बेनी विनाशको शिक्षा

0
Date: 1965-11-14 Location: Malaj, Myagdi Description: Beni bazaar as seen from Malaj trail.

(डा. लाल रापचा)
पृष्ठभूमि
मैले आफ्नो कर्मथलो बेनी बजार, म्याग्दीप्रतिको कर्तव्य एवं उत्तरदायित्व ठानेर ‘बेनी बजारको भविष्य’ शीर्षकमा एक संवादलेख लेखेको थिएँ । सो लेख २१ भदौमा यसै दैनिकको पश्चिमेली मन्चमा प्रकाशित भएको थियो । लेख प्रकाशन भए लगत्तै बेनी अनलाइनका सम्पादक हरि गौतमले सं. २०२२ सालमा अमेरिकी विद्वान डा. वेन स्टिन्सनले खिचेको ‘सम्झना विर्सना…’ शीर्षकमा बेनी अनलाइनमा दुईवटा तस्विर अपलोड गर्नुभयो ।

ती दुई तस्विरमा उहिलेको बेनी देखेर म अत्यन्तै भावुक र नोस्टाल्जिक भएँ । अर्को अर्थमा भन्ने हो भने उहिले र अहिलेको बेनीलाई तुलना गर्दा मर्माहित हुनपुगें । स्नातक कक्षामा अनुसन्धान विधि सम्वन्धि बहस छेड्दा तुलनात्मक विधिको उदाहरणमा बेनीलाई नै प्रस्तुत गरें ।

समुद्री ज्वारभाटाभैं प्रश्न उर्लिन थाले—उहिले उहिले सुनजस्तै धान र कोदोको बाला झुल्ने बेनीको त्यस्तो खेतवारी कसरी विनाश हुन पुग्यो ? बदाम फल्ने बदामे लहराका फाँटहरू कता विलाए ? त्यस समयमा बनेका बढीमा ३०–३५ अर्गानिक खर र स्लेटका छाना भएका प्राकृतिक एसीयुक्त घरहरू कता अस्ताए होलान् ? ५२ बर्षको अन्तरालमै अर्नानिक बेनीको नक्शा कसरी परिवर्तन भयो होला र देखिन थाले सिमेन्टका कङ्क्रिटका बाफिला जङ्गलहरू ? यस्तै विलय एवं विनाशका सवालहरूको घनचक्करमा झल्याँस्सै व्युतदै—त्यही उहिलेकै तस्विरमा डा. स्टिन्सनसँगै उभिएर फोटो खिचाउने ६ जना व्यक्तित्वहरू खोजेर अन्तर्वाता लिने निष्कर्षमा पुगें ।

बेनी बजारकै सबैभन्दा अग्रज व्यक्तित्वहरू खोज्दै भौंतारिने क्रममा भूपू माननीय बलमान चोचाङ्गी पुन (ज. १९७७ सं.) सँग भेट हुनपुग्यो रेशमान पुनको सौजन्यमा । म्याग्दी बहुमुखी क्याम्पसकी सहायक क्याम्पस प्रमुख म्याडम रेखा रेग्मी (ज. २०३५ सं.) लाई आपैंmले फोन सम्पर्क गरें । भेटमा त्यो फोटो बारे सोधनी गर्दा म्याडमबाट के पत्ता लाग्यो भने ६ जनामध्ये १ जना व्यक्तित्व अंगत श्रेष्ठ हुनुहुन्छ ।

Date: 1965-11-14
Location: Malaj, Myagdi
Description: Beni bazaar as seen from Malaj trail.

