–चन्द्रप्रकाश बानियाँ

“एकदिन नारद सत्यलोक पुगिगया, लोकको गरौं हित भनी……” ! भानुभक्तीय रामायणको कथारम्भ यसरी नै भएको छ । कुरौटे ऋषिको रुपमा परिचय बनाएका देवर्षि नारदसँग सम्बन्धित अनेकौं प्रसंगहरु हिन्दू धर्मग्रन्थहरुमा भेटिन्छन् । विणा हातमा लिएर हरिनाम कीर्तन गर्दै तीनै लोकको विचरण गर्ने देवर्षि नारद ठूला योगी थिए, सिंगो चराचर जगतको हितकल्याणमा समर्पित महात्मा थिए भनिन्छ । त्यसैले होला उनले हरदम तीनै लोकको सुक्ष्मतम जानकारी राख्थे । देवता र मानिसको मात्र होइन दानवहरु समेत सबैको अत्तो, गाह्रो, अप्ठेरोमा यथाशक्ति सहयोग पु¥याउनु आफ्नो धर्म सम्झन्थे । नारदको आफ्नो परिवार थिएन, निजी धनसम्पत्ति पनि थिएन ।

स्थायी घर ठेगाना पनि थिएन । उनी नितान्त घुमन्ते फकिर थिए । सिंगो त्रिभूवन उनको घर थियो । दानव मानव सबै उनका इष्टमित्र आफन्त थिए । उनको सबैमा समान प्रेमभाव थियो । कसैसँग कुनै रिसराग थिएन, द्वेषभाव थिएन । उनको अभीष्ट केवल लोककल्याण थियो । उनी सदासर्वदा लोकहितमा समर्पित रहन्थे । लोकचिन्तनमा निमग्न रहन्थे । र डा. पाण्डुरङ्ग वामनकाँडेको भनाई अनुसार उनी नेपालमा जन्मेका थिए रे !

होला, देवर्षि नारद लोभपापविहीन महात्मा हुँदा हुन् । तर यौटा सत्य कुरा के हो भने पूर्णरुपमा स्वार्थविहीन मान्छे हुँदै हुदैन । स्वार्थविहीनता देवत्वको गुण हो । मान्छे हुनलाई त स्वार्थरुपी गुण(तत्व) अनिवार्य हुन्छ । स्वार्थ अनेक किसिमका हुन्छन् । धनको लोभ नभएर के भो र ? भौतिक सुखसुविधाको चिन्ता नगरेर के भो र ? इष्टमित्र आफन्तप्रति अनासक्त भएर के भो र ?! जति नै ठूलो त्यागी योगी महात्मा किन नहोउन्, उनको साधनाको अन्तर्यमा इश्वरप्राप्तिको लोभ रहन्छ, मुक्तिको लोभ रहन्छ, परब्रह्मको सायुज्यप्राप्तिको लक्ष अन्तर्निहीत रहन्छ ।

ब्रह्मानन्दप्रतिको आशक्ति रहन्छ । परमार्थको लोभविना कुनै साधुमहात्मा इश्वरसाधनामा लाग्दैन । ज्ञानी महात्माहरुको हरेक चेष्टाको अन्तिम लक्ष मरेपछि प्राप्त हुने सुखलाभको हो, सर्वोत्तम आनन्दमय ब्रह्मत्व हो । त्यसैले ठूला ठूला योगी महात्माहरु लोभमोहविहीन हुन्छन् भन्ने कुरा विलकुल झुटो हो, फरेव मात्र हो । योगी महात्माहरुलाई सांसारिक सुखभोगबाट विरक्त बनाउने एकमात्र कारकतत्व मरेपछि सुख प्राप्तगर्ने आकांक्षा नै हो ।

परमार्थको लोभलाई लोभ होइन भन्न मिल्दैन । परमार्थ सपार्ने लोभ पनि आखिर लोभै त हो । वास्तवमा योगी महात्माहरु आत्मकेन्द्र्रिंत हुन्छन्, स्वार्थी हुन्छन् । आफू एक्लैले मरेपछि सुखभोग गर्न पाउने लोभमा परिवार, इष्टमित्र, आफन्त र सिंगो मानवसमुदायको परित्याग गर्छन् । समाजबाट अलग हुन्छन । सबै कुरा छोडेर आफ्नो मात्र चिन्ता गर्नु कसरी निस्वार्थ त्याग मानिन सक्छ र ?

