नेपाली हेल्थ
मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । रक्तचापलाई ‘मिलिमिटर अफ मर्करी’मा नापिन्छ । माथिको रक्तचापलाई ‘सिस्टोलिक’ र तलको रक्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ ।
‘सिस्टोलिक’ र ‘डायस्टोलिक’ दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप १२०/ ८० भन्दा कम हुनपर्छ । उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ ।
माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई ‘प्रि-हाइपरटेन्सन’ भनिन्छ । यो उच्च रक्तचाप हुनु भन्दा अगाडिको अवस्था हो ।
‘प्रि-हाइपरटेन्सन’ अवस्थामा रहेको व्यक्तिलाई सामान्य रक्तचाप भएको व्यक्ति भन्दा उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । त्यसैले यस अवस्थामा जीवनशैलीमा आवश्यक परिवर्तन गरेर भविष्यमा उच्च रक्तचाप हुनबाट आफूलाई बचाउन सकिन्छ ।
लो ब्लड प्रेशर : एउटा गलत धारणा
सामान्य रक्तचाप १२० / ८० भन्दा कम हुनुपर्छ । कहिलेकाही सामान्य मानिसको रक्तचाप माथिको ९०-११० र तलको ६०–७० सम्म पनि हुनसक्छ ।
सामान्य रुपले आफ्नो दैनिक कामकाज गर्नसक्ने व्यक्तिको रक्तचाप कम हुनु राम्रो मानिन्छ । रक्तचाप कम भएमा अनावश्यक पीर लिनु हुदैन । रक्तचाप जति कम छ, भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै कम हुन्छ ।
जसको रक्तचाप १४०/ ९० को जति नजिक हुन्छ, उसलाई भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै धेरै हुन्छ । यस्ता मानिसलाई उच्च रक्तचाप मात्रै होइन, अन्य मुटु र रक्तनली सम्बन्धी रोगहरुको सम्भावना पनि बढी नै हुन्छ । अर्थात रक्तचाप कम हुनु राम्रो हो (Lower is better) ।
साच्चिकै लो ब्लड प्रेशर भएको मानिसको अवस्था त सिकिस्त हुन्छ । यस्ता बिरामीलाई अस्पतालको सधन कक्षमा राखेर उपचार गरिन्छ । त्यसैले रक्तचाप कम भएर तपाईको क्रियाकलापमा असर परेको छैन भने, यसलाई सामान्य मान्नुपर्छ र अनावश्यक चिन्ता गर्नु पर्दैन ।
साच्चिकै कसैलाई लो ब्लड प्रेशर छ भने, केही बेर सुतेर वा बसेर अचानक उभिदा टाउको हलुको हुने वा रिंगटा लाग्ने हुनसक्छ । यसलाई ‘पोस्चुरल हाइपोटेन्सन’ भनिन्छ । यो समस्या मधुमेह रोगी र रक्तचापको औषधी खाइरहेको व्यक्तिमा बढी हुन्छ । बृद्धहरुमा पनि यो समस्या बढी देखिन्छ । यस्तो भएमा औषधि वा यसको मात्रा परिवर्तन गर्नुपर्ने हुनसक्छ ।
रक्तचाप नियन्त्रण गर्न ध्यान दिनुपर्ने पाँच प्रमुख कुरा
उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकोले, आफ्नो जीवनशैलीमा परिवर्तन गरेर नै रक्तचापको नियन्त्रण गर्न खोज्नुपर्छ ।
त्यसमध्ये पनि चुरोटको प्रयोग पूर्णरुपले बन्दगर्नु सबभन्दा राम्रो उपाय हो । यसको अतिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक गतिविधि गर्ने र नुनिलो खानेकुराहरुको सकेसम्म कम प्रयोग गर्ने जस्ता उपायहरु अपनाउनु पर्छ ।
जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाह अनुसार औषधि नियमित रुपले खानु र समय समयमा आवश्यक जाँच गर्नु नै रक्तचाप नियन्त्रणको मुल सुत्र हो ।
१. नियमित शारीरिक गतिविधि
२. तौल घटाउने
३. नुन कम खाने
४. चुरोट पूर्णरुपले बन्द गर्ने
५. नियमित औषधिको प्रयोग गर्ने
उच्च रक्तचापलाई नियन्त्रणमा राख्न वा हुन नदिन के के गर्नुपर्छ ?
सर्वप्रथम उच्च रक्तचापको कारण छ कि छैन पत्ता लगाउनु पर्छ र सो कारणलई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु (Risk Factors) उत्पन्न हुनबाट रोक्नुपर्छ । यसको लगि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ
अन्य उपायहरुः
१.पोटासियम युक्त खाना धेरै खानुपर्छः पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ ।
साइट्रस (Fruits) जस्तैः सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ ।
केरा र अन्य ताजा फलपूलमा पनि पोटासियम बढी पाइन्छ । ताजा फलपूल नियमित खानुपर्छः ताजा Fruits मा पाइने भिटामिन, मिनेरल्स् र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउछ ।
२.प्रशस्त हरियो सागसब्जी खानुपर्छः प्रतिदिन नियमित २,३ चोटी हरियो सागसब्जी खानुपर्छ ।
३. माछाको प्रयोग फाइदाजनक मानिन्छः हप्तामा २ चोटी माछा खाँदा राम्रो हुन्छ ।