बिना सर्त रिहाईको माग गदैं मंगोल नेशनल अर्गनाइजेशनले आन्दोलन समेत गरेको थियो ।

आन्दोलनकर्ताले मंगोल मौलिक, धर्म, संस्कार र संस्कृतिमा गोरूले कुल पुज्ने परम्परा रहेकाले मौलिकतामा प्रहार गदै पुर्खा देखि चलि आएको संस्कारमा हस्तक्षेप गरिएको गुनाासो गरेका थिए ।

म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रमा समेत गौबध हुने गरेको छ । छाडा पशुचौपाया, दुध दिन छोडेपछि गाईलाई समेत बध गर्नेहरु खोजीखोजी दिने क्रममा केहीदिन अगाडी प्रहरीले नै एउटा गाईको अलपत्र परेको अवस्थामा उद्धार गरेको थियो ।

 

खारा-खाम्ला सडकको मार्ग खुल्यो

0

जिल्लाको मालिका गाउँपालिका-७ खाराबाट धवलागिरि गाउँपालिका-४ खाम्ला जोड्ने सडकको मार्ग खुलेको छ ।धवलागिरि गाउँपालिका, म्याग्दीखोलामा निर्माण हुन लागेका जलविद्युत् आयोजना, प्रदेश र सङ्घीय सरकारले पछिल्लो पाँच वर्षयता १० किलोमिटर दूरीको यो सडकको विभिन्न ठाउँमा मार्ग खोलेका छन् ।

म्याग्दी नदीमा ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३ मेगावाट क्षमताको अपर म्याग्दी–१ र ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावर जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । जलविद्युत् आयोजना निर्माणस्थलमा ढुवानी र आवतजावतका लागि निर्माण भएको सडकबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ ।

धवलागिरि गाउँपालिका–खिवाङका किसान पुनले खारा–खाम्ला सडक निर्माण भएपछि भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने खाम्ला, खिवाङ, चेचुङ, नाउरा, बगरका बासिन्दाका साथै धवलागिरि हिमाल आरोहण गर्न आउने पर्वतारोहीलाई पनि सुविधा पुगेको बताए ।

यसअघि खिवाङबाट खारा हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न तीनदेखि चार घण्टा लाग्ने गरेकामा यात्रा अवधि एक घण्टामा छोटिएको छ । शिवरात्रि, बाँसबोट, खारालगायतका स्थानमा अक्करे भिरको चट्टान फुटाएर सडक बनाइएको छ । आवतजावत, ढुवानी, जडीबुटी र स्थानीय कृषि तथा पशुजन्य उत्पादन निकासीमा सहज भएको स्थानीयवासीले बताएका छन् ।

धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले वर्षौँअघि निर्माणको अनुमति लिएर बसेका जलविद्युत् आयोजनालाई गति दिन पहल र सहजीकरण गरिएको बताए । खाम्लामा पुगेको सडकलाई खिबाङ पुर्याउन पालिका र प्रदेश सरकारको रु एक करोड ३३ लाख बजेटमा मार्ग खोल्ने काम भइरहेको पनि उनले बताए ।

गाउँपालिकाको केन्द्र मुनाबाट मुदी पुगेको सडकलाई विस्तार खिवाङ र मुदीको सिमानामा लगिएको छ । अपर म्याग्दी–१ को बाँध निर्माणस्थल नजिक पुगेको सडकलाई अपर म्याग्दी र म्याग्दीखोला जलविद्युत् आयोजनाले विस्तार गरेर नाउरा–बगर हुँदै धवलागिरि आधार शिविर नजिकको दोभानमा पु¥याउन लागेका छन् ।

भोकभोकै विद्यालय जान वाध्य बेसहारा बालबालिकालाई सहयोग जुट्दै

0

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत भोकभोकै विद्यालय जान बाध्य आमाबाबु विहीन ३ जना विद्यार्थीलाई खाद्यान्न लगाएत स्टेशनरी र विद्यालय पोसाकका लागि अल्पकालीन सहयोग जुटेको छ ।

