हिरा पौडेल ‘संघर्ष’
जीवनको कालखण्डबाट भोगिएका,सिकीएका,देखिएका र सुनिएका कुराहरुालई काल्पनिक शैलीमा,मीठासपूर्ण,व्यङ्ग्यात्मक,हृदयश्पर्शि,भावयूक्त शब्दहरुलाई लिखित वा मौखिकरुपमा सृजना गर्नु साहित्य हो । यथार्थमा मानको कल्पनालाई सुन्दर तरिकाले अर्को मानवको यथार्थमा मेल खाने गरि व्यक्त गरिएका भावनाहरु साहित्यका अंश हुन् ।

शब्दहरुलाई तोडेर,मोडेर,जोडेर साहित्यको रुप दिने साहित्यकारको खुबी हो । गद्य,पद्य वा तथ्य मिलाएर पाठकलाई सन्तुष्ट पार्नसक्ने साहित्यकारसंग सिप हुनु पर्दछ । साहित्य र नारीको अन्तर्निहीत सम्बन्ध रहन्छ । प्राचिन कालदेखि विभिन्न ग्रन्थ,काब्यहरु लेखिएका छन् जसमा कुनै न कुनै नारीको वारेमा मुख्य पात्र बनाएर लेखिएको पाइन्छ ।

विलियम सेक्सपिएरले लेखेका अधिकांश कविताहरु पनि उनकी प्रेमिकाको रुपको वयान गरेर लेखिएको पाइन्छ । प्रायजसो पुरुष साहित्यकारहरु नारीको सौन्दर्यको वयान नगरि साहित्य सृजना गर्नै सक्दैनन् । अनि प्राय नारी साहित्यकारहरु आफ्ना प्रेमीको गुनासो नगरि सृजना गर्नै सक्दैनन् । कुरा जे भएपनि साहित्य सृजना होस् या गीत संगीत,फिल्म आदि नारीमै केन्द्रीत भएर चर्चामा आएको पाइन्छ ।

भनिन्छ नारी सृष्टीका स्रोत हुन् । सृजनाका मुहान अनि संगीतका धुन हुन् । यिनै शब्दावलीका गहनाहरु पहिरिएर साहित्यकारहरु चर्चाको चूलीमा र सफलताको धुरीमा पुग्न सकेका छन् । यस्तै यस्तै कुराहरुमा सीमित नारीहरु आँफैमा साहित्यको प्रचूर आनी हुँदाहँदै पनि सृजनात्मक क्षेत्रमा अगाडी पुग्न नसकेकै अवस्था हो । चूलो चौको अनि वन पाखा र मेला पातमा घन्किने सुरीला भाकाहरु सायद सम्पादन नगरिएका साहित्य हुन् । जहाँ हामीले भरपूर मौलीकता मात्र पाउन सक्छौं ।

जसरी माहुरीको चाकाबाट झदै गरेको महको स्वाद लिदाका अनुभूति हुन्छ । त्यस्ता भाकाहरु कनी कूथि सृजना गरिएको कुनै कृति भन्दा कैयौं गुणा मौलिक र लोकप्रिय हुन्छन् ।बच्चालाई काखमा लिएर गाउने ललै लोरी अनि दन्त्य कथाहरु पनि तिनै आमाहरुका कल्पनाहरुबाट सृजना भएका हुन् । सम्पादन नै नभैकन पनि सुन्नेहरुको ओठमा झुन्डीन पुगिहाल्छन् ।

त्यस्ता कथाहरुमा प्रायः परी वा देवीको नाम दिएर मुख्य पात्र नारीलाई नै उभ्याइएको पाइन्छ । तर यो कथा कुन नारीले सृजना गरे थाहा हुँदैन । परम्परागत मान्यताहरुबाट छलिएर वाहिर निस्कन सक्ने नारीहरुले साहित्यको क्षेत्रमा पनि अतुलनीय योगदान दिएका छन् ।विश्व साहित्यमा नारीहरु केहीमात्रामा बहुचर्चित भएको पाइन्छ । पूर्वीय सभ्यतासंगै साहित्यमा पनि सहभागि हुन पाएको कारणले होला विदेशी महिलाहरु प्नि साहित्यमा नोबेल पुरस्कार समेत प्राप्त गरेको पाइन्छ ।

विश्व साहित्यमा नेपाली महिलाहरु भने कमै मात्रमा साहित्यकारको सूचीमा देख्न पाइन्छ,जस्तै पारीजात साहित्यको एउटा चम्किलो ताराको नाम हो । साहित्यको अलवा गायिकाहरु पनि पहिलेको तुलनामा अहिले बढेका छन् । नेपालको साहित्य क्षेत्रमा महिलाहरु विभिन्न कारणले पछि परेको पाइन्छ । विशेषतः पितृसत्तात्मक समाज भएको हुनाले महिलाहरुले आफ्नो भावना स्वतन्त्ररुपमा व्यक्त गर्न पाउने वातावरण छैन । आख्यान होस् वा गीत संगीत अनि काल्पनिक सृजनाहरु पनि कसैले केही भन्छ कि भन्ने संकोचका कारणले बाहिर आउन सकेका छैनन् ।

