म्याग्दीको पहिचान सोरठी÷ पुख्यौली नाच

0

लोकेश पुनमगर
सोरठी भाका मगर समुदायमा सामुहिकरुपमा गाउँने र नाच्ने गरिन्छ । सोरठी भाकामा नाच्नको लागि पूरुषहरुको मात्र आबश्यकता पर्दछ भने गीत छोप्नको लागि केही महिलाको आवश्यकता पर्दछ । मगर संस्कृति अनुसार दुई देखि चार जनासम्म (ठाउँ अनुसार) केटा मानिसलाई केटीको पहिरन जस्तै चोली गुन्यू पटुका घल्याक पछ्यौरा माला हातमा चाँदीका बाला लगाइदिइ मारुनी बनाइन्छ ।

नाचगानको अबघी भर उसलाई मारुनी भनेर बोलाइन्छ । नाचको अबधीभर मरुनीको बिशेष भुमीका रहन्छ भने मरुनी संग मादले पनि गाउदै मादल बजाउदै नाच्ने भएकोले सोरठी नाचलाई मादले मारुनी नाच पनि भनिन्छ । पुर्खाले सुरु गेरको र पुर्खाबाट नै हस्तान्त्रण हुदै आएको र मगर समुदायमा जन्म छैटी, न्यवारण, छेवार पास, विवाह देखि मृत्युृसम्म यो गीत विशेष प्रकारले नाच्ने र गाउने भएकाले यसलाई मगर समुदायमा पुख्यौली नाच भनेर पनि चिन्ने गरिन्छ ।

यो नाच छन्त्याल, गरुङ र थारु समुदायमा पनि नाच्ने र गाउँने गरेको पाइन्छ । यो नाच नेपालको पश्चिमी भाग विशेष गरेर राप्ती, धवलागिरी र गण्डकी अञ्चलमा नाच्ने र गाँउने गरेको पाइन्छ । भौगोलिकताको हिसाबले विभन्न ठाँउमा सोरठीलाई स्थानीय बोलीचाली अनुसार बिभिन्न रुपमा नामाकरण गरेको पाइन्छ ।जस्तै ख्याली नाच, नचरी, नाचन्य, कराङ नाच, पाङ्दुरे नाच आदिबाट चिनिन्छ ।

मगर भाषामा पाङडुर भनेको कोदो हो । पाल्पा र तनहु तिर कोदो पाक्ने बेलामा विशेष गरेर यो नाच नचाउने गरिन्छ त्यसैले त्यस ठाउका बासिन्दाले सोरठी नाचलाई पाङडुरे नाच पनि भन्ने गरेको पाइन्छ । विभिन्न ठाँउमा विभिन्न नामले चिनिए पनि सबै ठाँउमा यो गीतको ताल, सुर, लय, अभिनय र कथा बस्तुमा फरक भएको पाइदैन । सोरठी नाचको आफ्नै प्रकारको छुट्टै खालको बिशेषता रहेको छ ।

मगर भाषाको शब्द श्राङ्दीबाट सोरठी भएको हो भन्ने गरिन्छ । सोरठीको १६ ताल र १६ हाँगा भएकोले यसलाई सोरठी भनिएको हो । तर कतै जन्म खण्डको बालक जन्मदाको गीतलाई नै सोरठीको सोह्र हाँगा भनेर उल्लेख गरेको पाइन्छ । बालक जन्मदा गाउँने गीतको पनि १६ हाँगा हुन्छ । यस खण्डमा रानी गर्भवती भए देखि बच्चा नजन्मेसम्म १६ हाँगा हुन्छ । यसैलाईमात्र सोरठी भन्न मिल्दैन । सोरठीमा विभिन्न खण्ड हुन्छ यी खण्डहरुलाई नै सोरठीको हाँगा भन्ने गरिन्छ । सोरठी प्रत्येक खण्डमा अनगिन्ती ताल, सुर, लय, अभिनय र कथा बस्तुमा फरक हुने भएकोले यसलाई सोरठी भनिएको हो ।

मगर समुदायले मनाउने चाडपर्व, मेलापाता, छेवार, विबाह र किरीया, नयाँ घर भित्रीदा, छोरो जन्मदा जस्ता शुभ वा अशुभ कार्यमा रात भरि नै यो गीत गाउने र नाच्ने गरिन्छ । सोरठीमा दुःख, सुख साथै माया पिरतीका विषय वस्तु अनुसार गाइने र नाच्ने गरिन्छ । विशेषत सोरठी भाकामा पुरुषले महिलाको पहिरनमा मारुनी बनेर नृत्य गर्दाको दृश्य निकै रमाईलो हुन्छ । सोरठी नाच्नको लागि एक जना भन्दा बढी आबश्यकता अनुसार मारुनीको साथै मादलेको आश्यकता पर्दछ ।

