यस वर्ष अम्बामा देशैभर अम्बामा रोग देखा पर्‍यो। अम्बामा  साना-साना कालो दागहरु भेटिए।यस  सिजन अम्बामा देखिएको रोगलाई सरकारले ‘क्यानकर’ अर्थात खटिरे रोगको प्रकोप देखिएको जनाएको छ। कृषि विभाग अन्तगर्तको फलफूल विकास केन्द्रकी कार्यक्रम निर्देशक डाक्टर रमिता मानन्धरले अम्बामा कालो कालो दाग खटिरे रोग भएको जानकारी दिइन् ।

नेपालमा व्यवसायिक रुपमा ठूलो मात्रामा अम्बाको खेती गरिदैँन्।त्यसैले यसमा लाग्ने रोग, बिउका आधुनिक प्रजाती तथा यसको महत्वका बारेमा चासो र अध्ययन कम देखिएको छ’ मानन्धरले बताइन्।फलफूल क्षेत्रको प्रवद्धन गर्ने जिम्मा पाएको फलफूल विकास निर्देशनालयले अम्बामा देखिने विभिन्न प्रकारका रोग, तीनको कारण र समस्याका बारेमा पर्याप्त जनचेतना फैलाउन भने सकिरहेका छैन्।किनभने अम्बाको अहिलेसम्म ब्यावसायिक खेती गरिएको छैन् ।

कृषि विज्ञ राजेन्द्र देवकोटा  यस वर्ष अम्बामा खटिरे रोग ‘Physalospora psidi’ नामक ढूसीवाट लाग्ने गरेको बताए।

यो रोग लागेपछि अम्बाको उत्पादन ९० प्रतिशत तथा गुणस्तर शतप्रतिशतले घटाउने देवकोटा बताउँछन्।

उनले बताए अनुसार खटिरे रोग प्रायजसो फल तथा आंशिक रुपमा पातमा देखा देखापर्ने गर्दछ।

यस रोग लाग्नुपूर्व खैरो वा सिन्दुरे रंगका साना थोप्ला देखा पर्दछन भने पछि यी बढ्दै जान्छन्।

त्यसपश्चात यसले फललाई कडा पार्दै लैजाने, आकारमा बिकृति ल्याउने र अन्तमा फुटाउने गर्दछ।यो प्राय जाडोमा भन्दा बर्षात को मौसममा बढी देखा पर्ने गर्दछ।

रोगको सक्रमण १५ डिग्री माथि र ३० डिग्री तल सम्म खासै नभएपनि तापक्रम १५ डिग्री तल हुने र ३० डिग्री माथि पुगेको खण्डमा भने सक्रमण बढेर जाने गर्छ।

पाकेको अम्बाबाट प्रशस्त मात्रामा भिटामिन ‘सी’ प्राप्त गर्न सकिन्छ। जुन सुन्तलाको रसमा रहेको भिटामिन सी को तुलनामा ५ गुणाले बढी हुन्छ।

त्यस्तै अम्बा क्याल्सियम, फस्फोरस, राइवो­लाविन, पान्टोथोनिक एसिड, थायमिन र नियासिन जस्ता भिटामिन वी कम्ल्पेक्स को पनि मूख्य श्रोत हो।

साधारणतया रातो गुदी भएका अम्बाको तुलनामा सेतो गुदी भएका अम्बामा भिटामिन सी बढी पाइन्छ।

यसका साथै अम्बाको प्रयोगले शरिरको पाचन प्रणलीलाई मजबुत बनाउने विज्ञहरु बताउँछन्।

अम्बालाई ‘खटिरे’ रोग लागे के गर्ने

रोगले आक्रमण गरेका भागलाई हटाई जलाउनु र काटछाट गरेको ठाँउमा ‘वोर्डो पेष्ट’ बनाएर छर्कनु पर्दछ। जब माटोमा ‘क्याल्सियम’ र ‘बोरन’ को कमी हुन्छ तब यो रोग देखा पर्न सुरु गर्छ।

त्यसैले बेला बेलामा ‘क्याल्सियम नाईट्रेट’ र ‘बोरेक्स धुलो’ प्रयोग गर्नु पर्दछ।

रोग सक्रमण को सुरुवातसँगै विरुवालाई १ प्रतिशतको ‘वोर्डेक्स मिक्स’ बनाएर पनि छर्न सकिन्छ। त्यस्तै लाइम सल्फर १५-१५ दिनको अन्तरमा ३-४ चोटी सम्म स्प्रे गरेर पनि यसको निदान गर्न सकिन्छ । setopati.com