म किन सगरमाथा चढेँ ?

0
594

म पुग्न चाहान्थे त्यस्तो ठाँउ, जहाँ जातका घेराहरु नहुन जसले मलाइ रेखा नै लगाएर थुप्रै दैलाहरु बाहिरै राखेको छ । म हेर्न चाहान्थे त्यस्तो ठाँउ, जहाँ रँगहरुको कुनै तुलना नहोस । किनकी मैले म आफ्नै जिबनमा पढेको छु जातहरुले लेखेको नमिठो कथा र देखेको छु मानिसका रँगहरुले रँगाएका डरलाग्दा क्यानभासहरु । मेरो बाबाको जात र कालो रँग देख्न वित्तिकै राजमार्गमा चल्ने बसको खलासिँ पनि हेप्न शुरु गर्छ र मेरो बाबा अमिलो भएर टुलु टुलु हेर्न बाध्य हुनेगर्दछन ।

ती कथाहरुमा मेरो बाबा र काकाहरु निरीह पात्रबनेर कथा लम्बाइरहेछन किनकी उनीहरु कथित दलित हुन र काला छन । म चाहान्न रँगहरुले यी नमिठा कथा लम्बाइ राखोस । म चाहान्न धर्महरुले मेरो समाजको कथाहरु लम्बाइ राखोस र मेरी वहिनी अर्की मलला बनुन । म हेर्न चाहान्थे धर्मले नछोएको ठाँउ । म पुग्न चाहान्थे जातले नछोएको ठाँउ । म त्यो पबित्र ठाँउमा पुग्नको लागी ब्याकुल भइसकेको थिँए । मलाइ थाहा थिएन त्यो ठाँउ कहाँ छ । तर प्रश्नहरुको मृत्यु नहुँदोरहेछ ।

माङगेनामा युग पाठकले भने जस्तै प्रश्नले जवाफ खोज्छ र जवाफको खोजी कठिन हुन्छ । मेरो भोगाइ र मेरो पुर्खाहरुको कथाले मलाइ प्रश्नहरुको जवाफ खोज्न सजिलो बनाइदियो । चुलो छोएको निहुँमा, कुटाइ खाएर मृत्युवरण गरेका कालिकोटका मानविरे सुनारहरुले मलाइ जवाफ खोज्न सजिलो बनाइदिए । मेरो बाबा र काकाको जात कथित दलित भन्ने थाहा पाउने वित्तिकै मेरै उमेरका साथीहरुले उहाँहरुको नाममा एकार जोडेर बिगारिदिएको बिग्रेको नामले नै मलाइ जवाफ खोज्न सजिलो बनाइदिए ।

कथित उच्च जातको पर्खाल देखाएर मेरो देशका धेरै आमाहरुको प्रेमीले उनलाइ उनको पवित्र प्रेमको बेस क्याम्पमै छाडेर गएको कारुणिक कथा म कसरी विर्सन सक्छु । जीबनको एक समय जतिबेला प्रेम सबैभन्दा शक्तिशाली हुन्छ, त्यति नै बेला आफ्नो सशक्त उर्जा  क्षिण हँुदा हाम्रा ती आमाहरु कति कमजोर बनेहोलान ? मलाइ ती आमाहरुको गुमेको शक्तिको महशुस गर्नुथियो ।

त्यसैले मइले सगरमाथा चढेँ । पवित्र प्रेमको शक्तिशाली बहावलाइ पनि छेक्ने विभेदको त्यो क्रुर पर्खालको पछाडी के छ होला ? विभेदका थुप्रै पर्खालहरु पछाडी के हुन्छन होला भन्ने जिज्ञासाले नै मलाइ विश्वकै विशाल र अग्लो पहाड चढ्ने मोह जाग्यो । त्यो शालिन र कठोर पहाड चढ्न मलाइ मैरै समाजको विभेदको क्रुर पहाडहरुले नै प्रेरणा दिएको थियो ।

म पहाड नाघेर मेरी आमाहरुलाइ छाडेर गएको उनका प्रेमीहरु पुगेको समथर मैदान हेर्न चाहान्थे, जहाँ जात कै कारण एक प्रेमिका पुग्न ब्रजित भइन । काभ्रेका अजित मिजारलाई पुरिएको खाडलको गहिराइ नाप्नको लागी नै मैले सगरमाथाको गहिरा खोँचहरु नाप्ने प्रयत्न गरेको हुँ ।

