-डा. स्मृति श्रेष्ठ, एमडी, डर्माटोलोजी, धुलिखेल अस्पताल

उमेर बढ्दै जाँदा शरीरमा त्यसको असर देखिँदै जानु प्रकृतिको अपरिहार्य नियति हो । तथापि सधैँ युवावस्थामै रहिरहन चाहन्छन् मानिस । त्यसैले बूढो हुने प्रक्रियालाई बुझ्नु आवश्यक छ । यहाँ उमेर बढेपछि छाला चाउरी पर्नुका कारण, लक्षण र रोकथामका उपायबारे चर्चा गरिएको छ ।
कारण :

छाला चाउरी पर्नुका आन्तरिक र बाह्य कारण हुन्छन् ।

आन्तरिक कारण : यसमा वंशानुगत, छालाको रंग, महिला, कोषिकाहरू नष्ट हुँदै जानु आदि पर्छन् । यी कारण परिवर्तनशील होइनन् । वंशानुगत विविधताले मानिसको अनुहार तथा बाह्य स्वरुपमा फरक परेजस्तै बूढो हुने जिनमा पनि भिन्नता हुनसक्छ ।
क्रोमोजमको टेलोमेरेज विभिन्न जाति र भेगका मानिसमा छिट्टो वा ढिलो नष्ट हुन्छ । जसका कारण कोही वंशानुगत रुपमै छिटो बूढो हुन्छन् । गोरो छाला, रातो कपाल र नीलो आँखा हुनेमा खैरो र कालो छाला हुनेभन्दा कम मेलानिन तत्व हुन्छ र छिटो बूढो हुन्छ । रंग बनाउने मेलानिनको कमीले घामका हानिकारक तत्वबाट छालालाई बचाउन गा¥हो हुन्छ ।

बाह्य कारण : बाह्य कारणमा सूर्यको किरण ७० प्रतिशत जिम्मेवार हुन्छ । यसबाहेक चुरोट तथा रक्सीको सेवन, प्रदूषित वातावरण, अत्यधिक मोटोपना, धेरै खाने बानी, पौष्टिक आहार तथा व्यायामको कमी, मधुमेह, रक्तचाप, थाइरायड, पानीको कमी, मानसिक तनाव वा चिन्ता पनि पर्छन् ।
घाममा हुने विभिन्न किरणमध्ये अल्ट्राभायोलेट किरणले प्रत्यक्ष र अप्रत्यक्ष रुपबाट छालालाई हानि गर्छ । अल्ट्राभायोलेट–ए र अल्ट्राभायोलेट–बी किरणका कारण चाउरी पर्ने हुन्छ । अल्ट्राभायोलेट–एले छालाको दोस्रो पत्रलाई पातलो बनाउँछ । यस तहको कोल्याजन घरको जग भनेझैं छालाको प्रमुख आधार हो । कोल्याजन घट्दै गएपछि छाला झोलिने र लचिलो हुन्छ, चमक गुम्छ । बिहान र साँझको घाम पनि उत्तिकै हानिकारक हुन सक्छ । घामबाट छालाप्रति देखिने नकारात्मक असरको मापन ३० वर्षमाथिका व्यक्तिको अनुहार र जीउको छालाको अन्तर दाँजेर हेर्दा थाहा हुन्छ । घामले छोपिएका भागमा धेरै कम असर देखिन्छ । महिलामा पुरुषमा भन्दा कम कोल्याजन हुन्छ । त्यसैले छिटो उमेर ढल्छ ।

कस्ता परिवर्तन हुन्छन् ?