शिवकुमार श्रेष्ठ, सुदर्शनकुमार श्रेष्ठ र रमेश गिरीहरूबाट पनि सोही कुरोको निश्चित भएपछि सैलेश श्रेष्ठको सौजन्यमा अंगत श्रेष्ठ (ज. १९९८ सं.) सँग पनि अन्तर्वाता लिने काम फत्ते भयो । स्व. कवि भूपि शेरचनका पिताश्री स्व. योगेन्द्रमान शेरचनको बारेमा पनि केही धमिलो जानकारी प्राप्त भयो ।

हालको बेनी बजारको विगत खोतल्ने मेसोमा सबैभन्दा पहिले प्राप्त भएको घर भनेकै थकाली बज्यैको रहेछ । त्यतिखेर आदि(मूल)वासीहरूको अर्गानिक आवास परिपाटीलाई “थकाली ढुङ्गेपाली” भनिने चलन थिएछ । उनी सुन्दरमानकी जिजुबज्यै थिईछन् । बाइसे–चौविसे ढोलथानी डिम्मु महाराजको समयतिर र ढुङ्गेपालीको समयउसो बेनीको इतिहास मात्रै २ सय बर्षको हाराहारीमा पाइन्छ । पर्वत राज्यको इतिहास लामो भएपनि त्यसको खोज यस पूरक लेखको धेय नभएकोले यहाँ बेनी बजारकै जोखिमपूर्ण संरचना, विनाश एवं समाधानमा केन्द्रित छ ।

रेखा म्याडमले थाहा पाउँदासम्म पनि अहिले सिमेन्टका कङ्क्रिट बाफिला जङ्गलहरू उम्रनु भन्दा पहिले बेनी काली–म्याग्दीको वगर, खोल्सो र खेत थियो । स्थानीय पत्थरका धुवाँधुलोरहित बाटाघाटा र वरपिपलका चौतारी थिए—प्रेमिल चौतारीजस्तै । शिवकुमार श्रेष्ठहरूले थाहा पाउँदासम्म पनि कालीगण्डकी किनारा छेउ प्रकाश माविको खाली चौरमा वीरेन्द्र शिल्ड खेलाइन्थ्यो । त्यो खुला चौरमा आज कालीगण्डकी बग्ने गर्दछ । सं. २०१४ र २०१८ को बाढीले वीरेन्द्र शिल्ड खेल्ने चौरलाई स्वात्तै निलेको थियो ।

अन्य स्थानमा खुला मन्चको एक टुक्रो बाहेक अब एक इन्च पनि खुला जमिन बाँकी छैन । मानव अतिक्रमणले आक्रान्त बेनी अब सिमेन्टका कङ्क्रिटयुक्त बाफिला एवं जोखिपूर्ण जङ्गल मात्रै हो । यहाँका कार्यालयहरू भित्र कृत्रिम पंखा नलगाई बेनीवासी एक सेकेण्ड पनि बाँच्न धौधौ मान्ने गर्दछन् ।

त्यती मात्रै नभएर मेरो अनुमानमा केही दशक पछि सं. २०७२ मा राखु भगवतीस्थित बैसरी बजारलाई जस्तै प्रकृतिको क्षयीकरणले बेनीलाई पहिलेकै अवस्था वा वगरमा फर्काइ दिनसक्नेछ । प्रकृतिको यस्तो प्रक्रियालाई व्याक टु जिरो सिद्धान्त भनिन्छ । अनुभवीहरूले बताए अनुसार नाली निर्माण हुनुभन्दा पहिले म्याग्दी बहुमुखी क्याम्पसको सेरोफेरोमा बाढीले त्यस्तै उधुम मच्चाएको थियो ।

प्रकृति र मानव निर्मित यस्ता विनाशबाट शिक्षा लिनुको साट्टो विकासको नाममा अन्धाधुन्धा प्रकृतिमातामाथि विवेकहीन शोषण र अतिक्रमण नै मानवीय दुःखका स्रोत हुन् भनी रहन परोइन । हामीले आज खेपिरहेको दुःख नै त्यही हो—राजधानी शहर होस् वा तराई–पहाडमा । उहिलेको बेनी विनाशको अर्को मूल कारक तत्व भनेको पश्चिमा ढाँचाको आरसीयुपि (रिसोर्स कन्जरभेसन याण्ड युटिलाइजेसन प्रोजेक्ट) थियो ।

