नेपालको लालपुर्जा भनेको हिन्दुराष्ट्र हो ।विदेशीको इसारामा राजनीतिक दलले हिन्दुराज्यको अपहरण गरे । विश्वभर नेपालको पहिचानको रुपमा रहेको हिन्दु धर्मलाई यहाँका राजनीतिक दलले अपमान गरिरहेका छन् ।विदेशी धर्मले आर्थिक प्रलोभनमा धमाधम धर्म परिवर्तन गराइरहेको अवस्थामा पनि कडा कारवाही हुन सकेको छैन् । आर्थिक अवस्था कमजोर भएका नेपालीहरुले दुइचार सय रुपैयाँमा धर्मपरिवर्तन गर्नुपर्ने बाध्यता रहेको छ ।

हामीले पटकपटक हिन्दुराज्यको स्थापनाका लागि आफ्नो तर्फबाट दवाव दिइरहेका छौ । आगामी निर्वाचनमा हिन्दुराज्य नेपालको स्थापना, देशभित्रका धार्मिकस्थलको संरक्षण, जिर्ण भएका मठमन्दिरको पुननिर्माणमा प्राथमिकता दिनुपर्छ । धार्मिक क्षेत्रको संरक्षणमा प्राथमिकता दिने उम्मेदवारलाई नै विजय बनाउनुपर्छ ।बहुसंख्य हिन्दुधर्मालम्बीहरुको हित विपरित गरिएका कार्यहरुलाई तुरुन्तै खारेज गर्नुपर्छ । नेपाली जनताले हिन्दुराज्यको पुर्नस्थापना भएको देशको रुपमा देख्न चाहन्छन् । भिमनाथ पराजुली उपाध्यक्ष गलेश्वर शिवालय क्षेत्र विकास कोष

बालहिंसाको विरुद्धमा चर्काचर्की भाषण 

बालविवाह, बालश्रम, हिंसा, यौनजन्य गतिविधि, छोराको खोजीमा लिङ्ग पहिचान गरी गर्भपतन, शिक्षामा अभिभावबाट विभेद लगाएतका समस्यालाई सहर देखी ग्रामिण क्षेत्रसम्म ब्यापक छ ।मेलापर्वमा बालविवाह हुने, कलिलै उमेरमा जवरजस्ती विवाह गर्ने, समाजमा प्रतिष्ठित मानिएकाहरूले बालबालिकाको शोषण गर्ने, शिक्षामा छोराछोरीलाई विभेद गर्ने लगाएतका समस्यालाई समाधानमा उम्मेदवारले लिखित प्रतिबद्धता जनाउनुपर्छ ।

म्याग्दीका राजनीतिक दलका नेताहरुले भाषणमा बालहिंसाको विरुद्धमा चर्काचर्की भाषण गरेपनि ब्यवहारिक रुपमा कार्यान्वयन भएको देखिदैन् ।बालविवाहकै कारण धेरै किशोरीको स्वास्थ्य र घरपरिवारमा गम्भीर समस्या देखिएकाले कोषको स्थापना गरी ‘बिहेबारी २० बर्षपारी’,‘विद्यालय शान्ति क्षेत्र घोषणा’,‘राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोगमा निषेध’ मा प्रतिबद्धता आवश्यक छ । हामीले ग्रामिण क्षेत्रमा समेत सडक नाटक मार्फत समेत सचेत बनाइरहेका छौ ।
रञ्जना श्रेष्ठ सचिव जिल्ला बाल सञ्जाल म्याग्दी

राज्यबाट पाउने सुविधा सहज पाउन सकिएको छैन्

जेष्ठ नागरिकले अहिले पनि समाजमा दोस्रो दर्जाको रुपमा जिवन जिउनुपरेको छ ।परिवारबाट समेत धेरै अपमानित भएर बृद्धआश्रमको खोजीमा हिड्नुपरेको छ । राज्यबाट पाउने सुविधा समेत सहज पाउन सकिएको छैन् । निशुल्क उपचार, यातायात, जेष्ठ नागरिक परिचयपत्रको ब्यवस्था मिलाउनुपर्छ । जेष्ठ नागरिकले धेरै आन्दोलनमा आफ्नो ज्यान समेत गुमाएका छन् ।

राज्यका निकायले बर्षको एकपटक दिवसको आयोजना गरी हामीलाई अलमलमा पार्ने गरेको छ । सरकारी भन्दा पनि ब्यक्तिगत र विभिन्न संघसंस्थाको सहयोगमा हामीले दिन काट्नुपरेको अवस्था छ । अहिलेसम्म दलका नेताहरुले बोलेको कुनैपनि काम पुरा भएको छैन् । त्यसैले आगामी निर्वाचनमा उम्मेदवार भएकाहरुबाट जेष्ठ नागरिकलाई यातायात, स्वास्थ्य सहित विभिन्न सेवा लिएवापत निशुल्क उपलब्ध गराउनुपर्छ ।
बम बहादुर शेरपुञ्जा, गलेश्वर बृद्धआमश्र

लोकसंस्कृतको जर्गेना प्राथमिकतामा परेको छैन्

लोकसंस्कृतको जर्गेनामा अहिलेसम्म कुनैपनि राजनीतिक दलको प्राथमिकतामा परेको छैन् । चुनावी अभियानमा गीतसंगितको खोजी हुने गरेपनि निर्वाचन लगत्तै लोपउन्मुख कला, लोकगीत लगाएत म्याग्दी जिल्लाका पहिचानलाई संरक्षण गर्न आवश्यक बजेटका साथै योजनाहरु समेत उपलब्ध हुने गरेको छैन् । लोकसंगीतमा सक्रिय कलाकारहरुले अहिलेसम्म पनि सरकारी निकायबाट कुनैपनि किसिम कार्यक्रमहरु पाएका छैनन् ।

तिहारमा देउसीभैलो खेलेर, चन्दा संकलन तथा विभिन्न कार्यक्रम गरी संगीतको क्षेत्रमा लाग्नुपर्ने अवस्था छ । हामीले पटकपटक लोपउन्मुख थालीनाच, सोरथी, पुख्यौलीका साथै लोकसंगीतको संस्थागत विकास र कलाकार, गायकलाई प्रोत्साहन गर्ने कार्यक्रमको माग गर्ने गरेका छौ । आगामी निर्वाचनमा उम्मेदवार बनेकालाई विभिन्न चुनावी मैदानमा पनि हामीले कला र संस्कृतिको क्षेत्रमा बजेट विनियोजनलाई प्राथमिकतामा राख्न अनुरोध गरिरहेका छौ । लोकदोहोरी प्रतिष्ठानले समेत दवाव दिइरहेको छ । जनप्रतिनिधिहरुबाट हामीले धेरै अपेक्षा गरेका छौ ।
पदम विश्वकर्मा, लोकगायक म्याग्दी