---Advertisement---

यसरी सम्भव छ- देशको समुचित विकास

On: November 20, 2017 9:34 AM
Follow Us:
  • कृष्ण पौडेल

नेपाल विश्वका स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा दीर्घ इतिहास भएका केही सिमित मुलुकहरु मध्येमा पर्दछ । तर यसको आधुनिकता तर्फ पदार्पणको यात्रा भने त्यति लामो छैन । राणा शासनको अन्त्य संगै नयाँ युगमा प्रवेश गरेको नेपाली समाजको संक्रमणकालिन प्रक्रिया अद्यापि जारी छ ।

राजनैतिक, आर्थिक तथा सांस्कृतिक आयामहरुमा सापेक्षिक प्रयाप्त परिवर्तन हुन नसक्दा नेपालले अल्प विकसित भन्ने हैसियतको पगरी मिल्काउन सकेको छैन । अझै पनि देश चलाउने प्रबुद्ध वर्गले समाजको वास्तविक समस्याहरुको निदान र विकासको यथोचित रणनीति निर्कौल गरेको महशुस हुन सकेको छैन । यसकारण पनि नेपाली समाजको दिगो तथा सार्थक समुन्नतिको मार्ग चित्र तयार पार्न नीति निर्माता देखि नागरिक स्तरसम , स्वदेश देखि परदेश सम्मका नेपालीहरु बिच चिन्तन मन्थनको लहर सृजना हुन जरुरी देखिन्छ ।

समाजिक परिवर्तनलाई योजनाबद्ध प्रयासबाट तिब्र बनाउनको लागि त्यस प्रक्रियाका नियम र आयामहरुको अध्ययन विश्लेषण गर्नु पर्ने हुन्छ । मुलधारका अर्थशास्त्रका शस्त्रिय तथा नवशास्त्रिय मान्यताहरुले विकासशिल राष्ट्रको विकासमा प्रयाप्त मार्गदर्शन गर्न नसकेको कारण विसौ सताब्दिको उत्ररार्ध तिर विकास अर्थशास्त्रको प्रादुर्भाव भएको थियो । आर्थिक विकासमा गैर आर्थिक पक्षहरुको समेत निर्णायक भूमिका रहने मान्यताहरु विकासशास्त्रहरुमा स्थापित भएका छन ।

साइमन कुजनेटले प्रविधि, संस्थागत विकास अवस्था , सामाजिक चेतना एवम ज्ञानको अभिवृद्धिलाई विकासको प्रमुख अन्तर्वस्तु मानेका छन । उत्पादन तथा उत्पाकत्वमा वृद्धि, समाजको आर्थिक संरचनागत परिवर्तन , संस्थागत उत्थान, सामाजिक संस्कार तथा आम मनोविज्ञानमा परिवर्तन, यातयात तथा संचारमा अत्याधुनिक प्रविधिको प्रयोग तथा राज्यको विकास कार्य सम्पादन क्षमतामा अभिवृद्धिलाई आधुनिक विकासको आधारभूत अन्तर्वस्तु मानिएको छ ।

प्रसिद्ध अर्थशास्त्री सुम्पिटरले सामाजिक तथा प्राविधिक उन्नयन एवम उद्यमशिलता आर्थिक परिवर्तनको लागि इन्जिन मान्दछन । उनका अनुसार अल्पविकसित मुलुकहरुले छिटो विकासको निम्ति विकसित मुलकहरुबाट ज्ञान तथा प्रविधिहरुको अधिकतम रुपमा आत्मसात गर्न सक्नु पर्दछ । त्यो आत्मसात गर्न सक्ने सामाजिक क्षमतामा अभिवृद्धि हुनु पर्दछ । सामाजिक क्षमता संस्थागत विकास तथा मानवीय संशाधनको विकासमा निर्भर गर्दछ ।

