अनिद्राका लागि विश्राम निकै ठूलो औषधि बन्न सक्छ । विश्रामको अभ्यासले गाढा निद्राका लागि मद्दत गर्नुका साथै शारीरिक र मानसिक रूपमा स्वस्थ रहन पनि मद्दत गर्छ ।यस्तो अभ्यास गर्दा मधुरो संगीत बजाएर ओछ्यानमा उत्तानो परेर सुत्नुपर्छ । जसलाई योगको भाषामा शवासन पनि भनिन्छ ।

त्यस्तै, हल्का आँखा चिम्लेर ५–१० पटक गहिरो, लामो श्वास तान्दै छोड्दै गर्नुपर्छ । त्यसपछि आफ्नो चेतनालाई खुट्टाको मांसपेशीतर्फ लानुपर्छ र मनभित्रबाट मांसपेशीलाई खुकुलो छोडेको अनुभव गर्नुपर्छ । मांसपेशी खुकुलो पार्दै लैजाँदा तनाव हटेर आनन्दको महसुस गर्न सकिन्छ ।

यसरी बिस्तारै अन्य अंगमा आफ्नो चेतनालाई लाने र सम्बन्धित मांसपेशी खुकुलो भएको अनुभूति गर्नुपर्छ । यसरी पाउदेखि शिरसम्म चेतना पुर्‍याउन आवश्यक छ । विश्रामको अभ्यास गर्दा निद्रा पनि लाग्न सक्छ, जसलाई राम्रो मानिन्छ ।

के हो अनिद्रा ?

अनिद्रा शारीरिक तथा मानसिक रोगको लक्षण हो । कुनै–कुनै अवस्थामा निश्चित रोगविनै पनि निद्रा नपर्ने हुन सक्छ । अचानक देखा पर्ने तनाव, क्षणिक उत्तेजना, भयलगायतका गतिविधिले अनिद्राको समस्या निम्त्याउँछ ।अनिद्रा भनेको राति निदाउन कठिनाइ हुने अवस्था हो । निदाएपछि बीच–बीचमा निद्रा टुट्ने, बिहान छिटो निद्रा खुल्ने र पुनः निदाउन गाह्रो पर्ने समस्यालाई पनि अनिद्रा भनिन्छ । समयमै यसको समाधान गर्न सकेमा दीर्घकालीन स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । नत्र डिप्रेसन, एन्जाइटीलगायतका मनोवैज्ञानिक रोग लाग्न सक्छ ।

कति समय निदाउनुपर्छ ?

निद्राको आधिकारिक अवधि कायम गरिएको छैन । मानिसको अवश्यकताले यसको निर्धारण गर्छ । सामान्यतया उमेरअनुसार निद्राको अवधि भने छुट्याइएको छ । कसैलाई ५–६ घन्टा निदाए पुग्छ भने कसैलाई ७–८ घन्टा नै सुत्नुपर्ने हुन्छ । सामान्यतया स्वस्थ मानिसका लागि २४ घन्टामा ७ देखि ९ घन्टासम्म निदाउनु उत्तम मानिन्छ । एजेन्सी