अजयमिलन श्रेष्ठ

आज अनयासै बाल्यकालिन एउटा सानो घटनाको स्मरण भैरहेको छ।जाडो मौसमको कुनै दिन बिहानी खाजाका रुपमा खादै गरेका मकैका केही गेडाहरू भुइँमा खसे। एकातिर सुख्खा र ठोस रुपका ती गेडाहरूमा धुलो नटांसिने, अर्कोतर्फ म उफ्रदै गरेको घरको त्यो पटाहा पनि सफासुग्घर नै रहेकाले पनि अविलम्ब ती दानाहरू टिप्नु श्रेयस्कर ठानेकैले घोप्टो परेर मैले ती गेडाहरू टिप्न के थालेको थिएँ, मेरा कमिजको खल्तीमा भएका अरु मकै पनि पोखिएर भुंइभरि असरल्ल भए।

मैले नचाहदा नचाहदै अकस्मात घटित त्यस अप्रत्याशित घटनालाई सामना गर्दै हताश र निराश अवस्थामा पनि संयमतापूर्वक पोखिएका खाजा बटुल्नुलाई उत्तम विकल्प मानेर नै मेहनतका साथ जम्मा पार्न सफल भएको थिंए।

मेरा ती कलिला बालमष्तिस्क “लोभानीमुक्त“ हुने कुरै भएन, खुशीले मात्तिदै उफ्रिदै गर्दा पोखिएका केही गेडाहरूको लोभ नगरेको भए दोस्रो पटकको थप अधिक क्षति व्यहोर्नुपर्ने थिएन नि भन्ने चेत त बल्ल मात्र खुलेको जस्तो लाग्छ।

सावधानीपूर्वक मेरा बलबुटाले भ्याएसम्मको सामथ्र्य लगाएर पोखिएका खाजालाई एकत्रित गर्न मात्र के भ्याएको थिएं, टुप्लुक्क आइपुगेका मेरा दाजूले भुंइमा पोखिएर उठाएको खाजा खान हुदैन भन्दै खोसेर कुखुरालाई दिनुभयो। आफ्नै कमजोरीका कारण मुखैको आहारा गुमेको त्यस परिस्थितिमा म केबल मुकदर्शक मात्र बन्न विवश थिंए। कुखुराहरू भने आंगनमा रमाइरमाइ चारा टिप्दै थिए।

मलाई यतिखेर सन्दर्भ जोड्न मन लागेको छ कि–त्यतिबेला आमाले भुट्नुभएको पहिलो घानकै मकै गुमुर्काएर खल्तीभरि राखेर मौकाको फाइदा उठाउन सफल मेरो स्वार्थप्रति आहारिसे बनेकैले मेरा दाजुले उक्त खाजा पोख्याउदां खुच्चिङ भावले पनि त्यही निहुँमा खोसेर फालिदिएको हुन सक्ने आशंकाका साथ दाजुको त्यो कदम आग्रही थियो कि भन्ने प्रशस्त ठाउँ नभएको होइन।

तर आजको परिपक्वताले मैले महसुस गरेको छु कि–भुटेको मकैमा मैले प्राथमिकता पाउनु दाजुको समर्पण भावको कारणले थियो र पोखिएर उठाएको मकै कुखुरालाई दिनुमा उमेरले वहांमा प्राप्त सहि निर्णयन क्षमता र लोभ–त्यागको भावना थियो। दुई चार भोटो बढी फटालेको मेरो दाजुमा जागेको सचेतनाकै कारण मभन्दा वहाँमा “लोभानीमुक्त“ भाव र व्यवहार बढी थियो भन्ने निष्कर्ष मैले यतिखेर निकालेको छु।

“विशुद्ध मानवहितका दृष्टिले आजसम्म यो धर्तीमा जन्मेका अनेकौं दर्शनहरु मध्येको महान मानवतावादी र उत्कृष्ट दर्शन हो माक्र्सवाद।“ यतिखेर चन्द्रप्रकाश सरको यिनै लेखकीय अभिव्यक्तिसंग धेरै सहमति र केही मात्र विमतिका भावनाहरु पोख्दै वहाँद्वारा सम्प्रेषित विचार कै सेरोफेरोमा रम्ने र रमाउने चेष्टा गर्दैछु।

“हतियारले आफै गल्ती गर्दैन, तर हतियार प्रयोग गर्ने मान्छेको आपराधिक चिन्तनका कारण घातकसिद्ध भए झैं माक्र्सवादको कार्यान्वयन गर्ने सन्दर्भमा अनेकौं गल्ती कमजोरी भएका छन्, गम्भीर भुलहरू मात्र होइन् –कैयौं जघन्य र अक्षम्य अपराध समेत भएका छन्।“ त्यसैले त मानवतावादी उक्त उत्कृष्ट दर्शन एउटा अमानवीय निकृष्ट दर्शनका रुपमा प्रयुक्त हुदैछ भन्ने स्वीकारोक्तिका साथ पस्कनुभएको चन्द्रप्रकाश सरको त्यस आशयसंग विमति राख्नुपर्ने कुनै ठाउँ नै छैन । त्यसैले त माक्र्सवादीहरूको यहि गम्भीर भुलका कारण मार्क्सवाद पतनोन्मुख दिशातर्फ उद्दत छ भन्ने कुरा पनि दुविधाको बिषय हो जस्तो लाग्दैन ।

