जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र आइपास नेपालको सहयोगमा बिहीबार सदरमुकाम बेनीमा सुरक्षित गर्भपतन सेवासम्बन्धी विषयमा अन्तत्र्रिmया र छलफल सम्पन्न भएको छ । ‘सुरक्षित गर्भपतन सेवा ः प्रजनन अधिकारलाई टेवा’ भन्ने मूल नारासहित जिल्ला परियोजना सल्लाहकार समितिको वैठकमा अन्तत्र्रिmया गरिएको हो ।

कार्यक्रममा आइपास नेपालका जिल्ला संयोजक उपमा बरालले आइपासको परिचय, कार्यक्रमको उद्देश्य, संस्थागत कार्यदिशा, सुरक्षित गर्भपतन सेवामा आइपास नेपालको भूमिका, म्याग्दी जिल्लामा सुरक्षित गर्भपतन सेवाको अवस्था, सेवा प्रदायक संस्था, गत आर्थिक वर्ष २०७३÷७४ को प्रगति र प्राविधिक सहयोग, सबल पक्ष, समस्या र चुनौती लगायतका विषयमा सहजीकरण गरेकी थिइन् ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाको ग्रामीण भेगमा सुरक्षित गर्भपतनसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा सुझाव दिएका छन् । उक्त वैठकमा पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–१ गूर्जा र अन्नपूर्ण–८ राम्चेमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउनका लागि आवश्यक पहल गर्ने तथा गूर्जालाई प्राथमिकतामा राख्ने निर्णय समेत गरिएको छ ।

म्याग्दी जिल्लाको बेनी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ, रुम, ताकम, लुलाङ, अर्मन, सिङ्गा, भकिम्ली, ज्यामरुककोट, पाखापानी, राखुपिप्ले, भगवती, भूरुङ–तातोपानी र शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतनको सेवा उपलब्ध रहेको छ । महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भपतन सेवा गराउन पाइने कानुनी व्यवस्था रहेको छ भने हार्डनाता तथा जबरजस्ती करणी, मानसिक असन्तुलन र महिलाकै ज्यान जोखिममा रहेको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षता, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्य र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर नारायणप्रसाद रेग्मीले गरेका थिए ।