सवै भन्दा पहिले यो नाचमा देबिदेवताको नाम लिने गरिन्छ । यसरी देविदेवताको नाम लिने चलनलाई देवि बाध्ने वा बन्धन भन्ने भनिन्छ। देवि बान्दा देवि देवता, संगी साथी, बाध्य सामाग्रीलाई बाचामा वाध्ने गरिन्छ । बन्धन दिदा नाच्ने गरीदैन खाली देविदेवताको नाम लयबद्ध स्वरमा सवैले गाउने गरिन्छ। बन्धन वाधी सकेपछि मादल बजाएर ठोकन राख्ने गरिन्छ । यसलाई सरस्वती उतार्ने वा हाई हाल्ने पनि भन्ने गरिन्छ किन भने सवै जनाले एकै स्वरमा मादलको ताल नसकिदासम्म हा….. हा………. गरेर गाइरहनु पर्दछ । लामा धामी र चोखो शरिर हुनेहरु यति बेला काम्ने गर्दछन । काम्ने मानिसहरुलाई मादलको ३ ताल, ९ ताल वा २२ तालसम्ममा छोड्ने गर्दछन् ।

त्यस पछि विषय वस्तु अनुसारको रौरा (्रौरा भनेको गीत निकाल्ने मुख्य मानिस हो जो मादले आफै पनि हुन सक्छ) वा मादलेले मादलको तालसंगै गीतको टुक्का निकाले पछि अन्य पूरुष तथा महिलाले स्वर मिलाएर साथ दिने गर्दछन् । स्वरमा स्वर मिलाएर गाउनको लागी गला र कला भएको आठ दसजना महिला पुरुषको. अवश्यकता पर्दछ । विभिन्न चरणमा गरेर एक वटा सोरठी सकिनको लागी करिव एक घण्टा भन्दा वढी समय लाग्ने गर्दछ । त्यस पछि आवश्यकता अनुसारको विषय बस्तुमा आधारित भएर गीत गाउने र चाच्ने गरिन्छ ।

बास्तवमा भन्ने हो भने सोरठी हाम्रो समाजको यर्थाथ झल्काउने भाका हो । मगर समुदायमा जन्म देखि मृत्यृुसम्मका संस्कारहरुमा सोरठी गाउँने र नाच्ने चलन छ । सोरठी गाँउने र नाच्ने चलन कस्ले र कहिले देखि चलाएका हुन भन्ने कुरा अलिखित इतिहासको कारण भन्न सकिने अवस्था छैन । दर सन्तानमा हस्तान्त्रण हुदै आइरहेको यो हाम्रो संस्कार पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा आज एउटा गम्भीर चासो र चिन्ताको विषय बन्न पुगेकोछ। आधुनिक पाश्चात्य संस्कृतिप्रति आजका युवाहरु आक्रर्षित हुन थाले पछि मगर समुदायको मौलिक संस्कार वुढापाकामात्र सिमित वन्न पुगेको छ ।

सोरठी गीत र नाच मगर समुदायमा छ्याप्छ्प्ती देख्न पाइथ्यो उबेला तर आजभोली यो गीत र नाच देख्न र हेर्न विरलै पाइन्छ । हाम्रो संकृति रहे मात्र हामी रहनुको अस्तित्व रहन्छ । जसले हामीलाई इज्यत, प्रतिष्ठा र सम्मान दिएकोछ । यो कुरा कसैले पनि विर्षनु हुदैन यदि विर्षीन्छ भने आफ्नो जातिको लागि त्यो भन्दा ठूलो भुल वा बेइमानी अरु के हुन सक्छ ? कुनै समय निकै लोकप्रिय र चर्चित सोरठी नृत्य लोप हुने अवस्थामा पुगेको कुरा नयाँ पुस्तालाई यसवारेमा जानकारी नै छैन । समय अनुसार गाइने सोरठी गीतको आफ्नै विशेपता छ ।

यो गीतको ठाउँमा आधुनीक गीतहरुले ठाउँ लिन थाले पछि, परम्परगत मौलीक साँस्कृतिक पहिचान बोकेका गीतहरु युवा पिढीले. विर्षदै जान थाले पछि, बुढापाकाहरुको उमेर संगै यी गीतहरु ओझेलमा पर्न थालेकाछन् । पछिल्लो पुस्तासम्म आई पुग्दा सोरठी नाच संरक्षणको पर्खाई रहेको छ । यसको संरक्षण गर्नु मगर समुदायाको कतब्य हुन आउछ भने समाजको अन्य जातजातिको पनि यसमा भूमिका हुन पर्दछ । समाजमा हाम्रा कला र संकृति जव सम्म जिवित रहन्छ तव माात्र हामी र हाम्रो समाजको अष्तित्व रहिरहने छ ।
लेखक सामाजिक अभियान्ता एवम् मगर संघ म्याग्दीका सचिव हुन् ।