नेपाली आधुनिक गीत–सङ्गीतमा प्रत्तद गायनदेखि आजको डिजिटल युगसम्ममा हजारौं गायक–गायिका एवम् सङ्गीतकारले आफ्नो जीवन व्यतित गरिसकेका छन् । छिमेकी देश भारतको गीत–सङ्गीतले हाम्रो सङ्गीतलाई प्रभाव पारेको देखिए तापनि हाम्रो गीत–सङ्गीतको आफ्नै अस्तित्व र फरक पहिचान रही आएको छ ।

नेपाली गीत–सङ्गीतको लामो समयको अन्तराल सँगसँगै निकै मीठा र सशक्त स्वरका धनी गायक–गायिका र सङ्गीतकार यस क्षेत्रले पाएको छ । अहिले पनि यो क्षेत्रमा धेरैले आफ्ना क्रियशनहरु प्रस्तुत गरिरहनुभएको छ । सुगम सङ्गीतमा पछिल्लो समय आफ्नो अलग्गै पहिचान बनाएका सङ्गीतकारमा आउने नाम हो– दीपक शर्मा । उनले सुगम सङ्गीतमा मात्र नभएर चलचित्र सङ्गीतमा पनि आफूलाई अग्रपङ्तिमा उभ्याएका छन् ।

कँहु–५, म्याग्दीमा बुबा हरिलाल जैसी र माता गौमती जैसीको कोखबाट वि.सं. २०४२ साल भदौ २१मा जन्मिएका उनी वि.स. २०६० बाट यस क्षेत्रमा होमिएका हुन् । काठमाडौं आएपछि राम सिटौला, भोला राई, गुरूदेव कामद, प्रेमचन्द्र भोकैया, राजकुमार मालाकार, किशोर गुरूङलगायतका गुरूहरुबाट शास्त्रीय, तबला, गितार, पाश्चात्य सङ्गीतको आधिकारिक शिक्षा लिएका उनको पहिलो सङ्गीत ‘ढल्के पीपल’ लोकगीतमा रहेको थियो ।

आजसम्म आउँदा करिब पाँच सयको हाराहारीका गीतमा सङ्गीत भरेका उनले चलचित्र तेजाव, तहल्का डट कम, धमाका, सम्झिराख है, दबाव, बर्बाद, अप्रिल फूल, लभ यु बाबा, हवल्दार सुन्तली, ब्रास्लेट, किस्मत–२, छक्का–पञ्जा, मंगलमलगायतकामा सङ्गीत भरेका छन् । त्यस्तै, मूल्य, गन्तव्य, उषाकिरण, बेकसुर, सारांश, नतन–२, उकाली–ओरालीलगायतका एल्बममा सङ्गीत दिएका छन् ।

– गीता अधिकारी

केहीसम्म आधुनिक सङ्गीतमा आफूलाई व्यस्त बनाएका उनी चलचित्रका गीतमा सङ्गीत भर्न थालेपछि थप चर्चामा आउन थालेका हुन् । चलचित्र सम्झिराख हैको ‘आँधी खोला उर्लिएर…’, हवल्दार सुन्तलीको ‘तिम्रा डोला डोला हातमा…’, किस्मत–२को ‘तिम्रो पिक्चर हिट…’, छक्का–पञ्जाको ‘देख न चम्पा…’, मंगलमको ‘पर्ख पर्ख मायालु…’ लगायतका गीत हिट भएपछि उनको कार्यले सर्वत्र तारिफ पायो ।

त्यस्तै, उनका एल्बममा रहेका गीतमा ‘मलाई आफ्नो बनाएर’ अञ्जु पन्त, ‘रूँदै हुन्छ्यौ जहिले पनि’ अञ्जु पन्त, ‘जिन्दगीको सवाल हुन्छ’ स्वरुपराज आचार्य, ‘तिमी त मेरै प्राण हौ’ माण्डवी त्रिपाठी, ‘छुट्टिएर तिमीसँग’ प्रमोद खरेल, ‘सबैले मलाई घृणा गरे पनि’ शिव परियारलगायतका गायक–गायिकाले गाएका थुप्रै गीत दर्शक÷स्रोताको सर्वाधिक रोजाइमा पर्न सफल भएका छन् ।

