आमाशयको क्यान्सरबाट कसरी बच्ने ?

0
269

खानानली र सानो आन्द्राको बीचको भागलाई आमाशय भनिन्छ। आमाशय भनेको खाएको खाना निलेपछि जम्मा हुने एउटा थैलो हो। यसले सानो आन्द्राको भाग र खाना नलीको भागको बीचमा जोड्ने काम गर्छ। त्यसमा धेरैजसो खानालाई एसिडसँग मिलाउने, प्रोटिन पचाउने तत्व (पेप्सीन)सँग मिलाउने काम हुन्छ। खाना पचाउने प्रक्रिया त्यहाँबाटै सुरु हुन्छ । केही तत्वहरु आमाशयबाट पनि शरीरले लिने गर्दछ।

आमाशयको क्यान्सर कसरी हुन्छ?
सामान्यतया पेटको क्यान्सर भन्नाले आमाशयको क्यान्सर बुझिन्छ। पेटमा आमाशय र ठूलो आन्द्राको क्यान्सर बढी मात्रामा हुने गर्दछ। ठुलो आन्द्रा र आमाशयमा हुने क्यान्सरको केही लक्षण एउटै प्रकृतिका हुन्छन्। सानो आन्द्रा, पेनक्रियाज, पित्तथैली, कलेजो लगायतका अङ्गहरुमा पनि क्यान्सर हुन्छ तर यसको सम्भावना कम छ। यो लेखमा आमाशयमा हुने क्यान्सरबारे चर्चा गरिएको छ।

आमाशयमा क्यान्सर हुने विभिन्न कारणहरु छन्। हामीले यसलाई दुई तरिकाबाट हेर्न सक्छौं। एउटा डिस्टल क्यान्सर अर्थात् सानो आन्द्रातिरको भाग र अर्काे खानानली र आमाशय जोडिने ठाँउमा क्यान्सरको सम्भावना बढी हुन्छ ।
यी दुई खालको क्यान्सरको विभिन्न कारणहरु छन्। मुख्यतः धेरै मात्रामा प्रिजब्ड फुड, बढी नुनिलो खाना, धुम्रपान र मद्यपान गर्ने व्यक्तिहरु तथा एक प्रकारको किटाणु (हेलीकोव्यक्टर पाइलोरी)को कारणले हुन्छ। यो किटाणुले गर्दाखेरी आमाशयको पत्रमा परिवर्तन ल्याउछ। जसले गर्दा क्यान्सर हुन्छ। यसले आमाशयको अल्सर पनि गराउँछ।

यसका लक्षणहरु
१.खानामा रुची नहुने
२.माथिल्लो पेट दुख्ने
३.दिशामा कालो रगत जाने
४.कहिलेकाही रगत तथा खाना बान्ता हुने ।
५.तौल घट्दै जाने
६.पेट फुल्ने
७.खाना खाएपछि पेट डम्म हुने
८. खाना तल नगएको जस्तो अनुभव हुने र केही समयमा बान्ता हुने

यस्ता लक्षण देखिनासाथ विभिन्न खालको परीक्षण गराउनुपर्दछ। आवश्यक परेमा इन्डोस्कोपी पनि गर्नुपर्छ। मुखबाट पाइप राखेर भिडियोको माध्यमबाट पेटमा हेर्ने प्रविधिलाई इन्डोस्कोपी भनिन्छ। मुख्यतः यस्ता प्रकारका रोग पत्ता लगाउने माध्यम यही हो। यसबाट आमाशयमा मासु बढेको छ की छैन भनेर देख्न सकिन्छ। सानो मासुको टुक्रा निकालेर परिक्षण गरिन्छ। यसलाई बायोस्पी (मासुको जाँच) गर्ने भनिन्छ। बायोस्पी गरेपछि क्यान्सर भए नभएको थाहा हुन्छ।

