कसरी गरिन्छ पोस्टमार्टम ?

0

शंकास्पद मृत्युवरण गरेका प्राय सबैको पोष्टमार्टम गर्नुपर्ने प्रावधान छ । पोष्ट अर्थात पछाडी, मार्टमको अर्थ मृत्युको कारण पत्ता लगाउने । के कारणले मृत्यु भएको हो भनेर पत्ता लगाउन पोष्टमार्टम गर्ने गरिन्छ । तर, कसरी होला पोष्टमार्टम ?

सबैको मनमा यो प्रश्न उब्जिन सक्छ । तपाईको जिज्ञासा मेट्न सहकर्मी रिया भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विभाग प्रमुख प्राध्यापक डा. प्रमोद श्रेष्ठसँग उत्तर खोज्ने प्रयास गरेका छन् । उहासँगको कुराकानीमा आधारित पोष्टमार्टमबारे जानकारी प्रस्तुत छ:

के हो पोष्टमार्टम ?

फरेन्सिक विशेषज्ञता हासिल गरेका चिकित्सकले पोष्टमार्टम गर्छन् । पोष्टमार्टम गर्ने चिकित्सकले एमबीबीएस अध्ययन सकेपछि थप तीन वर्ष फरेन्सिक मेडिसिनमा अध्ययन गरेर विशेषज्ञता हासिल गर्छन् ।

र, पोष्टमार्टम गर्ने अनुमति पाउँछन् । फरेन्सिकमा विशेषज्ञता हासिल गरेका चिकित्सकले आवश्यकता अनुसार मृत शरीरको शिरदेखि पैतालासम्म चिरफार गर्दै शरीरका सबै अङ्ग परिक्षण गरेर रिपोर्ट लेख्छन् ।

त्यही रिपोर्टलाई पोष्टमार्टम रिपोर्ट भन्ने गरिन्छ । फरेन्सिक चिकित्सा शास्त्रको उदेश्य अदालती कामकारबाहीमा सहयोग पुर्याउने हो । कसैको मृत्युको विषय अदालतसम्म पुगे त्यसको महत्वपूर्ण प्रमारणको रुपमा पोष्टमार्टम रिपोर्टलाई लिने गरिन्छ ।

कसरी गरिन्छ पोस्टमार्टम ?

पोस्टमार्टम गर्न फरेन्सिक विशेषज्ञले सबैभन्दा पहिले शवको निरिक्षण गर्छन् । चोट लागेको छ भने चोटको गहिराई र लम्बाई नाप्छन् । पोस्टमार्टम गर्दा टाउकोको हड्डी झिकेर मस्तिकको जाँच गरिन्छ ।

त्यसपछि मुखदेखि कम्मरसम्म चिरेर भित्रको सबै अंगको जाँच गरिन्छ । सबै अङ्गको प्याथोलोजी जाँचका लागि एक एक–एक टुक्रा नमुना संकलन गरिन्छ । प्याथोलोजीको रिपोर्ट आएपछि यही अनुसार फरेन्सिक विशेषज्ञले पोष्टमार्टम रिपोर्ट तयार पार्छन । त्यो रिपोर्ट प्रहरीसम्म पुग्छ र मृत्युको कारण अदालत वा सम्बन्धित व्यक्तिले पाउँछन् ।