आँखामा यस्ता समस्या आउँछ, आँखाको हेरचाह यसरी गनुहोस

0
567

हामी निदाएका बेला बाहेक जुनसुकै समय आँखाको सर्वाधिक उपयोग गरिरहेका हुन्छौं। यस्तो महत्वपूर्ण अंग आँखाको हेरचाह र सुरक्षा कसरी गर्ने ?

आँखाको बनावट

हाम्रो आँखामा सबैभन्दा अगाडि कोर्नियाको डल्लो हुन्छ। यही कोर्नियाको रंगीन आइरिसको बीचमा रहने पारदर्शी नानीबाट प्रवेश गरी प्रकाश आँखाको पर्दा वा रेटिनामा जान्छ। नानीको ठीक पछाडि लेन्स हुन्छ, जुन जोनुल्स (लेन्सलाई खुम्च्याउने वा फैलाउने लिगामेन्ट वा रेशा) सँग जोडिएको हुन्छ। जब आँखाको नानीबाट प्रवेश गरेको प्रकाश लेन्स हुँदै रेटिनामा ठोकिन्छ, त्यहाँका टिस्युमा रहेका अप्टिक नर्भले हामीले हेरेको वस्तुसम्बन्धी जानकारी मस्तिष्कमा पुर्‍याउँछन् र हामीले ती वस्तु देख्छौं।

जन्मदेखि ३० वर्षको उमेरसम्म

हामी जन्मँदा आँखाभित्र रहेको लेन्स सफा र लचकदार हुन्छ भने त्यसमा जोडिएका जोनुल्स पनि सशक्त हुन्छन्। उमेर बढ्दै गएसँगै लेन्सको लचक घट्दै जान्छ र जोनुल्स पनि कमजोर हुन्छन्।

सामान्यतः आँखाको आकार र दृष्टि वंशाणुगत रूपमा निश्चित हुने गर्छ। यसको अर्थ, उमेर बढ्दै गएपछि हामीलाई चश्मा वा दृष्टि सफा हुने उपकरण आवश्यक पर्न सक्छ।

आँखाको डल्लो धेरै लाम्चो भए हामी टाढासम्म प्रस्ट र सफा देख्न सक्दैनौं र हामीलाई चश्माको आवश्यकता पर्छ। त्यसैगरी, आँखाको डल्लो सामान्यभन्दा छोटो भए हामी नजिकको वस्तु प्रस्ट देख्न सक्दैनौं।

त्यसैले दृष्टिमा वा देख्ने क्षमतामा फरक पर्नासाथ नै अप्थाल्मोलोजिस्ट वा अप्टोमेट्रिस्टकहाँ आँखा जँचाउन जानुपर्छ।

४० वर्षको उमेरमा

‘यही वयमा हो हामीले नजिकै दृष्टि केन्द्रित गर्ने क्षमता गुमाउन थाल्छौं, जसलाई प्रिस्बायोपिया भनिन्छ’, भन्छन् अमेरिकन अप्थाल्मोलोजीका प्रवक्ता तथा सान फ्रान्सिस्कोस्थित ग्लुकोमा सेन्टरका कार्यकारी निर्देशक एमडी एन्ड्र्यू आइवाक।

यसको कारण जोनुल्स कमजोर हुनु र लेन्स मोटो तथा कडा हुनु नै हो। यसको उपचार चश्मा लगाउनु नै हो। तर, यो कहिले सुरु हुन्छ, ठ्याक्कै भन्न सकिन्न। यो हाम्रो दृष्टि क्षमतामा भर पर्छ। जस्तो कि, हाम्रो दृष्टि सानैदेखि ठीक थियो भने ४० को उमेर सुरु हुँदा नहुँदै नजिकको वस्तु हेर्न अर्थात् खासगरी पत्रपत्रिका वा पुस्तक पढ्न चश्मा लगाउनुपर्ने हुनसक्छ।