बरु कम्युनिष्टहरु लोभानी पापानीबाट मुक्त हुन्छन् । हुनै पर्छ । त्यसो गर्न नसक्ने हो भने कम्युनिष्ट भनाउनुको कुनै अर्थ रहँदैन । लालफिताको फेटा बाँधेकै भरमा कोही कम्युनिष्ट हुँदैन । हँसिया हथौडायुक्त झण्डा बोकेकै भरमा कोही कम्युनिष्ट भनाउन लायक बनिहाल्दैन । कम्युनिष्ट दर्शन खार्दैमा कोही कम्युनिष्ट बन्ने भए नेपाली काँग्रेसका विद्वान नेता प्रदिप गिरी नेपालकै एकनम्बरका कम्युनिष्ट बन्दा हुन् ।

लोभ, मोह, तेरो, मेरो, उच, नीच जस्ता तुच्छ चिन्तनबाट माथि नउठ्दासम्म कोही साँचो कम्युनिष्ट बन्न सक्तैन । योगी महात्माहरुले झै केवल आफ्ना लागि मात्र सोच्ने मान्छे कम्युनिष्ट हुनै सक्तैन । सबै खालको विभेद, शोषण र अन्यायबाट सिंगो मानव समुदायलाई मुक्त गर्नु कम्युनिष्टहरुको एकमात्र लक्ष मानिन्छ ।

आफ्ना निजी आकांक्षाहरु परित्याग गरेर देश, समाज र सिंगो मानवजातिको हितकल्याणमा समर्पित हुनु नै वास्तवमा कम्युनिष्ट धर्म हो । कम्युनिष्ट दर्शनले आफू, आफ्नो परिवार, म र मेरो भन्ने भावनाबाट माथि उठेर हामी र हाम्रो भन्न सिकाउँछ । यो तथ्य बिर्सने मान्छे कम्युनिष्ट हुन सक्तैैन । वास्तवमा कम्युनिष्ट बन्नु भनेको योगी महात्माहरुभन्दा पनि माथि उठ्नु हो । निजी सुख सुविधा र स्वार्थ परित्याग गरेर सिंगो समाजको हितकल्याणमा समर्पित हुनु नै यथार्थमा कम्युनिष्ट दर्शनबाट दिक्षित बन्नु हो । प्रसंग हो, पहिलो संविधानसभाको निर्वाचनको पूर्ववेलाको !

प्रचारप्रसारको उपक्रम स्वभावतः उच्चतम विन्दुमा थियो । राजनीतिक दलहरुले मात्र होइन, व्यक्ति व्यक्ति पनि आ आफ्नो डम्फू बजाउनमा तल्लिन थिए । दैवसंयोग एकजना धुरन्धर काँग्रेसी बन्धुसँग वेनीस्थित पिपलचोकमा जम्का भेट भयो । निर्वाचन सन्निकट मौसम, स्वभावतः पार्टी राजनीतिको कुरा हुने नै भो । निर्वाचन कुन पार्टीले हार्ला वा जित्ला भन्ने आ–आफ्ना अनुमानहरु सुनाइयो । हाम्रा अनुमान र तर्कहरु पूर्णरुपमा निष्पक्ष थिए भनेर दावी गर्नु अलि बढ्तै होला ।

निर्वाचनले समाजमा कित्ता छुट्टयाइदिन्छ । जति जति निर्वाचनको मिति नजिकिदै जान्छ त्यति त्यति मानिसहरुको कित्तावन्दी पनि गोलिदै जान्छ । निर्वाचनको मौसमले सायद हामी दुई बीच पनि स्वाभाविक दूरत्व सिर्जना भैसकेको हुँदो हो र त कुन उमेदवारले निर्वाचन जित्दा जिल्लाको हित हुन्छ वा कुन पार्टीले निर्वाचन जित्नु मुलुकको हितमा छ भन्ने बहस हामीबीच हुन सकेन । यो क्षणमा आइपुग्दा त्यति माथि उठेर सोच्न गाह्रो पर्दाे रहेछ । सायद त्यसरी सोच्नुको पनि कुनै अर्थ रहँदैन होला ।