सं. २०३१ तिर सन्चालित त्यो परियोजनाले जनमानसमा कङ्क्रिट भौतिक संरचनाको नाममा अन्ध पुँजीवादी र उपभोक्तावादी सोचलाई पक्षपोषण ग¥यो । बेनीमा अनावश्यक कोरा पूँजी र वियरको दुरुपयोग त्यसै कालबाट प्रारम्भ भएको थियो । विकास भनेकै सिमेन्टका बाफिलो एवं जोखिपूर्ण कङ्क्रिटयुक्त जङ्गल मात्रै हो । प्रतिष्ठा हो । मान साथै शान हो ।

त्यही भएर होला बेलायतदेखिको तलब र पेन्सन वा खाडीको रेमिटेन्सवालासम्मले बेनी बजारमा ३ करोडको कृषि पैदावर उद्योग खोल्नुको साटो सिमेन्टको कङ्क्रिटमै मरिहत्ते गरेका हुँदाहुन् । यस्तो गलत सोचले हाम्रा भावी सन्ततिको भविष्य जोखिममा धेकेलेको निर्विवाद छ । जोखिम न्युनीकरणमा हाम्रो प्रयास हामी जोकोहीले पनि आवास संरचना बनाउनु वा वस्ती बसाउनु अघि लिनु पर्ने शिक्षा भनेको सम्वन्धित भूगोल र भूगर्वको गहिरो ज्ञान हो ।

हामीलाई सं. २०७२ को भूकम्पले पनि त्यही पाठ सिकाएको छ र कुरो उठेको छ निर्माण पहिले माटो परीक्षणको । हाम्रो जस्तो भूगोलमा खोला तथा नदी किनारामा वस्ती बसाउनु कुनै पनि हिसावले वैज्ञानिक र न्यायसंगत छैन । म्याग्दीमै पनि बैसरी बजारको व्याक टु जिरो त्यही शिक्षा हो । बेनी बजारले त्यो प्रकोप वा विपतको तयारी आजै नगरे भोलि ढिला हुनसक्छ । वाढी प्रकोपबाट जोगिन खोला वा नदी किनारालाई अतिक्रमण गर्ने काम रोक्नु नै वुद्धिमानी ठहर्छ ।
बेनी बजार पनि भौगोलिक विनाश अति जोखिम क्षेत्रमा पर्दछ ।

बेनीको मात्रै नभएर नेपालकै पहाड र हिमालयको निर्माण टिबेटन र इण्डियन प्ल्याटोको अन्तरघर्षणबाट बनेको छ भन्ने वैज्ञानिक तथ्य छ । त्यसैले पनि नेपाल हिमालय र पहाडी क्षेत्र भूकम्पको उच्च जोखिम क्षेत्रमा पर्दछ । मल्लाज, पर्वतको भीरपहरा अत्यन्तै काँचो चट्टान र क्षययोग्य माटोले बनेको छ भन्ने कुरा सामान्य मान्छेको अवलोकनले पनि थाहा लाग्दछ ।

एकजुट भएर प्रयास गर्ने हो भने बाढीपहिरो र भू–क्षयीकरणलाई हामीले न्युनीकरण गर्न सक्नेछौं । जलवायु परिवर्तनको असरलाई पनि न्युनीकरण गर्न सक्नेछौं । त्यस्ता चाल्नै पर्ने कदमहरू हाम्रै विवेकमा निर्भर गर्दछन् । पहिलो, म्याग्दी बेनी र पर्वत बेनीका जोखिमपूर्ण किनाराहरूमा अबउसो गगनचुम्बी भवन ठड्याउने दुष्प्रयास नगरौं दुष्स्वप्न नदेखौं ।