कार्लमाक्र्सले उत्पादक शक्तिको विकास नै आर्थिक सामाजिक विकासको रहस्य बताएका छन । उनका अनुसार उत्पादक शक्तिको विकास गतिमा उत्पादन सम्बन्ध र समाजको उपरि संरचना ः साँस्कृतिक तथा राजनैतिक अवस्थाले प्रभाव पार्दछ। खास देशको आर्थिक विकासक्रमलाई प्रभाव पार्ने अन्य महत्वपूर्ण पक्षहरुमा बिश्व स्तरमा सामाजिक आर्थिक सम्पर्क सम्बन्ध, विशेष गरेर विकासमा अग्रपंक्तिका केन्द्रसंगको सामिप्यता , छिमेकी देशहरुको विकास स्तर, भौगोलिक अवस्थिति एवम प्राकृतिक सम्पदाको भण्डार अवस्था इत्यादि रहेका छन ।

उल्लेखित सैद्धान्तिक प्रस्तावनाहरुको आधारमा संस्थागत विकास , मानवीय संशाधन , ज्ञान तथा प्रविधि, भौतिक संरचनाहरु , कृषिको आधुनिकिकरण , स्थानीय तथा आधारभूत तहको सशक्तिकरण एवम बाह्य सम्बन्ध अदि नेपाल जस्ता अतिकम विकसित मुलुकहरुको विकासका प्रमुख अधारहरु मान्न सकिन्छ।

समाजको संस्थागत परिवर्तन अन्तर्गत विकास अनुकुल राजनैतिक प्रणली तथा राज्य संरचनामा आधुनिकिकरण, सार्वजनिक निकायहरुको शसक्तिकरण, स्थानीय तह सम्म संस्थागत विकास तथा सशक्तिकरण, सामाजिक तथा व्यवशायिक संस्था वा संजालहरुको बिस्तार आदि पर्दछ । साथै कानुनी तथा नीतिगत सुधार , सामाजिक तथा सास्कृतिक मूल्य मान्यता एवम आम मनोविज्ञानमा परिवर्तन समेत संस्थागत परिवर्तन मानिएको छ । यहाँ संस्था भन्नाले समाजको औपचारिक तथा अनौपचारिक संजाल संयन्त्रहरु, लिखित तथा अलिखित नियमहरु, सामाजिक मूल्य, मान्यता,आस्था विश्वास तथा जीवन पद्धति सहितलाई मानिन्छ , जसले आर्थिक गतिविधिहरुलाई प्रत्यक्ष अप्रत्यक्ष र्निर्दष्ट गरेका हुन्छन ।

मानिस विकासको साध्य र साधन दुवै हो । मानवीय संशाधन विकासले विकासमा अन्य साधनहरुको कमीलाई समेत प्रतिस्थापित गर्न सक्दछ । मुलत शिक्षा प्रणालीको आधुनीकिरण गर्दै माध्यमिक तहसम्म ठूलो अनुपातमा प्राविधिक तथा व्यवशायिक शिक्षाको व्यवस्था, पेशागत तालिमको उपलब्धताले मानवीय संशाधनको विकासमा यथोचित योगदान पुग्दछ । राष्ट्रको विकास रणनीति बमोजिम विभिन्न किसिमको जनशक्ति उत्पादन हुने किसिमले आधारभूत देखि उच्च शिक्षाको व्यवस्था हुनु पर्दछ । देशको जनशक्तिले विश्वमा विकास भएका पछिल्ला विज्ञान तथा प्रविधिलाई जान्न र प्रयोग गर्न सक्नु पर्दछ । साथै पराम्परागत आन्तरिक प्रविधिको सुधार गर्नुका साथै विदेशी ज्ञान तथा प्रविधिलाइ आफ्नो परिवश परिस्थिति अनुसार परिमार्जन गर्नु पर्ने हुन्छ ।

प्राविधि भनेको केबल भौतिक उपकरण मेशिनहरुमा मात्र निहित हुदैन । त्यो ज्ञान, शिपमा समेत अन्तनिहित रहन्छ । आन्तरिक रुपमा ज्ञान र प्रविधिको विकासको लागि खोज अनुसन्धानमा सार्वजनिक तथा नीजि क्षेत्रको लगानी हुनु पर्दछ । बिश्व विद्यालयहरुलाई अनुसन्धान मुलक बनाइनु पर्दछ । साथै अन्य अनुसन्धान केन्द्र एवम प्रयोगशालाहरुको स्थापना हुनु पर्दछ। ज्ञान प्रविधिको विकास देशकोऔद्योगिक तथा व्यवसायिक आवश्यकतासंग अन्तर्सम्बन्धित हुनु पर्दछ ।