अजयमिलन सर ! वर्ग र बौद्धिकताले मेरा मित्र खाँटटी कम्युनिष्ट हुनुपर्ने मान्छे हुनुहुन्थ्यो । तर मित्र भनेँ जन्मजात काँग्रेस हुनुहुन्थ्यो । उहाँलाई विचारले होइन, जन्म र संगतले काँग्रेसी कित्तामा उभ्याएको थियो । कुरै कुरामा “अजयजीलाई काँग्रेस भएको किन हो कुन्नी कत्ति पनि नसुहाएजस्तो लाग्छ” भन्ने मेरो परिहासपूर्ण कुत्कुत्याईको प्रत्युत्तरमा प्राप्त प्रतिक्रिया वीचारणीय थियो र विचारोत्तेजक पनि थियो ।

“कम्युनिष्ट नामका दर्जनौ चुलो चौका छुट्टयाउनुको के अर्थ छ र ? साँचो कम्युनिष्ट दर्शनबाट निर्देशित हुने हो र कुनै खालको व्यक्तिगत स्वार्थ नराख्ने हो भने एउटै झण्डा र नामका अनेकौैं पार्टीहरु किन आवश्यक पर्छन् र ? अरुको कुरा नगरौं, एमाले र एकीकृत माओवादीबीच पार्टी एकीकरण हुने हो भने नेपाली काँग्रेस त्यागेर कम्युनिष्ट पार्टीको सदश्यता लिने म पहिलो व्यक्ति बन्नेछु ।” यस्तै भावको अभिव्यक्ति पिपलको रुखमुनि उभिएर अजयसरले दिनुभएथ्यो । तत्काल प्रतिक्रिया दिइरहनुको कुनै अर्थ थियो जस्तो लागेन ।

त्यति गम्भीर विषयमा चौबाटोमा उभिएर बहस, छलफल गरेर टुङ्गोमा पुग्न सकिने कुरा हुँदैन । साँचै अजयमिलनसर कम्युनिष्ट बन्न सक्नु हुन्छ कि हुँदैन भनेर त मैले अनुमान पनि गर्न सक्तिन तर सरको अभिव्यक्तिले मलाई आजसम्म पनि पछ्याइरहेको छ, झकझक्याई रहेको छ भन्दा फरक पर्दैन । र यतिखेर एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको छ र पार्टी एकीकरणको हल्ला पनि चलेको छ । मित्रसँग तत्काल देखभेट हुने सम्भावना क्षीण छ । हामीबीच जीवित सम्पर्क रहेको स्थिति पनि छैन । त्यसैले होला मेरो मनमा अजयजी यतिबेला के सोच्दै हुनुहुन्छ होला भन्ने जिज्ञासा पन्पिन थालेको छ !

चुनावीप्रयोजनका लागि भएको एमाले माके बीचको तालमेल निर्वाचनपछि, साँचै पार्टी एकीकरणमा रुपान्तरण भैहाल्यो भने अजय सरको उतिबेलाको वचन गला लाग्ला कि नलाग्ला कुन्नी ? मलाई अजयसर कहिल्यै कम्युनिष्ट हुनसक्नु हुन्छजस्तो त लाग्दैन तर अब एमाले माके एकीकरणबाट बनेको पार्टीको सदस्य हुनका लागि साँचो कम्युनिष्ट भने भैरहने झन्झट बेसाइरहने टन्टो गर्नु पर्दैन । व्यक्तिगत हिसाबले कम्युनिष्टको “क” नबुझेको मानिसले पनि ती पार्टीहरुमा आज पार्टी सदस्यता पाउँछन्, पाइरहेका छन र भोलिपल्टै विशेष जिम्मेवारी पाउँछन् ।

तीन तीन वर्ष कुर्दा पनि जिम्मेवारीविहीन हुनुपरेको पीडाले म्याग्दीको पुराना महापञ्च गौचनले एमाले परित्याग गर्नुपरेजस्तो अवस्था अव छैन । अजयसरको नेपाली काँग्रेसभित्रको सांगठनिक हैसियत कस्तो छ भन्ने कुराको जानकारी मलाई छैन तर उहाँ जत्तिको मानिसले नामकै भए पनि कम्युनिष्ट पार्टीमा के कस्तो अवसर पाउन सक्दो रहेछ भन्ने कुराको जानकारी भने अवश्य हुनुपर्ने हो । म्याग्दीको सन्दर्भमा त्यस्ता अनेकोैं उदाहरणहरुको प्रत्यक्ष साँक्षी स्वयम आफै हुनभएकै छजस्तो लाग्छ ।

