‘स्थानीयस्तरमा पाइने सामाग्रीको प्रयोगमा जोड दिऔं, गाउँघरका गल्छी, पहिरो र भू–क्षयलाई न्युनीकरण गरौं’ भन्ने मूल नारासहित भू–संरक्षण प्रविधि तालिम सम्पन्न भएको छ । जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीको आयोजनामा जिल्लास्थित बाढीपहिरो जोखिम क्षेत्रका स्थानीयलाई कम खर्चिलो भू–संरक्षण प्रविधिसम्बन्धी तालिम दिइएको छ ।

तीन दिनसम्म चलेको तालिममा भू–क्षय, बाढीपहिरोको जानकारी, आगोलागी, कम खर्चिलो भू–संरक्षणसम्बन्धी प्रविधिको जानकारी, स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग, परम्परागत सिप र प्रविधि, रोकथामका उपाय लगायतका विविध विषयहरुमा सहजीकरण गरिएको थियो । तालिमको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल, सव–इन्जिनियर विरेन्द्रकुमार महतो र सहायक वन अधिकृत सन्दीप बासुकलाले सहजीकरण गरेका थिए ।

यसैबीच तालिमको अवसर पारेर बिहीबारै अर्थुङ्गेस्थित आँपरुख सामुदायिक वन क्षेत्रको आसपासमा कम खर्चिलो भू–संरक्षण प्रविधिको प्रयोग गरी बाढीपहिरो रोक्न बाँध बनाइएको छ । प्रविधि अन्तर्गत बाँसको प्रयोग गरेर छेकबार लगाइएको छ भने सुख्खा ढुङ्गाको पर्खाल लगाउनुका साथै बोरामा माटो भरिएको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले बताए । त्यस्तै कम खर्चिलो भू–संरक्षणसम्बन्धी प्रविधि अनुसार सर्ने खालको बोटविरुवाको ब्रसलेयरिङ, फेसिन, पेलिसेट, गरिएको उनले जानकारी दिएका छन् ।

कार्यक्रममा बेनी नगरपालिकाको पुलाचौर, खबरा, भकुण्डे, भकिम्ली, मंगला गाउँपालिकाको बराङ्जा, मालिकाको रुम, धौलागिरिको मराङ, रघुगंगाको राखुपिप्ले, भगवती, पाखापानी र कुईनेमङ्गलेका जनप्रतिनिधि, पावर महिला समूह, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसहित ३२ जनाको सहभागिता रहेको थियो । तालिम समापनको क्रममा बेनपा–३ भकिम्लीका वडा अध्यक्ष पदमबहादुर पुन, ५ नम्बर वडाका सदस्य रामप्रसाद सुवेदी, २ का सीता घिमिरे र मालिका–२ रुमका सदस्य सोमबहादुर विकले मन्तव्य राखेका थिए ।