शिशुको अधिक  हेरविचार एकदमै आवश्यक छ। शिशुको विशेष हेरचाह जन्मिएपछि साढे दुई वर्षको उमेरसम्म गर्नुपर्छ। शिशु हेरचाहको सुरुवात उसको आहारसँगै हुन्छ। यसको सही ज्ञान शिशुकी आमालाई हुनु आवश्यक छ।

शिशुको जन्म हुनासाथ न्यानो, सफा तथा नरम कपडाले पुछेर आमाको छातीमा -दुई स्तनको बीचमा) केही समय टाँसेर राखिदिनुपर्छ। यसो गर्नाले शिशुलाई न्यानो हुनुका साथै आमा र शिशुबीच आत्मीयता बढ्छ साथै यसले स्तनपान गर्न मद्दत पुर्‍याउँछ।

शिशुलाई सकेसम्म जतिसक्दो छिटो -जन्मिएको एक घन्टाभित्र) स्तनपान गराउनु वेश हुन्छ। शिशुलाई आमाको दूधबाहेक केही ख्वाउनुहुँदैन।  त्यसपछि २४ घन्टाभित्र ८ देखि १० पटक -रातिमा २ पटक अनिवार्य) स्तनपान गराउनुुपर्छ। स्तनपान गराउँदा शिशुको आसन र स्तन सम्पर्क सही हुनुपर्छ। आमाले जुन आसनमा बसेर ख्वाउँदा सजिलो महसुस हुन्छ त्यही आसनमा दूध ख्वाउनुपर्छ। कम्तीमा पनि १५ देखि २० मिनेटसम्म एउटै स्तनबाट स्तनपान गराउनुपर्छ। यदि शिशु एउटै स्तनको दूधबाट सन्तुष्ट भए अर्को स्तन चुसाइरहनु आवश्यक छैन तर सन्तुष्ट नभए दुवै स्तन चुसाउनुपर्छ।

स्तनपान गराइसकेपछि शिशुलाई आमाको छातीमा राखेर पिठ्युँ मुसारिदिनुपर्छ। यसो गर्दा शिशुले डकारेर पेटभित्रको हावा बाहिर निकाल्छ। त्यसपछि शिशुलाई सुताइदिनुपर्छ। धेरैजसो आमा मेरो दूध आउँदैन अथवा पर्याप्त छैन भनेर चिन्ता लिन्छन्। स्तनपान गरेपछि डेढदेखि २ घन्टा आरामले सुत्छ, उसको तौल साधारण रूपमा बढिरहेको छ, दिनमा ६ देखि ८ पटक पिसाब गर्छ भने शिशुलाई आमाको दूध पर्याप्त रूपमा पुगेको मानिन्छ।

शिशुलाई जति बढी दूध चुसायो उति नै बढी दूध बन्छ। शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र ख्वाउनुपर्छ। यो उमेरसम्म शिशुलाई अतिरिक्त पानी पनि दिनु पर्दैन। शिशुलाई जति बढी तिर्खा लाग्यो उति नै बढी दूध चुस्छ। स्तनपान गराउँदा दूधको मुन्टोमात्र नचुसाई मुन्टो वरिपरिको कालो भागसमेत चुसाउनुपर्छ।

शिशु ६ महिनाको भएपछि उसलाई ठोस आहाराको आवश्यकता पर्छ जसमा जाउलो, लिटो, खिचडी, हलुवा, मुछेको आलु, केरा आदि ख्वाउन सकिन्छ। सुरुमा शिशुलाई पचाउन सजिलो हुने किसिमका खानेकुरा ख्वाउनुपर्छ। यस्ता पदार्थ अर्धठोस हुनुपर्छ। यतिबेला २४ घन्टामा तीन पटक ख्वाउनुपर्छ।

शिशुलाई स्वच्छ पिउने पानीको आवश्यकता पर्छ। स्तनपान भने साबिकबमोजिम दुई वर्षसम्म गराउनुपर्छ। दुई वर्ष पूरा भएपछि स्तनपान बन्द गरी ठोस कुराहरू दिनको पाँच पटकसम्म ख्वाउनुपर्छ। त्यसपछि शिशुलाई अण्डा, माछा, मासु, कलेजो, गेडागुडी आदि ख्वाउनुपर्छ। बजारमा पाइने चाउचाउ, चीजबल, लेज, कुरकुरे, कोल्ड डि्रंक्स, चकलेट आदि ख्वाउनु हुँदैन।