किनभने काली–म्याग्दीका वारिपारी किनाराहरू न्युयोर्क सहरजस्तै भूगोल होइनन् गगनचुम्बी भवन ठड्याउने खालका । यसैगरी नदी र खोला किनाराहरूमा सडक खन्नु पनि अत्यन्तै जोखिमपूर्ण छ । दुवै बेनीका आफ्नो सीमा तथा व्यवधानहरू छन् । दुवै बेनी त्यस्तो जोखिमबाट मुक्त छँदै छैनन् । बेनपा त्यतातिर कडा नीति रवैयाका साथ कार्यान्वयनमा उत्रिओस् । यसमा नागरिकहरूको सझदारी तथा साथ आवश्यक हुन्छ । तराई, पहाड र हिमाल जहाँ भएपनि प्रकृति प्रकोपमा मानवीय क्षेती भईसकेपछि सरकारले सहयोग गरेन भन्नु अर्थहीन हुन्छ किनकि त्यसको उत्तरदायित्व असल नागरिक आपैंmले पनि लिनु जरुरी छ ।

बेनपाले आफ्नो दीर्घकालीन योजनामा काली–म्याग्दीको मुहानसम्मै पुगेर अतिक्रमण तथा भूक्षयीकरणलाई रोक्ने अभियान सफल बनाओस् । यस्तो अभियानको सिको देशभरि नै गर्न सकिनेछ ।

पहिरो र बाढी रोकथाम गर्न प्रत्यक नाङ्गो डाँडाकाँडा र पाखापखेरामा वृक्षारोपण गरी हरियाली वृद्धि गरौं र जथाभावी विकासको नाममा डोजर नचलाऔं । सो भन्दा पहिले त्यस्तो कुकार्यको वातावरणीय प्रभाव मूल्याङ्कन गर्न÷गराउन नभुलौं । यस्तो आपतविपतसँग दैवको प्रत्यक्ष–अप्रत्यक्ष केही सरोकार हुँदैन ।

आफ्नो दुष्कार्यमा दैवलाई दोष लगाउने नकाम रोकौं र असल अभ्यास एवं कार्यमा सहभागी बनौं । फोस्रा भाषण बन्द गरी सुकर्ममा जुटौं । देशलाई फत्फताउनेको जमात होइन पौरखी हातहरूको खाँचो भएकोले पौरखमा जुटौं । कुरा कम काम बढी । धानको बाला झुल्ने २२ साले बेनी त अब फर्काउन असम्भव छ । तर सम्भव के पनि छ भने धानको बाला झुल्ने खेतवारीमा ठडिएका कङ्क्रिटका छातभरि, बरन्डाभरि हरियाली बढाउन सकिन्छ । फेरि बेनीलाई प्रकृतिको पूर्ण अवस्थामा फर्काउन भने सक्छौं । जे सक्छौं त्यो गरौं । हामीले धेरै नसके पनि आप्mनो घर–परिवारमा उत्पादन भएको फोहोरमैला आपैंm व्यवस्थापन गर्न सक्छौं । त्यो गरौं । व्यर्थैको भ्mयाली नपिटौं ।

निष्कर्ष
हामी बेनीवासीसँग असल नागरिक हुनुको अरू विकल्प केही छैन । यो धु्रवसत्य हो । पश्चिमा विचार र जीवनशैलीको मात्रै पिछलग्गु बन्ने कुकार्य रोकौं । केवल परनिर्भर नभई आत्मनिर्भर बन्न सिकौं । असल नागरिक हुँदै आत्मनिर्भर नागरिक बन्नुको पनि हामी म्याग्देलीसँग अर्को विकल्प छँदै छैन । ३०–३५ अर्गानिक खर र स्लेटबाट हजारौं संख्यामा बनेका अव्यवस्थित बाफिला कङ्क्रिट घरहरू अब नथप्दा नै राम्रो हुन्छ । संक्षेपमा घरमा आगो लागिसकेपछि कुवा खन्न शुरु गर्ने शताब्दिऔंको लोसेपनमा सुधार ल्याउनु पर्छ भन्ने नै बेनी विनाशको असल शिक्षा हो । यसलाई तपाइँ हामी सबैले ग्रहण गरौं । त्यसैमा हामी बेनी, म्याग्दीवासीको कल्याण छ ।