आजको अवस्था जस्तो सुकै होस, हिजो भने परिस्थिति फरक थियो । हिजोको परिस्थितिमा अजयसरलाई मैलै दिएको जवाफ आज असान्दर्भिक भैसक्योजस्तो लाग्छ । किनकि मैले उतिबेला भनेको थिएँ–“हो, अवश्य, माक्र्सवादको कार्यान्वयन गर्ने सन्दर्भमा अनेकौं गल्ती कमजोरीहरु भएका होलान् ।

गम्भीर भूलहरु मात्र होइन, कैयौै जघन्य र अक्षम्य अपराध समेत भएका होलान् तर विशुद्ध मानवहितका दृष्टिले माक्र्सवाद भन्दा महान मानवतावादी दर्शन आजसम्म यो धर्तीमा अर्को जन्मेकै छैन । जति नै घातक भए पनि हतियारले आफै अपराध गर्दैन । अपराध गर्ने गराउने त अपराधी चिन्तनले हो । हतियार प्रयोग गर्ने मान्छेले हो । बरु धर्मले मान्छेलाई सम्प्रदायबाट माथि उठ्न दिँदैन । हरेक धार्मिक अनुष्ठानहरु स्वार्थप्रेरित हुन्छन् ।

तर माकर््सवादको अभ्यास निजी स्वार्थ परित्याग गरेर साझा स्वार्थसिद्धिमा लाग्ने यौटा कठिन तपस्या हो । सतहीे ज्ञान र अनुष्ठानबाट त्यो तपस्या सफलीभूत हुनै सक्तैन । अजयसर साँचो कम्युनिष्ट त बन्नु होला वा नहोला तर अवकासपछिको जीवन माक्र्सवादको तटस्थ अध्ययनमा लगाउनु भो भने निश्चय नै माक्र्सवादको आत्मा विशुद्ध मानवहितमा समर्पित रहेछ भनेर मान्नु हुनेछ भन्ने विश्वास मलाई छ ।

अमेरिकाका पूर्व राष्ट्रपति स्व. अब्राहम लिंकनले आफ्ना छोराका गुरुलाई लेखेको यौटा चिठीमा “मेरो छोराले तपाईको पाठशालाबाट ‘भीडबाट डोरिन हुँदैन’ भन्ने कुरा सिकोस्” भनेका छन् । र अजयमिलन सरले पनि मैले भनेजस्तै माक्र्सवादको गहन अध्ययन गर्ने जाँगर चलाउनु भएछ र रजहाँसले झैं माक्र्सवादको महासागरबाट मानवतावाद रुपी मोती बिन्ने कोशिस गर्नु भएछ भने त्यतिबेला कम्युनिष्ट पार्टीको रुपमा निकै ठूलो भीड जम्मा हुनुलाई आफूले कम्युनिष्ट पार्टीको सदस्यता लिने सर्त बनाउनु हुनेछैन” ।
परिस्थिति बदलियो ।

अब आज त्यस्तो अवस्था छैन । माक्र्सवादी आदर्शहरुको अब कुनै औचित्य रहेन । कमसेकम अजयसरले भनेजस्तो तत्कालीन नेकपा माओवादी, हालको माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण भैहालेछ भने पनि समाजहितका निमित्त निजी स्वार्थको त्यागको आदर्श आवश्यक पर्ने छैन ।

असामाजिक तत्वहरुले पनि व्यक्तिगतरुपमा पार्टीमा प्रवेश पाउने छन् । कथम पूर्व भनाईको परिपालना गर्ने उत्साह अजयसरमा पलाएछ भने पनि सैद्धान्तिक व्यवहारिक दृष्टिले काँग्रेसभन्दा भिन्न त्यो नयाँ पार्टी पनि रहेनछ भन्ने अनुभूति गर्नु हुनेछ । व्यक्तिगत नाफा नोक्सानका दृष्टिले यता उता आउजाउ गर्नु वा बसाई सर्नु स्वभाविक होला तर विचारका दृष्टिले यो वा त्यो पार्टी अर्थात काँग्रेस वा कम्युनिष्ट पार्टी रोज्नुको कुनै अर्थ रहने छैन । कमसेकम पार्टी परिवर्तनबाट विचारपरिवर्तनको अुनभूति गर्ने अवसर मिल्ने छैन ।