अरुले दिए मात्र खान पाउने नभए विद्यालयले दिने दिवा खाजाको भरमा दिन विताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमा विहीन ११ वर्षिया अञ्जु परियार, साथीहरुको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को बिबाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्थाका बारेमा आइतबार बेनी अनलाइन लगाएत विभिन्न संचारमाध्यममा ‘भोकभोकै विद्यालय जान्छन् आमाबाबु विहीन बालबालिका’ शीर्षकको समाचार विभिन्न संचारमाध्यममा प्रकाशित भएपछि ती बालबालिकाहरुलाई सोमबार तीनजना मनकारी व्यक्तिहरुले आर्थिक सहयोग गरेर खाद्यान्न लगाएतका आवश्यक सामाग्री जुटेको हो ।

दुई वर्ष अघि ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको वर्षका १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले रु २१ हजार ५ सय बराबरको खाद्यान्न ती तिनजना बालबालिकाहरुलाई उपलव्ध गराएकी हुन् । बेवारिसे लासको ब्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहनुभएकी रोका मगरले आवश्यक स्टेशनरी र विद्यालय पोशाक लगाएतका अन्य आवश्यकीय सामाग्रीका लागि थप रकम उपलव्ध गराउने बताएकी छन् ।

त्यसैगरी सिराहा नगरपालिका सिराहा घर भै हाल कतारमा कार्यरत डा.एम.आलमले रु २० हजार सहयोग गर्नुभएको छ भने काठमाण्डौंबाट नानीकिरण सुनुवारले रु ११ हजार सहयोग गरेका छन् ।

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसंग बिबाह गरी मञ्जुलाई छोडेर गएपछि मञ्जुको विचल्ली भएको थियो ।

उनलाई एक महिनाका लागि स्थानीय बुद्धबीर चर्मकारले घरमा राख्ने र सहयोग दाताले दिएको खाद्यान्न पकाएर खुवाउने भएका छन् ।त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ वाइन्दाफाँटका पुजन फगामी र सृष्टि विकलाई पनि खाद्यान्न,स्टेशनरी लगाएतका सामाग्री प्रदान गरिएको छ ।

पुजनका बुबा रिम फगामीको २०७८ साल कार्तिकमा मृत्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसंग विहे गरेकी र पुजन अहिले साथीहरुको घरमा आश्रय लिइरहेका विद्यालयकी शिक्षिका घनदेवी घर्तीले जानकारी दिनुभयो । पुजनलाई खाद्यान्न जुटेपनि वस्नको लागि भने अझै टुंगो लाग्न सकेको छैन ।

त्यस्तै बुबा र आमा दुवैले अर्को बिबाह गरेपछि आमा बुबा हुँदाहँुदै पनि असहाय बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकलाई हजुरआमाले पाल्ने र खाद्यान्न विद्यालयले सहयोग जुटाएर उपलव्ध गराउने भएको छ । मंगला गाउँपालिकाको पूर्ण गाउँका बुबा सुनिल विक र आमा सविता बिकले अर्को बिबाह गरेर अलग अलग भएपछि छोरी सृष्टिको विचल्ली भएको हो।

विद्यालयमा अध्ययनरत करिब ७७ जना विद्यार्थीहरु मध्ये १४ जना विद्यार्थीहरुको अवस्था अञ्जु,पुजन र सृष्टिको भन्दा कम नभएको विद्यालयका प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले बताए ।

