म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा शनिबार हुने भएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका म्याग्देली सहित प्राकृतिक विपत्तमा परेकालाई राहत संकलनमा अग्रणी भूमिका निर्वाह गरिरहेको कोषले स्वास्थ्यका क्षेत्रमा काम गरेर अवकाश प्राप्त दुई स्वास्थ्यकर्मी सहित संस्थागत गतिविधिमा सक्रिय रहेकालाई सम्मानको कार्यक्रम समेत रहेको सचिव लोकेश पुन मगरले बताए ।

बेनी नगरपालिका–१४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा बरदान सावित भएको छ । कोष मार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ ।

१ करोड ५० लाखको अक्षय कोषको स्थापना गरी विपन्नको उपचारलाई थप प्रभावकारी बनाउने अभियान समेत सञ्चालन गरिरहेको कोषमा आजिवन सदस्य ४ सय १५ जना र संरक्षक १५ जना रहेको छ । कोषको संरक्षक बन्न ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेको संख्या समेत थपिदै गइरहेको छ । कोषमार्फत सामाजिक तथा परोपकारी क्षेत्रका काम गरेवापत जिल्ला भित्रका साथै गोरखा जिल्लामा समेत सम्मानित भएको छ । हालसम्म कोषले ३३ जना विरामीको उपचार सफल भएको छ ।