केही वर्ष अघिसम्म दशैं,तिहारजस्ता ठूला चाडमा मात्रै होइन फुर्सदको बेला जुनसुकै बेला पनि गाउँ सहरमा चंगा उडाउने गरिन्थ्यो । आकाशमा चङ्गाको भीड हुन्थ्यो भने चंगा उडाउनेहरु रमाउँदै धागो बेरिरहेका भेटिन्थे । आकाशमा चंगा देखिन थालेपछि दसैं तिहार आउन थाले भन्ने संकेत मिल्थ्यो ।

तर , अहिले चंगा उडाउने संस्कृति हराउँदै जान थालेको छ लोककथाका अनुसार वर्षायाममा धेरै पानी परिसकेको र धान पाकिसकेको हुने हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भन्ने सन्देश चंगा उडाएर पठाएको मानिन्छ । चंगा उडाए पानी पर्दैन भन्ने जनविश्वास पनि छ । तसर्थ, दसैंभन्दा ठ्याक्क अगाडिदेखि चंगा उडाउने चलन रहेको भनाइ चल्दै आएको छ ।

आजभन्दा करिब २५ वर्ष अघिसम्म बेनपा २ विमिराबोटका नारायण शर्मा पनि चंगा धेरै उडाउनुहुन्थ्यो । बिस्तारै उमेर बढ्दै गएपछि उहाँले चंगा उडाउन छोड्नुभयो । ‘हामी पहिला थुप्रै चंगा उडाउँथ्यौं, माड र सिसाको धुलोले धागोलाई धारिलो बनाएर आकाशमा उडेका अरू चंगा काटिन्थ्यो,’ उहाँले पुराना दिन सम्झदै भन्नुभयो ‘त्यतिबेला चंगा उडाउने होडबाजी नै चल्थ्यो । चंगा चेट, चंगा काट भन्नेजस्ता आवाजहरू धेरै सुनिन्थे,तर अहिले ती सबै कुराहरु हराएर गए ।’

शर्माको जस्तै अनुभव भकिम्लीका पूर्णवहादुर हुमेनको पनि रहेको छ । घरको कौसी नभएर पारी गाउँमा गएर चंगा उडाएको सम्झना हुमेनको छ । ‘त्यतिबेला घरबाट उडाउन मिल्दैनथ्यो पारी गाउँको खुला ठाउँबाट चंगा उडाइन्थ्यो,’ हुमेनले भन्नुभयो, चंगामा पुच्छर हालिन्थ्यो,’ चंगामा धानको मसिनो नलसमेत बाँधिन्थ्यो । ‘पहिले कतै चंगा चेट भयो भने कुद्ने र कराउनेको संख्या धेरै हुन्थ्यो,’ हुमेनले भन्नुभयोे, ‘अहिले न त चंगा नै देखिन्छ, न त त्यस्ता आवाज नै, बिस्तारै चंगा उडाउने संस्कृति हराउँदै गएको छ ।

मोबाइल, कम्प्युटर, ल्यापटप तथा मनोरञ्जनका अरू माध्यमतिर धेरै ध्यान जाँदा चंगाको आकर्षण घटेको धेरैको बुझाइ छ । ‘अहिलेका मान्छेहरू खेलका लागि अरू माध्यमहरूतर्फ आकर्षित छन,’ बेनी बजारका कृष्णवहादुर बानियाँ भन्नुहुन्छ ‘कम्प्युटर, मोबाइल गेम, घुमघाम तथा मनोरञ्जनका अरू माध्यममा उनीहरू लागेका छन्, जसले गर्दा चंगा कम उड्छ । पहिलेको तुलनामा अहिले सहर बजारमा छ्याप्छ्याप्ती चंगा, लट्टाई, धागो पाइँदैन ।’ पहिले त हरेकजसो पसलमा चंगा, लट्टाई र धागो पाइन्थ्यो । बानियाँले भन्नुभयो, ‘अहिले त जहाँ पायो त्यही पाइँदैन, विशेष स्थानमा मात्र चंगा बेच्न राखेको हुन्छ । चंगा उडाउन मन लागेपनि अग्लाअग्ला घरका कारण उडाउन कठिन भएको अनुभवीहरुले बताएका छन् ।——— धु्रबसागर शर्मा