गयौं बाबु काखको दुध छुटाएर ।
बा–आमालाई नराखे फुटाएर ।।
ल्याएकी दुलही राम्ररी पाले ।
जन्मदिने बु–आमा नफाले ।।
लक्ष्मीको कर्मघर पाईलो ।
अव घर बनाउँदै रमाईलो ।।
लेउन बहिनी बालेर बत्ती ।
दाई भाउजुलाई सम्झेर एकचोटी ।।
नाङ्लोमा टिका फलफुल, मालाले सजाउँदैस्टेजमै जग्गे हालियो ।जातीय पहिरनमा सजिएका ब्राह्मण महिलाको साथमा दुलाह, अनि पुहोरित पनि देखा परे। दुलाहकी आमाले छोरालाई दुलहीको घरमा जानु अघी बेहुलाकी आमा बन्दै जन्ती पठाउँदा पूरा गर्नुपर्ने संस्कार र प्रक्रिया पुरोहितले सुनाउँदा भावुक भईन् ।
पुरोहितको हाउभाउ, बेहुलाको अनुहारमा चमक, रत्यौलीका लागि तयार भएका महिलाको दृष्यले शनिबार छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेला विवाह उत्सवजस्तै देखिन्थ्यो । विवाहमा केटा पक्षको घरमा जन्ती र बेहुला बेहुलीको घरतर्फ प्रस्थान गरेपछि त्यस दिनमा महिला र यूवतीहरू मिलेर खेल्ने रत्यौलीले महोत्सवस्थल विहे घरजस्तैद देखियो ।
बेहुलालाई अन्माएर जन्ती सहित बेलुही घरमा पठाएलगत्तै महोत्सवस्थल रत्यौलीमय भएको थियो ।खुल्लामञ्चमा बजार देखी गाउँबाट आएका खचाखच दर्शकको उपस्थितीमा मञ्चको आधा भाग ढाकेर बसेका महिला रत्यौली गाउन थालेपछि दर्शकले समेत नाँच्दै साथ दिएका थिए । म्याग्दी महोत्सवको इतिहासमै पहिलोपटक आयोजित रत्यौली प्रतियोगितामा बेहुलाका आमा, बुबाको ब्यथा र मर्म, बुहारीको स्वभाव, भविस्यका बारेमा रत्यौलीमा घन्किँदा दर्शकले ताली बजाउँथे ।
बेहुलाको घरको आगनमा जस्तै रत्यौलीकै भाकामा गाइने गीतको शब्दले घरीघरी दर्शकलाई कतिबेला हँसाउथ्यो त, घरीघरी स्तब्ध बनाउँथ्यो ।पुरुषलाई निषेध गरिने रत्यौंलीमा पुरुषको भेषमा सेनाको पोशाक, विभिन्न पोशाकमा सजिएर नाच्न आएका पुरुषको गतिविधिले समेत दर्शकलाई पेट मिचीमिची हसाइरहेको थियो।
रत्यौलीमा पुरुषको उपस्थिती भए महिलाले कुटेर पठाउने परम्परा रहेकाले पनि महिलाले पुरुषको भेषमा नाच्ने गर्छन् । पुरुष भेषमा रत्यौलीमा सहभागि हुनेलाई लुठो भनिन्छ । ‘पुरानो मौलिकपन हराउन थालेको छ, रत्यौली पनि पुराको नेपाली मौलिक कला, संस्कृतिभित्र पर्छ’ म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवम् खुल्ला लोकदोहारी ,लोकनृत्य तथा रत्यौली गित प्रतियोगिता संयोजक सुविन श्रेष्ठले भने । उनले पुरानो मौलिकतालाई संरक्षण र प्रर्वधनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।
प्रतियोगितामा बाह्मण समाज, क्षत्री समाज, शिक्षामार्ग आमा समुह, भगवती समुह, भृकुटी आमा समुह, गणेश आमा समुह,नेकसरा समु र धौलागिरी नाट्य समुह गरी ८ टोलीको सहभागित रहेको थियो । प्रतियोगितामा सहभागि भएकाले रत्यौलीले मौलिकता जर्गेना गर्न यूवापुस्तालाई समेत सचेत बनाएको धौलागिरी नाट्य समुहका अध्यक्ष रवी कार्कीले बताए । ‘विस्तारै रेकर्ड गीतलाई प्रयोग गर्न थालिएको छ । यस्ता प्रयोगितालाई गाउँस्तरसम्म पु¥याउनुपर्छ’ कार्कीले भने ।
यसैविच प्रतियोगितामा क्षत्री समाज महिला प्रथम र धौलागिरी नाट्य समुह द्धितिय भएको छ । प्रथम, द्धितियले क्रमश नगद १५ हजार १११ र ७ हजार १११ र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सव १० दिन लामो चल्नेछ । महोत्सवमा जिल्लाको ग्रामीण भेगमा उत्पादन हुने कृषिजन्य उपजहरुको बिक्री, वितरण तथा प्रदर्शनीका साथै नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकदोहोरीगीत प्रतियोगिता, लाइभ दोहोरी कार्यक्रमलगायत रहेका छन् ।