विश्वका किसान मजदुरहरू एक हौं भन्ने प्रतीकात्मक सन्देशरुपी हसियां हथौडा अङ्कित लालझण्डा बोक्ने नेपाली कम्युनिस्टहरूको विडम्बना भनेकै बाईस सत्ताइस झुन्डहरूमा विभाजित हुनु हो। यहि कुरालाई मनन र स्मरण गराउदै चन्द्रप्रकाश सरसंगको बेनीस्थित पीपलचोक नेरको भेटवार्तामा कम्युनिस्ट नीति अब्बल नरहेकै र बाटो स्पष्ट नभएकैले नेपाली कम्युनिस्टहरू विभाजित भएको प्रसङ्गमा यदि कम्युनिस्टहरू एक नहुने हो भने नेपाली यूवाहरूलाई आकर्षित र आबद्ध गर्न नसक्ने र नहुने आशय मैले व्यक्त गरेको थिंए।

“कम्युनिस्टहरू लोभानी पापानी मुक्त हुन्छन्, हुनैपर्छ । त्यसो गर्न नसक्ने हो भने कम्युनिस्ट भनाउनुको कुनै अर्थ रहदैन। लालफिताको फेटा बाधेकै भरमा कोहि कम्युनिस्ट हुँदैन। हसिंया हथौडायुक्त झण्डा बोकेकै भरमा कोहि कम्युनिस्ट भनाउन लायक बनिहाल्दैन।“ हुबहु चन्द्रप्रकाश सरको यहि यथार्थ टिप्पणीलाई आधार बनाइ कसी लाउने हो भने अवश्यमेव यस परिधिभित्र अधिक व्यक्तिहरू अट्न सक्दैनौं भन्ने कुरा निसन्देह छ।

चन्द्रप्रकाश सरकै मप्रतिको सद्भावयुक्त र भरोसापूर्ण शब्दका आधारमा “वर्ग र बौद्धिकताले खांट्टी कम्युनिस्ट हुनुपर्ने मान्छे अजयमिलन सर(म स्वयं)“ पनि यस परीक्षणमा उत्तीर्ण हुने कुरै भएन । त्यसैले त म वहाँका भाषा र भावप्रति पूराकापूर सहमत हुदैछु। अब भन्नुहोस–केपी ओलि वा प्रचण्डको त कुरै छाडौं, मुलुकमा कति जना र क–कसले आफूलाई कम्युनिस्ट बनाउने र भनाउने दुस्साहस गर्नुहोला ? यहि जिज्ञासापूर्ण बिषय र प्रश्न मेरो मानसपटलमा घुमिरहेको छ।

संयोगवश आज नेपालका दुई ठूला कम्युनिस्ट घटक एमाले र माओवादी केन्द्र चुनावी गठबन्धन गर्दै पार्टी एकीकरणको दिशामा अघि बढीरहेका छन्। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा यो विषय निश्चय पनि सुखद पक्ष नै हुनेछ। तर कथंकदाचित यी दुई पार्टी एक भएछन् भने पनि चन्द्रप्रकाश सरले भन्नु भएझैं सैद्धान्तिक व्यवहारिक दृस्टीले त्यो नया पार्टी अपेक्षित भिन्नै खालको अनुभुति गर्न नसकिने भने निश्चितै छ। त्यसैले पार्टी परिवर्तन गरी नयां कम्युनिस्ट पार्टीको सदस्य बन्नेहरूलाई विचार परिवर्तनको अनुभुति गर्ने अवसर भने कदापि मिल्ने छैन।

केबल व्यक्तिगत नाफा नोक्सानको जोड घटाउ मै पार्टी परिवर्तन गर्नेहरूको कमी नरहेको हाम्रो मुलुकमा उक्त ठूलो बाम पार्टीमा सदस्यता लिनेको भीड बढेमा कुनै अस्वाभाविक हुने छैन “व्यक्तिगत हिसाबले कम्युनिस्टको “क“नबुझेको मान्छेले पनि उक्त पार्टीमा सदस्यता पाउने र यथाशीघ्र विशेष अवसर र जिम्मेवारी समेत पाउने, यस सन्दर्भमा म्याग्दीमा पनि हामीले भोगेका र अनुभव गरेका उदाहरण प्रशस्तै रहेको“ चन्द्रप्रकाश सरको अभिव्यक्तिसंग सहमत हुँदै मलाई एउटा थप कुराको स्मरण समेत भएको छ–वहाँ स्वयम् ०४८ को संसदीय निर्वाचनमा म्याग्दीको तत्कालीन क्षेत्र नं.२ बाट निर्वा्चित हुनुभयो।