बुबाको मृत्यु भएका,आमाले अर्कैसंग बिबाह गरी गएका साथै आमा र बुबा दुबैको माया नपाएका विद्यार्थीहरुलाई देख्दा आँखाबाट आँशु आउने शिक्षिका घनदेवी घर्तीले बताइन् । अरु मनकारी व्यक्तिहरुले पनि उनीहरुको पढाइलेखाईको खर्च व्यहोरी दिए ती असहाय बालबालिकाहरुलाई ठूलो सहयोग हुने उनले बताइन् ।यस अघि कतै आश्रय नपाउँदा मञ्जुले विद्यालयको वरण्डामा नै सुतेर रात विताउने गरेको मञ्जु स्वयंले बताइन् ।

कक्षा ७ सम्म पढाइहुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । अधिकाँश अभिभावकहरु दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीहरुको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिदा शिक्षक शिक्षिकाहरु थप समस्यामा परेका हुन् ।

आर्थिक सहयोग जुट्न सक्यो भने विद्यालयमा छात्रवास बनाएर असहाय र अतिविपन्न परिवारका बालबालिकाहरुलाई आश्रय दिने विद्यालयको योजना रहेको छ । त्यसका लागि विद्यालयले मनकारी व्यक्तिहरुसंग सहयोगको आग्रह समेत गरेको छ ।
‘सधैंभरी शिक्षक शिक्षिकालाई मात्र समस्यामा पार्ने होइन,अब समुदायले पनि केही जिम्मेवारी लिनुपर्छ,अहिले तत्कालै दुईकोठे भवन बनाएर भए पनि उनीहरुलाई छात्रवासमा राख्ने प्रवन्ध गर्नुपर्छ’ बगरफाँट स्थायी घर भै हाल काठमाण्डौं बस्ने वरिष्ठ कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्कीले भने ।

रघुगङ्गामा सफ्टवेयरबाट रसिद

0

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाहमा सुधारको प्रयास गरेको छ ।सफ्टवेयरबाट राजस्वको बिल काट्ने, अभिलेखलाई सर्भर बनाएर भण्डारण गर्ने, विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा उपस्थित भएर औँठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवा दिने गरेको हो ।

सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरलीकृत र पारदर्शी बनाउने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।“गाउँपालिका र वडा कार्यालयले सेवा शुल्कको रसिद सफ्टवेयरबाट काट्ने गरिएको छ”, उनले भने, “वडा कार्यालयले हरेक १०÷१० दिन र गाउँपालिकामा सङ्कलित राजस्व भोलिपल्ट बैंकमा दाखिला गरेर रसिद सफ्टवेयरमा अपलोड गर्छन् । तोकिएका समयमा राजस्व जम्मा नगरेसम्म रसिद काट्न सफ्टवेयरले नै दिदैन ।”

गत आर्थिक वर्षमा रु छ लाख ७१ हजार ५०० सङ्कलन भएको सिफारिस दस्तुरबाट चालू आर्थिक वर्षमा रु १६ लाख आम्दानी हुने अनुमान गरिएकामा जेठ २० गतेसम्म रु ३१ लाख ८६ हजार ८५४ सङ्कलन भएको लेखा अधिकृत खगराज सुवेदीले बताए । रघुगङ्गाले बनाएको सर्भरमा सार्वजनिक गर्न मिल्ने कार्यपालिका, गाउँसभाका निर्णय र भुक्तानीको बिलकोसमेत भण्डारण गर्ने काम सकिएपछि आम नागरिकको पहुँच हुनेछ । औँठाछाप आवश्यक नपर्नेबाहेकको सिफारिसका लागि इमेलमा निवेदन पठाउने र सेवाग्राहीलाई इमेलबाटै सिफारिस उपलब्ध गराउन थालेको छ ।

सिफारिस, उपभोक्ता समितिलगायत विभिन्न काम लिएर आउने सेवाग्राहीले गाउँपालिकामा दिनुपर्ने निवेदनको नमूना विकास गरिएको छ । आफ्नै भवनबाट सञ्चालन भएको रघुगङ्गामा सेवाग्राहीले भर्ने सन्तुष्टि फाराममा दिने सुझाव विश्लेषण गर्ने संयन्त्र बनाइएको छ ।