पिछडिएको देश समाज विकसित हुन समाजको आर्थिक संरचनागत परिवर्तन हुन आवश्यक छ । विकसित मुलुकहरुको आर्थिक संरचनामा कुल ग्राहस्थ्य उत्पादन स्रोत तथा पेशागत संलग्नताको दृष्टिले गैरकृषि क्षेत्रको अत्यधिक बाहुल्यता रहन्छ भने अल्पविकसित देशमा त्यसको विपरित कृषिको बाहुल्यता हुन्छ । कृषि क्षेत्र पनि परम्परागत ,निर्वाहमुखी र न्युन उत्पादकत्व भएको हुन्छ । कृषिमा आधुनिकिकरणको साथै गैरकृषि क्षेत्रको विस्तार गर्दै संरचनागत स्थानान्तरण प्रक्रियालाई तिव्र पार्नु पर्ने हुन्छ। यातायात, संचार , उर्जा तथा सिंचाइ विकास विस्तार विना आर्थिक विकासको कल्पना गर्न सकिदैन । अर्थिक विकासले फडको मार्न युगान्तकारी महत्वका मेघा संरचनाहरु निर्माण हुनु पर्दछ । त्यसको निम्ति आन्तरिक साधन स्रोत तथा दक्षता प्रयोग एवम विकास गर्नुको साथै बाह्य लगानी तथा क्षमताको उपयोग गर्न कन्जुसाई गर्नु हुदैन ।

वर्तमान समय विश्वव्यापिकरण, उदारिकरणको युग हो । विश्व व्यापिकरण , उदारिकरण तथा लोकतान्त्रिकरण हावा चलेको परिस्थितिमा त्यसको विपरित दिशा तिर कदम बढाउन संभव छैन नत लुक्न छिप्न सकिन्छ । यसको सामना र सदुपयोग गर्नुको सहज विकल्प देखिदैन । त्यसैले सकेसम्म धेरै अन्तर्रा्ष्ट्रिय लगानी आकर्षित गर्ने होडबाजी चलेको छ विकासोन्मुख मुलुकहरुको । नेपाल पनि यस दौडमा खरो उत्रन सक्नु पर्दछ । निकट छिमेकी देशहरुको विकास अवस्था तथा आर्थिक नीतिका प्रत्यक्ष प्रभाव पर्ने हुँदा आफ्नो विकास नीति तय गर्दा त्यसलाई ध्यान दिनु पर्दछ । पारस्परिक परिस्थिति र स्वार्थबाट निसृत चुनौति र अवसरसंग कुशलता पूर्वक खेल्नु पर्दछ ।

वर्तमान नेपालको परिप्रेक्षमा राजनैतिक खुल्लापन, केहि हद सम्मको शिक्षा तथा चेतना विकास , सुचना तथा संचारमा पहुच, अध्ययन तथा रोजगारको सिलसिलामा विकसित मुलुकहरुको समेत प्रवास अनुभवले मानवीय तथा सामाजिक पँुजीको निर्माण भएको छ। मुुलुकको विकासमा योगदान गर्ने तत्परता पनि देखिन थालेको छ । ठूलो मात्रामा स्वदेशी तथा विदेशी उद्यमी व्यवशायीहरु थप अनुकुल परिस्थितिको प्रतिक्षा छन भने लगानी क्षेत्र र व्यवस्थापनको अभावले ठूलो आन्तरिक पूँजी निष्किृय बसेको स्थिति छ । नागरिकहरुको स्वत स्फुर्त पहलकदमी भएका व्यवशायिक तथा सामाजिक प्रयासहरुले समेत उल्लेखनीय उपलब्धिहरु हासिल भएका छन । राज्यको आर्थिक सम्पादन कार्यक्षमता अभिवृद्धि एव राजनैतिक शक्तिहरुका आर्थिक विकासको लागि बाधक होइन साधक प्रवृत्ति बहाल हुन सक्यो र सामाजिक रुपमा उद्यमशिल संस्कृतिलाई प्रोत्साहन हुन सक्यो भने छिटै आर्थिक विकासले फड्को मार्न संभव छ ।