पर्वतको गाउँबस्तीमा कार्यक्रमहरूमा आफ्नो गीत प्रस्तुत गर्दा धेरैले बाल्यकालमै गीता पाईजालाई एउटा सफल गायिका बन्ने बताउँथे । कलिलै उमेरमा धौलागिरि अञ्चलमा चल्ने मगर समुदायको पुख्यौंली गीतहरू, यानीमाया, ख्याली जस्ता लोपउन्मुख गीतहरूबाट गायन क्षेत्रमा प्रवेश गरेकी पाईजाको पर्वतबाट सुरु भएको सांगितिक यात्राले समुन्द्रपारी पनि उत्तिकै स्थापन पाउने गरेको छ ।

दर्जनौ लोकप्रिय गीतहरूमा आफ्नो स्वर दिएकी पाईजाले २०६७ सालमा रेडियो नेपालबाट आधुनिक गीतको स्वर पास गरेपछि रेडियो नेपालबाटै देशभरका आधुनिक गीतको प्रतिस्पर्धामा समेत उत्कृष्ट ५ मा छनौट भएपछि उनको सांगितिक यात्राले गति लियो । प्रकृतिबाट नै सुमुधुर स्वर बरदान पाएकी पाईजाले छोटो समयमै लाखौं श्रोताको मन जित्न सफल भएकी छिन् ।

नेपालका सहर देखी ग्रामिण क्षेत्रसम्म मात्रै नभई बेलायत, हङकङ, कोरिया लगाएतका देशका दर्जनौ स्थानमा पुगेर समेत आफ्नो कलाबाट श्रोताको मन जितेकी पाईजाको स्वर स’शनेर धेरैले संगीतको लामो प्रशिक्षण लिएर संगीतको क्षेत्रमा प्रवेश गरेको भन्ने भान समेत हुन्छ तर, सानै उमेरदेखि संगीतमा रुची भएपनि उनले औपचारिक कक्षाबिना नै यस क्षेत्रमा लागेको बताउँछिन् । ‘लोकसंगीतमा लाग्न सानोतिनो लगावले पुग्दैन् ।मेरो मेहनत नै सफलताको कडी हुन्’ उनले भनिन् । दैनिक स्टुडियोमै ब्यस्त हुने गरेकी पाईजाको अभियानमा उनका श्रीमान पुस्कर थापाको समेत साथ छ ।

संगीतको क्षेत्रमै सक्रिय रहेका थापाले म्यूजिक भिडियोको निर्देशन तथा ब्यवस्थापन गर्ने भएकाले पनि धेरै गीतमा श्रीमानबाट समेत उनलाई सहयोग पुगेको छ । ‘मलाई घरदेखी स्टेज कार्यक्रमसम्म श्रीमानको पनि साथ हुन्छ ।मैले परिवारबाट पनि धेरै सिक्ने अवसर पाएको छु’ पाईजाले भनिन् ।लगनशीलता र निरन्तरता कला र संगीतको क्षेत्रमा लागेकी पाईजाले अहिले १ सय ५० भन्दा धेरै गीतमा आफ्नो स्वर दिएकी छन् । आधुनिक र लोकदोहोरीमा आफ्नो परिचय स्थापित गरेकी पाईजाले नेपाली भाषामा मात्रै नभई गुरूङ, मगर भाषाका धेरै गीतहरूमा स्वर दिएकी छन् ।उनले जीवनभर गीतसंगीतमै विताउने बताउँदै अझैपनि श्रोतको मन जित्ने गरी मेहनत गर्ने बताउँछिन् ।

‘बारपाकी मायाँ’, ‘मेरो प्यारो धौलागिरि’ ‘जस्को निम्ति आँसु, ‘मायाको गाउँ’ ‘हाम्रो खिवाङ गाउ’ँ,‘नांगी गाउँ’ लगाएत म्याग्दी कालि सालैजो, सिरफुले मायाँ लगाएत दर्जनौ मार्मिक तथा मर्मस्पर्शी गीतहरुमा स्वर भरेकी छन् । पुख्यौंली गीतका सर्जकहरूबाट समेत निरन्तर स्थान पाएकी पाईजाले धौलागिरि अञ्चलका धेरै गीतहरूबाट पर्यटन प्रर्वधनमा समेत सघाउने प्रयास गरेकी छन्। पर्वतमा जन्मिएपनि उनलाई धौलागिरि अञ्चलकी चेलीको रुपमा विश्वभर चिनिन्छ । ‘गाउँसहर चिनाउने गीतहरूमा काम गर्दा आनन्द लाग्छ । लोपउन्मुख गीतहरूलाई पनि प्राथमिकता दिने गरेकी छु’ उनले भनिन् ।

गीतसंगीतलाई ब्यवसायीक बनाउने भन्दा पनि चर्चामा आउने गरी फेसनको रुपमा लिनेहरुको कारण ब्यवसायीक कलाकारहरु समस्यामा पर्ने गरेको बताउँदै फेसनको रुपमा गीतसंगीतलाई प्रयोग गर्नु आर्थिक र समयको वर्वाद भएको समेत उनको भनाई छ । आर्थिक रुपमा समेत गीतसंगीतबाट मजबुद हुदै गएकी पाईजाले दर्जनौ सम्मान समेत पाएकी छन् ।