‘टाढाको वस्तु प्रस्ट देख्न चश्मा लगाउनुपर्ने व्यक्तिले भने ५० वर्षको छेउछाउतिर मात्र नजिकको दृष्टि क्षमता कमजोर हुन थालेको महसुस गर्न सक्छन्’, भन्छिन् नर्थ क्यारोलिनाको डर्हमस्थित ड्युक युनिभर्सिटी आई सेन्टरमा अप्थाल्मोलोजीकी असिस्टेन्ट प्रोफेसर जिल कुरी। र, पहिलेदेखि नै नजिक हेर्न वा पुस्तक पढ्न चश्मा लगाउनुपर्ने व्यक्तिलाई भने ४० वर्ष पुग्दा नपुग्दै समस्या अझै बढ्न सक्छ।

दृष्टिदोष भए वा नभए पनि ४० वर्षको उमेरमा एकपल्ट डाक्टरकहाँ गएर आँखा परीक्षण गराउनुपर्छ। अन्य परीक्षणसँगै डाक्टरले तपाईंको आँखाको प्रेसर र अप्टिक नर्भ ठीक अवस्थामा रहे नरहेको परीक्षण गर्छन्।

५० वर्ष र त्यसमाथिको उमेर

यो उमेरमा पुग्दा आँखाका लेन्स कडा हुने प्रक्रिया जारी हुन्छ। त्यसैले दृष्टि क्षमता अझै कमजोर हुन सक्छ र लेन्स वा बाइफोकल (नजिक र टाढा दुवैका लागि चश्मा) लगाउनुपर्ने हुनसक्छ।

यो उमेरपछि दृष्टिसम्बन्धी विभिन्न समस्या वा रोग उत्पन्न हुन सक्छन्।

मोतियाविन्दुः हाम्रो आँखाको लेन्स धमिलो भएर दृष्टि अस्पष्ट हुनुलाई मोतियाविन्दु भनिन्छ। उमेर जति बढ्दै गयो त्यति नै मोतियाविन्दु हुने सम्भावना हुन्छ । उमेर बढ्दै गएपछि सबैलाई हुने रोग हो मोतियाविन्दु। दुई करोडभन्दा बढी अमेरिकीलाई मोतियाविन्दु छ। धूमपान र घामले पनि मोतियाविन्दु लाग्न सघाउँछ।

जलविन्दु (ग्लुकोमा): २० लाखभन्दा बढी अमेरिकी ग्लुकोमाग्रस्त छन्। ‘आँखाभित्र दबाब बढेर अप्टिक नर्भ नष्ट हुँदा ग्लुकोमा हुन्छ’, भन्छिन् एटलान्टास्थित एमोरी युनिभर्सिटी स्कुल अफ मेडिसिन र एमोरी आई सेन्टरकी अप्थाल्मोलोजीकी असिस्टेन्ट प्रोफेसर एमिली बेडरिक। यसले बिस्तारै दृष्टि क्षमता हराउँदै अन्त्यमा दृष्टिविहीन नै बनाउँछ। विश्वभर अधिकांश युवाले दृष्टि गुमाउने प्रमुख कारणमध्ये जलविन्दु एक हो।

माकुलर डिजेनेरेसनः वंशाणुगत वा वातावरणीय कारणले रेटिनाको एउटा भाग माकुला खराब हुन्छ र दृष्टि क्षमता गुम्दै जान्छ। यसको लक्षण धमिलो देखिनु हो। घामको पराबैजनी (अल्ट्राभ्वाइलेट) किरण र धूमपानले यो रोग बढाउँछ। करिब २० लाख अमेरिकी यो रोगग्रस्त छन्। ६५ वर्षमाथिका ककेसियनहरूको दृष्टि गुम्ने प्रमुख कारण नै माकुलर डिजेनेरेसन मानिएको छ।

जति उमेर बढ्दै गयो आँखाका डाक्टरकहाँ नियमित आँखा परीक्षण गराउनुपर्छ। खासगरी ४० वर्ष पुग्दा र नाघेकाले बेला–बेला आँखाको जाँच गराए रोगको प्रारम्भिक चरणमै जानकारी पाइन्छ र उपचार/रोकथाम गर्न सकिन्छ। दृष्टि धमिलो वा देख्न समस्या भए डाक्टरकहाँ जँचाउन गइहाल्नुपर्छ । यसो गरे मात्र आँखा स्वस्थ र दृष्टि क्षमता कायम राख्न सकिन्छ।