१५ वर्षभन्दा माथिका महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुन्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष करिब दुई हजार पाँच सय महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्छ जसमध्ये करिब एक हजार चार सयको मृत्यु हुने गर्दछ ।

क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढ्दो छ । भाइरसको संक्रमणलाई प्रि क्यान्सर भनिन्छ । यो भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ। समयमै संक्रमण पत्ता लगाउन नसके ८÷१० वर्षपछि यो क्यान्सरमा परिणत हुन्छ । संक्रमण भए नभएको प्याप स्मेयर टेस्ट गरेर पत्ता लगाउन सकिन्छ । प्याप स्मेयर टेस्टलाई पाठेघरको मुखको पानीको जाँच अर्थात् गर्भाशय स्राव परीक्षण भनिन्छ ।

यो एउटा सजिलो जाँच विधि हो । यो जाँच गराउँदा महिलालाई धेरै झन्झट र दुःख हुँदैन । प्याप स्मेयर टेस्ट गर्दा स्त्रीरोग विशेषज्ञले पाठेघरको मुखबाट कोष निकालेर एउटा सिसामा फैलाएर प्याथोलोजिस्ट कहाँ पठाउँछन्। प्याथोलोजिस्टले माइक्रोस्कोपमा ती कोषहरुलाई हेरेपछि त्यसमा संक्रमण रहेको वा क्यान्सर नै रहेको भन्ने पत्ता लाग्छ । २१ देखि ६५ वर्ष उमेरका महिलाले यसको परीक्षण गराउनुपर्छ। यो परीक्षण पहिला ६ महिनाको फरकमा तीनपटक गर्नुपर्छ ।

तीनैपटक परीक्षणमा नेगेटिभ देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्छ। यसमा पनि नेगेटिभ देखिएमा ३ वर्षपछि परीक्षण गराउनुपर्छ। यसमा पनि नेगेटिभ देखिएमा ५ वर्षपछि परीक्षण गर्नुपर्छ। यसको प्रक्रिया लामो भएकाले बीचमा परीक्षण गर्न छाड्ने गरेको पाइन्छ तर परीक्षण गर्न छाड्नु हुँदैन।

यदि कुनै महिलाको पूरै पाठेघरको शल्यक्रिया गरेको छ भने उनीहरुले यो जाँच गराउनु पर्दैन। गर्भवती भएको बेलामा पनि यो जाँच गर्न मिल्छ। यो टेस्ट ५ देखि १५ मिनेटमा गर्न सकिन्छ। प्याप स्मेयर गर्दा दुई दिनअगाडि देखि यौन सम्पर्क गर्नु हुँदैन। साथै, यो परीक्षण महिनावारी भएको बेला गर्न मिल्दैन।

यो परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुँदैन।सरकारले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा प्याप स्मेयर टेस्ट निःशुल्क उपलब्ध गराउदै आएको छ ।