छालाका तह पातलो हुने, कोषिकाहरूको सूक्ष्म क्षति, पानी तत्व घट्ने, तेल र पसिना बनाउने ग्रन्थी सुक्ने, कपाल, नङ र छालाले काँचुली फेर्न कम हुने, घाउ ढिलो पुरिने आदि परिवर्तन आउँछन् ।

लक्षण 

चाउरीपना, पहेँलोपना, पोतो, चाया, छाला लचिलो हुने, साना रक्तनली देखापर्ने, सुख्खापन, दाग, चमक घट्ने र कपाल फुल्ने हुन्छ । लामो समय घामको असरले क्यान्सरको खतरा हुन सक्छ ।

उपचार रोकथाम

उमेर ढल्ने क्रममा ढिलाइ गर्न सनस्क्रिनको अहं भूमिका हुन्छ । दिनहुँ ३ देखि ४ पटक सनस्क्रिनको सही मात्रामा प्रयोग गर्नाले घामको असरबाट ९७ प्रतिशतसम्म बच्न सकिन्छ । एकपटक प्रयोग गरेको आधा चम्चा सनस्क्रिनले २–३ घण्टा काम गर्ने हुँदा ८ बजे, ११ बजे, २ बजे र बजार निस्कनु परेमा ४–५ बजेसमेत लगाउनु राम्रो हो । सनस्क्रिन किन्दा एसपिएफ (सन प्रोटेक्सन फ्याक्टर) हेर्नु उचित हुन्छ । नेपाली छालामा एसफिएम ४० सम्म उपयुक्त हुन्छ । पौडी खेल्दा २० देखि ४० मिनेटसम्म एकपटक लगाएको वाटर रेसिस्टेन्ट सनस्क्रिनले काम गर्छ ।
यसबाहेक टोपीको प्रयोग, चस्मा र मास्कले छालाको बचाउमा सहयोग गर्छ । हरियो सागपात तथा फलफूल खाने र प्रशस्त पानी पिउनाले आन्तरिक एजिङलाई रोकथाम गर्छ  । छालाको हेरचाह गर्नुपर्छ र समयअनुसार मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

चाउरीका उपचार

१. पिलिङ–रसायनको माध्यमबाट गरिने यस उपचारले छालाको काँचुली फेर्न सहयोग गर्छ । चाउरी तथा पोतोमा यसको विशेष भूमिका छ । यो महिनाको एकपटक गरिन्छ र त्यति महँगो हुँदैन ।
२. लेजर– कृत्रिम किरणको सहायताले कोल्याजन बनाउँने क्रम बढाइन्छ ।
३. मल्हम– विभिन्न मल्हमहरूले केही हदसम्म काम चाउरीपनालाई कम गर्छ । तर असर देखिँदैन । असर देखिनका लागि १–२ वर्ष नियमित प्रयोग गर्नुपर्ने हुनसक्छ । यद्यपि मल्हमहरूले पिलिङ या लेजरजति काम गर्दैनन् ।
४. बोटोक्स –आँखा वरपर र निधारको चाउरी घटाउन बोटुलिनम टक्सिन नामक इन्जेक्सन प्रयोग गरिन्छ । यसबाट छाला खुम्चिने बन्द हुन्छ । यो ३ देखि ६ महिनामा सुईको माध्यमबाट दिनुपर्छ । एक खालको ब्याक्टेरियाको टक्सिनबाट निर्मित यो इन्जेक्सन नेपालमा पाइन्छ । तर राम्रोसँग नलगाएमा यसबाट आँखा टोसिस हुने, मुख बांगिने र कसै–कसैलाई सम्पूर्ण जिउ नै प्यारालाइसिस हुने सम्भावना हुन्छ ।
५. फिलर– कोल्याजनजस्तै कृत्रिम रसायन सुईबाट लचिलो छालामा राखिन्छ । यसले छालालाई पहिलेकै अवस्थामा ल्याउँछ र ६ महिनादेखि २ वर्षसम्म काम गर्छ ।
६. प्लास्टिक सर्जरी– यसबाट आँखाको रुप नै  सच्याउन सकिन्छ ।
७. लाइपोसक्सन – यसअन्तर्गत शरीरको बोसो काटिन्छ ।