यतिखेर मलाई भन्न मन लागेको छ–एमालेबाट प्रतिनिधित्व गर्दै माननीय सांसद बन्नुभएका चन्द्रप्रकाश सर, जुन पार्टीमा आज वहाँ अटाउन सक्नुभएको छैन भने अन्यको आगमन उपस्थिति वा सहभागिताको अर्थ र औचित्य के रहला र खै ? हामीलाई अवगत छ, बेलाबेलामा वहाँले राजनीतिप्रति होइन कि,पार्टीप्रति वितृष्णा जागेको भाव सार्वजनिक गर्दै आउनुभएको छ।

तसर्थ पनि चन्द्रप्रकाश सरको यहि आशयका साथ अभिव्यक्त एक प्रसङ्ग अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनले लेखेको एउटा चिट्ठीको मर्म “भीडबाट डोरिन हुदैन“ को उदाहरण दिदै “कम्युनिस्ट पार्टीको रुपमा निकै ठूलो भीड जम्मा हुनुलाई उक्त पार्टीको सदस्यता लिने लालशा र शर्त नबनाउनु“ भन्ने आग्रहप्रति पूरा सहमति जनाउदै नवयूवाहरूप्रति त्यही आग्रहलाई पुनरावृत्ति गर्दैछु।

“हतियारले गल्ती गर्दैन“ भन्दै गर्दा तरकारी काट्नकै लागि मात्र पनि एउटा भयानक तरवारको उपयोग गर्न थालियो भने असहज मात्र होइन अनिष्ट पनि हुन सक्छ। तसर्थ विकल्पमा उपयुक्त सानो चक्कुको प्रयोग गर्दै सो तरवारलाई महानवमीका दिन पूजा आजाका साथ बलि दिने कार्यमा प्रयोग गर्ने गरी सुरक्षित तबरले पूजाकोठामा सजाएर राखिन्छ ।

मानवकल्याणकै निम्ति निर्मित तरवार हिंसात्मक कार्यमा उपयोग हुने खतराले सजकता अपनाइए झैं “मार्क्सवादको आत्मा विशुद्ध मानव हितमा समर्पित“ रहेको तथ्यमा सहमत हुदाहुदै पनि आज त्यसलाई पुस्तकालयको सुन्दर ¥याकमा सजाएर राखिनुको विकल्प छैन भन्ने मेरो बुझाई छ।

लिङ्कनको चिट्ठीमा सम्प्रेषित “आकाशमा उडिरहेका चराहरू,घमाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरू र पहाडी काखमा फूलेका फूलहरूको श्वासत रहस्य बुझ्न दिनु पर्ने“ बिषयमा मुखरित भावनाप्रति मार्क्सवाद सम्वेदनशील भयो वा होला ? अनि लिङ्कनकै सोही पत्रको अन्तिम वाक्य र निष्कर्ष निर्भीक, साहसी र उत्साही बन्न प्रेरित हुँदै “मानवताप्रति नरम र आस्थावान हुने“ दिशातर्फ मार्क्स्वाद गम्भीर र उदार रह्यो वा रहला ? आजको सरल तर जटिल सवाल नै यहि हो।

तसर्थ पनि चन्द्रप्रकाश सरले अनुमान गर्नुभएझैं र वहाँकै भाषामा अभिव्यक्त “कहिल्यै कम्युनिस्ट हुन सक्नुहुन्छ जस्तो नलाग्ने“ र “जन्म र संगतले कांग्रेसी कित्तामा“ उभ्याइएको मैलेभने बाल्यकालमा केही गेडामात्र भुइँमा खस्दा पनि लोभनीमुक्त हुन नसकेको र आमाले हाम्रा निम्ति भुटिदिनुभएको मकै खाजा मेरै कमजोरीले गर्दा कुखुराको चारा बन्न पुगेको घटना स्मरण गर्दैछु।
अन्तमा मेरो पनि चन्द्रप्रकाश सरकै झैं एउटै आग्रह छ–कम्युनिस्टहरू या त दर्शन अनुरुप व्यवहारमा सच्चिनुपर्छ कि त व्यवहार अनुसारकै सैद्धान्तिक व्याख्या गरिनुपर्छ।

होइन भने रछ्यानमा असरल्ल घोप्टिएका आहारा टिप्ने जिब्रोले स्वच्छता, स्वस्थता र सभ्यताको नारा लगाउन किमार्थ सुहाउदैन। तसर्थ नेपाली जनताले यतिखेर चन्द्रप्रकाश सरको परिभाषा यसरी परिष्कृत हुँदै–“कम्युनिस्टहरू लोभानी– पापानीयुक्त हुन्छन्, यसै गरिरहने हो भने पनि कम्युनिस्ट भनाउनुको अर्थ रहिरहन्छ। लाल फिताको फेटा बाधेकै भरमा यहाँ कम्युनिस्ट भैरहन सकिन्छ। हसिया हथौडायुक्त झण्डा बोकेकै भरमा जो कोहि कम्युनिस्ट भनाउन लायक बनिहालिन्छ।“ का रुपमा परिमार्जन भएको देख्न अवश्यै चाहदैनन् । ( बेनी साप्ताहिकबाट )