लक्ष्मि परियारलाइ भलिबल मैदानको पोलमा बाँध्ने रसिको लम्बाइ नाप्न नै मइले सगरमाथाको भित्ताहरुमा हुक गराइएका रसीहरुको लम्बाइ नापेको हुँ । मलाइ बषौँ सम्म मेरो छिमेकीको घरभित्र छिर्न अनुमति नभएको सँघार नाघेर मेरो साथीले आगो ताप्ने अगेना हेर्ने मन थियो, तर उसको घरको दैलोको सँघार मेरो लागी सगरमाथा जस्तै अग्लो छ । त्यसैले मलाइ सगरमाथा चढ्न मन लाग्यो किनकी मलाइ, मरो साथीले आगो ताप्ने अँगेना हेर्नु थियो ।

०००

हो, त्यसैले मैले सगरमाथा चढँे । २०७४ जेठ ८ गते बिहान ५ बजे शिखरमा पुगेँ ।

०००

मेरो देशमा मन्दिरहरुको उचाइ निकै माथी छ । अग्ला र राम्रा बस्तुहरु हाम्रा स्वामित्वमा हुँदैनन भन्ने मैले केटाकेटी हुँदा देखि नै बुझेको थिँए । नहँुदो त, दुइ तले मन्दिरलाइ मानिसको मन भन्दा अग्ला र बृहत मानेर दलितहरुको आस्था र मनलाइ मन्दिर बाहिरै सायदै राखिन्थ्यो होला । ती अग्ला मन्दिरहरुमा म आँफै अग्लो भएर कहिल्यै पुजा गर्न पाइन । मन्दिरहरु अरु नै कसैको अधिनमा थिए ।

तर सगरमाथामाको शिखरमा पुगेपछि मलाई लाग्यो, खास उचाइहरु त कसैको अधिनमा नहुदा रहेछन ।  शिखरमा हँुदा, मेलै शिखरका भुँइहरु छुहीरहे, किनकी मलाई तल जमिनका थुप्रै ठाँउहरु छुन नपाएका गहिरा प्यासहरु मेट्नु थियो । म माथीको आकाशमा मैले बेप्रवाह मेरा दुबै हातहरु हल्लाइरहे । शालिनता पुर्बक लच्किरहेका मेरा हातहरुलाइ कसैले रोकेन।

सगरमाथाको टूप्पोमा रँहदा मलाई सबै खालका उत्पिदनबाट मुक्त भएजस्तो भान भइरहेको थियो । मलाइ थाहा थियो शिखरमा अनुभव गरेको निरपक्ष मुक्ति तल झरेपछि सापेक्षिक हुनेछ । किनकी तल फर्केपछी म मेरो समुदायलाई उत्पिडनबाट मुक्ति दिलाउन अझै मइले विद्रोहका थुप्रै कठिन पहाडहरु चढ्नुपर्नेछ  ।

जब म फर्किदा तल झर्न लागे,अचानक एउटा प्रश्नले मलाई नराम्ररी ढक्का दिइरह्योे । मेरा देशका मन्दिरहरुको गजुरलाई कहिले देखि यसरी नै सुम्सुम्याउन सक्छुहोला,  जसरी सगरमाथाको शिरलाइ सुम्सुमाएको थिए ? झण्डै १५० किलोमिटर प्रति घण्टाको वेगमा बहेको हावाको झोक्कालाई समेत फिक्का बनाउने गरी मलाइ उक्त प्रश्नले हल्लाइरह्यो ।

माथि चढ्दा गहीरा गहीरा गल्छीहरुमा हामी भ¥याङ हालेर पार गर्दथ्यौँ । भ¥याङ सँगै हामी रसीहरुको पनि प्रयोग गर्दथ्यौँ । माथी उक्लिँदै गर्दा रसीका गाँठोहरु फुक्दै जाँदा मलाइ यस्तो पनि लागेको थियो, यता रसिका गाँठोहरु फुक्दै जाँदा उता पसुपतिको भट्टहरुको जनैमा गाँठो पर्दै पो छकी । खैर मैलै कलाइम्विङ रोपका गाँठाहरु फुकाइरहँदा, गाँठाहरु अरु कतै अन्त ठाँउमा पनि पर्लान । तर मैलै फुकाएरै छाँडे जुन मेरो पुर्खाहरुको लागी सयौँ बर्ष देखि जटिल बनेर बसेको थियो ।उल्लेखित अनुभुति लेख, सोलुखुम्बु, गार्माका हिमाल आरोही विजय घिमिरे विश्वकर्माको अनुभवको आधारमा तयार गरिएको हो ।   भिम सुनार