बेनी नगरपालिकाले सदरमुकामको बजार व्यवस्थित बनाउने

म्याग्दीको बेनी नगरपालिकाले जिल्ला सदरमुकाम बेनीबजारमा बजार व्यवस्थापन गर्ने भएको छ । बेनीबजारको विभिन्न स्थानमा अव्यवस्थित रुपमा विद्युतका पोलहरुमा टाँगिएका तार हटाउने तथा सडक पेटी र ठेलागाडाको व्यापारलाई व्यवस्थापना गर्ने तयारी गरिएको हो ।

यसैक्रममा आज (बुधवार) बेनी नगरपालिका–७ र ८ नम्बर वडा कार्यालयको आयोजनामा बेनीका सरोकारवालाहरुसँग अन्तत्र्रिmया र छलफल गरिएको छ । बेनीबजार भित्रका टोल विकास समितिका पदाधिकारी, उद्योगी, व्यापारी र सरोकारवालाहरुसँग बेनीबजारको व्यवस्थापन गरेर बेनीलाई सुन्दर, हराभराको साथै पर्यटकको आगमन बढाउने विषयमा छलफल तथा अन्तत्र्रिmया गरिएको वडा कार्यालयले जनाएका छन् ।

बेनीबजारलाई व्यवस्थित बनाउन आयोजित अन्तत्र्रिmया तथा छलफल कार्यक्रममा सडक, पेटीमा अतिक्रमण गरेर राखिएका सामान, पाली र छाना हटाउनका लागि पर्सि ३ गते जनप्रतिनिधि, प्राविधिक तथा टोल विकास समितिसहितको टोलीबाट मार्किङ गरेर एरिया (क्षेत्र) छुट्याइने भएको छ । यसैगरी ५ गते सम्बन्धित व्यक्ति, संस्था वा पसलेलाई अतिक्रमित क्षेत्र आफै हटाउन १५ दिनको समय दिएर अपिलमार्फत अनुरोध गर्ने निर्णय भएको बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

त्यस्तै बजार क्षेत्रमा अव्यवस्थित रुपमा टाँगिएका तारको व्यवस्थापन गर्नको लागि सम्बन्धित सेवा प्रदायक संस्थाहरुसँग ५ गते बेनी नगरपालिकाको कार्यालयमा वैठक बस्ने निर्णय भएको छ । यदि १५ दिनको समयभित्र पनि सम्बन्धित पक्षले अतिक्रमित क्षेत्र हटाउन र सडक, पेटीमा राखेको सामान नहटाएको खण्डमा बेनी नगरपालिकाले आउँदो १८ गतेदेखि अभियानको रुपमा आफै हटाउने जनाएको छ । बेनीबजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका पेटी जेसिभी मेसिनमार्फत भत्काउने, छाना तथा पाली वल्डिङ गर्ने मिस्त्रीको सहयोगमा निकाल्ने, ढुङ्गा, काठ, गिट्टी, बालुवाको सम्मिश्रणबाट बनेका संरचना मिस्त्री खटाएर अव्यवस्थित संरचनाहरु हटाउने कार्य सञ्चालन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्थायी संरचनालाई हित हुने गरी निर्णय गरिएको हुँदा बेनीबजार क्षेत्रलाई व्यवस्थित बनाइने बताउनुभयो । उहाँले बजार क्षेत्रमा टाँगिएका अव्यवस्थित तारले बजारलाई कुरुप बनाएको, सडक–पेटी र ठेलाको व्यापारले अनावश्यक भीडभाड भएर दुर्घटनाको जोखिम समेत बढेको बताउँदै तारको उचित व्यवस्थापन तथा व्यापार, व्यवसायमा सहजीकरण गरिने बताउनुभयो । म्याग्दी भ्रमण गर्न आउने पर्यटकहरुको बेनीमा बसाई लम्व्याउनको लागि बेनीको हस्पिटलचोकदेखि महारानीथान र मङ्गलाघाटदेखि कालीपुल बसपार्क क्षेत्रसम्म पदमार्ग निर्माण गरिने तथा अन्य संरचनाहरु बनाइने उहाँको भनाइ छ ।

कार्यक्रमका सहभागीहरुले बेनीबजारलाई व्यवस्थित बनाएर व्यापार–व्यवसाय बढाउने कार्यमा आवश्यक सहयोग उपलब्ध गराउने बताउँदै यस कार्यमा नगरपालिकाले तदारुकताका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, बेनपा–८, बेनीका वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम बेनी नगरपालिकाका प्रवक्ता श्रेष्ठको अध्यक्षता र बेनपा–८, बेनीका वडा सदस्य यामबहादुर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । बेनी नगरपालिकाले यसअघि घरबाटै कुहिने र नकुहिने फोहोरलाई छुट्याएर व्यवस्थापन गरेको कार्य अहिले प्रभावकारी बन्दै गैरहेको छ ।