उपचार विधि 
उपचारको क्रममा विभिन्न खालका परीक्षण गर्नुपर्छ। रोग आमाशयमा मात्रै सीमित छ कि शरीरको अरु भागमा फैलिसकेको छ भन्ने पत्ता लगाउनु निकै जरुरी हुन्छ। यसका लागि पेट, छातीको भिडीयो एक्सरे, सिटी स्क्यानलगायतका परीक्षण गर्नुपर्छ। अपरेशन गरेर फाल्ने अवस्थामा छ कि छैन परीक्षण गरेर थाहा हुन्छ। अपरेशन गरेर फाल्न मिल्ने रहेछ भने क्यान्सर लागेको भागलाई शल्यक्रिया मार्फत फाल्नु पर्दछ। यो उपचार गर्दा आमाशयको धेरैजसो भाग फाल्नुपर्छ र सानो आन्द्रा ल्याएर नयाँ आमाशयको भाग बनाइन्छ साथै खानानलीलाई निरन्तरता दिइन्छ। क्यान्सर भएको भागसहित वरपरका असामान्य तन्तुहरु फाल्ने गरिन्छ। बिरामीको रोगको स्टेज हेरी किमोथेरापी दिने, रेडियोथेरापी दिने निर्णय गरिन्छ। यो काम सर्जन र क्यान्सर रोग विशेषज्ञ (मेडिकल अन्कोेलोजिष्ट)को सहकार्यमा गरिन्छ ।

रोगको सफल उपचार पश्चात केही बर्ष बिरामीलाई नजिकबाट निगरानी गर्नुपर्छ। यसको लागि विभिन्न समयमा विभिन्न खाले परीक्षण गर्नुपर्छ । जस्तै, छातीको एक्सरे, पेटको भिडियो एक्सरे, ट्यूमर मार्कस, सिटी स्क्यान , इण्डोस्कोपी इत्यादि।

यो रोग निको हुन्छ। तर निको हुनका लागि रोगको अवस्था सुरुवाती चरणकै हुनपर्छ। यसलाई विभिन्न स्टेजको रोगमा बाँड्ने गरिएको छ। जसमा शल्यक्रियाद्वारा निकालिएको आमाशय र ट्युमरको जाँच गरिन्छ।

ट्युमर आमाशयबाट बाहिर निस्केर ग्रन्थीमा गएको छ कि छैन भन्ने कुरा हेरिन्छ। शरीरको अन्य ग्रन्थीमा पुगेको छ कि छैन भन्ने पनि पत्ता लगाउनुपर्छ। छाती, कलेजो, मतिष्क, हाडमा पुगेको छ कि छैन हेर्नुपर्छ । यी ठाउँमा फैलिएको छैन भने रोग निको हुन्छ। पहिलो चरणको क्यान्सरको सफल अपरेशन र किमोथेरापी गरेपछि रोग फर्केर आउने सम्भावना कम हुन्छ ।
तर, स्टेज बढी छ भने रोग फर्केर आउने सम्भावना बढी हुन्छ। यो अवस्थामा हाम्रो उद्देश्य भनेको विरामीको बाँच्ने सम्भावना बढी बनाउने भन्ने नै हो। रोग निको पार्न नसके पनि बाँच्ने आयु भने बढाउन सकिन्छ।

कसरी रोक्ने 
सतप्रतिशत रोक्न त सायदै सम्भव नहोला। किनकी यो रोगमा वातावरण, बंशाणु, बिषाक्त खानपानले असर पारिरहेको हुन्छ। खानपिनको सुधार गरेमा यसको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ। पेटमा समस्या देखिएमा चाँडोभन्दा चाडोे परीक्षण गर्ने, हेलिकोव्यक्टर पाइलोरी नामक किटाणु देखिएमा यसलाई औषधीले निर्मुल गर्ने गरेमा आमाशयको क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।

( डा. सञ्जय पौड्याल पेट रोग शल्य चिकित्सक हुनुहुन्छ।)