म्याग्दीमा जन्मिएर साङ्गीतिक लक्ष्यको पछि लागेर काठमाडौं आइपुगेका उनका कर्मले प्रशंसासँगै थुप्रै अवार्ड र सम्मान चुम्न सफल भएका छन् । दीपक डी सिने अवार्ड २०६९मा सर्वोत्कृष्ट चलचित्र सङ्गीतकारबाट सम्मानित भएका थिए । यस्तै, म्युजिक खबर म्युजिक अवार्ड–२०७४मा सर्वोत्कृष्ट पप सङ्गीतकारबाट सम्मानित, म्याग्दी जेसीसबाट २०७१मा उत्कृष्ट युवा पुरस्कार तथा सम्मान, रापती म्युजिक अवार्ड २०७४मा सर्वोत्कृष्ट चलचित्र सङ्गीतकारबाट सम्मानित, म्युजिक खबर म्युजिक अवार्ड–२०७४मा सर्वोत्कृष्ट चलचित्र सङ्गीतकारबाट सम्मानित, डी सीने अवार्ड–२०७४मा सर्वोत्कृष्ट चलचित्र सङ्गीतकारबाट सम्मानित, कालिका एफएम अवार्डबाट २०७४मा सर्वोत्कृष्ट चलचित्र सङ्गीतकारबाट सम्मानित भएका छन् । विश्वकै कान्छो निर्देशकले निर्देशन गरेको चलचित्र ‘लभ यु बाबा’बाट चलचित्र सङ्गीतकारको रुपमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र पनि हात पार्न सफल भएका दीपक अन्य विभिन्न एफएम रेडियो र सङ्घ–संस्थाबाट पुरस्कृत साथै सम्मानित भएका छन् ।

‘मैले गीतको मर्मअनुसार आफ्नैपनको सङ्गीत दिने कोशिस गर्छु हरेक गीतमा, त्यसैले मेरा गीत स्रोताले अलिक बढी मन पराइदिनुभएको हुनुपर्छ,’ उनले सुनाए । मलाई आफ्नो बनाएर बोलको गीतबाट सुगम सङ्गीतमा उदाएका दीपकले थुप्रै कलेक्सन एल्बममा सङ्गीत दिए । ‘ती गीत हिट पनि भए तर कलेक्सन एल्बममा भएर होला सङ्गीतकारको नाम भने ओझेलमै प¥यो,’ उनी गुनासो गर्छन् । ‘फेरि पनि ती गीतले चर्चा पाए, मलाई योभन्दा खुसी के हुन सक्छ र ?’ उनले भने ।
सङ्गीतका अलवा उनी गीतसमेत कोर्ने गर्छन् । ‘रूवाएर गयौ तिमी…’ बोलको गीत उनकै शब्द तथा सङ्गीतमा बनेको हो । कौशिला रानाको एल्बम अनमोल–१ मा रहेको यो गीतले व्यावसायिक सफलतामात्र प्राप्त गरेन, गायिकालाई पनि सङ्गीतप्रेमीमाझ चिनायो । आफ्नो पूरै जिन्दगी साङ्गीतिक क्षेत्रबाहेक अन्यत्र नसोचेको बताउने दीपक ‘मेरो जीवन यसैमा प्रण गरेको छु’ भन्छन् ।

केही गायक–गायिकाका एल्बमका गीत र चारवटा चलचित्रमा व्यस्त रहेका दीपक सङ्गीत प्रशिक्षकका रुपमा पनि कार्यरत छन् । हार्मोनियम र गितार बजाउन सिपालु दीपकले म्युजिकमा डिप्लोमा गरेका छन् । नेपालीपन र स्रोताको मन जित्न सक्ने सङ्गीत सिर्जनामा नै मेरो हरेक पल ध्यान रहन्छ भन्ने दीपकले आउँदा दिनहरुमा नेपाली साङ्गीतिक फाँटमा अझ बढी सिर्जनाहरु पस्कने आशा गर्न सकिन्छ । दीपक सस्तो लोकप्रियताभन्दा कालजयी गीत–सङ्गीतको सिर्जना गरी नेपाली सङ्गीतका प्यासीहरुको अतृप्त तिर्सना पूरा गर्नेतर्फ अग्रसर होऊन्, शुभकामना । milapnews.com