कार्यालयको सुरक्षा र निगरानीका लागि सिसीटिभी जडान, म्यानुअलका अतिरिक्त विद्युतीय हाजिरी मेसिन प्रयोगमा ल्याएका छन् । आठवटै वडा कार्यालयमा पूर्वाधार, कृषि र पशु सेवाका प्राविधिक वडा कार्यालयमै बसेर सेवा दिन थालेका छन् ।

वडा सचिव नहुँदा ४, ६ र ७ नम्बर वडामा स्वास्थ्यकर्मीले पञ्जाधिकारीका रुपमा काम गरेका छन् । कर्मचारीको सेवासुविधाको विषय समेटेर कार्यक्रम सञ्चालन निर्देशिका बनाएको रघुगङ्गाले बेरुजु असुल उपर गर्न घरदैलो अभियान चलाउने तयारी गरेको छ ।

असुल गर्नुपर्ने बेरुजु भएकाको घरमै गएर भेट्ने र फछ्र्योट गर्नेलाई सम्बन्धित ठाउँमै प्रमाणपत्र दिने गरी कार्यक्रम बनाएको प्रशासकीय अधिकृत सुवेदीले बताए । कूल रु ९३ लाख ७१ हजार २४५ बेरुजु रहेको छ । रु २६ लाख १३ हजार ८७२ असुल गर्नुपर्ने, रु ६० लाख १९ हजार ८८३ प्रमाण पेश गर्ने र रु सात लाख ३७ हजार ४९० पेस्की बेरुजु छ ।

उपभोक्ता समितिमार्फत भएका केही योजनामा तोकिएको दररेटभन्दा कम दरमा काम हुँदा पनि बेरुजु औल्याइएको छ । चालू आर्थिक वर्ष २०७८÷७९ मा १६० वटा योजनामध्ये १४० सम्झौता र ८७ वटा सम्पन्न तथा २० वटा सम्झौता हुन बाँकी छन् । रासस

बाँझो जग्गा उपयोगमा ल्याउन गर्न घरेलु उद्योग महासंघको माग

0

नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ। सोमबार महासंघ म्याग्दीका अध्यक्ष अमर बानियाँले नगर क्षेत्र भित्रका खेतीयोग्य जमिन अझै बाँझो रहेका जग्गाको पहिचान गरी बेरोजगार युवा परिचालन गरेर कृषिजन्य बस्तु उत्पादन गर्ने व्यवस्था मिलाउन माग गरेका हुन् ।

महासंघको टोलीले बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपमेयर ज्योति लामिछानेलाई ज्ञापन पत्र बुझाउँदैखेर गैरहेको जग्गामा त्यहाँको सम्भाव्यता अनुसारका बस्तु उत्पादन गरि युवलाई उद्यममा लाग्न प्रोत्साहन गर्ने खालका कार्यक्रम संचालन गर्न अनुरोध गरेको थियो।

छ बुँदे सुझाव सहितको ज्ञापन पत्रमा उद्योगहरुको पहिचान गरि अभिलेख तयार गर्ने, उद्यमीहरुलाई वित्तीय अवस्थाका आधारमा प्रोत्साहन स्वरुप कर्जा प्रदान गर्ने, उत्पादित बस्तु बिक्रिमा अनुदानको व्यवस्था गर्ने, युवा लक्षित उद्यमशिलताको विकास गर्ने बिषय उठाईएको छ ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख केसीले नगरभित्रका साना उद्योग तथा उद्यमीहरुको संरक्षण गर्नु नगरपालिकाको दायित्व भएको बताए । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य सृजना श्रेष्ठ, जिल्ला उपाध्यक्ष लोकनाथ रेग्मी, सचिव हरि कार्की, परियार सेवा समाज र म्याग्दी टेलरिङ संघ लगायतको उपस्थिति रहेको थियो ।