महिलाहरु आर्थिैकरुपमा कमजोर भएका कारणले पनि सृजनाहरु प्रकाशित गर्न सकिरहेका छैनन् । कुनै पनि पुस्तक लेख्नु भन्दा कैयौं गुणा कठिन छ प्रकाशन गर्न र प्रकाशन पछि प्रचारप्रसार र पाठकको हातमा पु¥याउन । हरेक ठाउँमा भनसुन,ज्यूहजुर चल्ने भएको हुनाले पनि पहुँचको कमी भएकै कारण कतिपय उत्कृष्ट सृजना पाठक सामु पुग्न नसकिरहेको अवस्था छ ।

घर परिवार सम्पन्न हुने महिलाहरु जसले चर्चित प्रकाशनबाट निशुल्क नै पुस्तक प्रकाशन गर्न सक्छन् । पाठकहरु सामु पनि तिनै पुस्तकहरु पहिला पुग्छन् । तर बल्लतल्ल प्रकाशनमा ल्याइएका पुस्तक जति उत्कृष्ट भएपनि न कुनै मिडियामा आउँछ न कुनै वितरकहरुले लिन्छन् ।

विभिन्न समस्याहरु भ्mेलेर सुन्दर सृजना भएपछि साहित्यकारलाई प्रेरणा र हौसलाको आवश्यकता पर्दछ । तर कुनै सृजनाको भूमिका लेख्नको लागि पनि अग्रजहरुलाई ज्यू हजुर गर्नुपर्ने अवस्था छ । एउटा पुस्तक प्रकाशन,सम्पादनदेखि वितरणसम्म पुग्दा एउटी नारी साहित्यकारले धेरै कष्ट भोग्नुपरेको हुन्छ ।त्यही अनुसारको विक्रि नहुन ुपनि नारी साहित्य खस्कनु प्रमुख जड हो । मुख्य समस्या आर्थिक नै हो । अहिले पैसा विना कुनै पनि कदम अगाडि वढ्न सक्दैन । बेरोजगारी,महङ्गी त झन ठूलो कारण बनेको छ ।

नारी साहित्यमा यथार्थमा भोगाइबाट बाहिर निस्केका बहहरु भेट्न पाइनछ । अनि मौलिकता पनि । तै पनि हालसालै नेपाली महिला साहित्य अलिकति देखिन थालेको आभास पाइन्छ ।जो अध्यापनको क्षेत्रमा छन् । जो पारिवारिकरुपमा मजबुद छन् । जसको हातमा मिडिया छन् ।उनीहरु साँच्चै नै अग्रपंत्तिकम छन् ।यदाकदा झमककुमारी घिमिरेजस्ता फरक क्षमता भएका साहित्यकारहरु पनि चर्चामा नआएका होइनन् ।तैपनि तुलनात्मकरुपमा बर्गीय विभाजनले गर्दा प्रतिभाशाली नारी अझै पनि ओझेलमा परेकै छन् ।

साहित्य जस्तो क्षेत्रमा पनि पदको लालच सम्मानको प्रलोभनले गर्दा गुटबन्दी,तटाडमछाड पनि सर्वत्र देख्न भेट्न पाइन्छ । वास्तवमा साहित्यको मूलधार र छाना एउटै हुनु पर्ने हो । तर,अस्वस्थ प्रतिष्पर्धाका कारणले अगाडी जाने अघि नै र पछाडीका अनुजहरु पछाडी नै परेको अवस्था छ ।म्याग्दीको परिप्रक्षमा विभिन्न संस्थाहरु गठन गर्दा बल्ल तल्ल कुनै पदमा नारी श्रष्टालाई खोजेर राख्नुपर्ने कि त राख्दै नराखी समिति गठन गर्नुपर्ने बाध्यताहरु छन् ।

प्रथमतः नारी सर्जकलाई साहित्यिक कार्यक्रमहरुमा खबरै हुँदैन । दोस्रो रचनाहरु वचन गर्न वा सृजना गर्ने हौसला नै प्राप्त हुँदैन । साहित्यका ज्ञाताहरुले नयाँ सिकारुका रचनाहरुलाई गौडरुपमा नलिइ यत्तिकै राम्रो छ भनेर व्यवास्ता गरिदिदा सिकारुले आफ्नै तरिकाले आफ्ना रचना साँच्चै नै साहित्यिक भए नभएको पत्ता लगाउन कठिन छ । कुनै पनि संस्थामा आवद्ध नभएर साहित्यिक कार्यक्रमको जानकारी नै नहुने हुँदा पनि आफ्ना सिर्जना प्रष्फूटन गर्ने मौका हुँदैन । यद्यपी अहिले कुनै पनि पुस्तक ननिकालिकन पनि सामाजिक संजालको माध्यमबाट धेरै नारी स्रष्टाहरु अगाडि देखा परेका छन् ।

न सिर्जना पढ्न छुट्टै पैसा लाग्ने न पुस्तक पसलमा पुग्नु पर्ने । त्यसैले विभिन्न सामाजिक संजालका समूहहरुमा जोडेर समूहलाई लोकप्रिय बनाउने होडबाजी पनि नचलेको होइन । विभिन्न अन्तराष्टिय साहित्यिक संस्थाहरुमा नारी स्रष्टाहरुको संख्या बढेको आभास पाइन्छ । सवैभन्दा महङ्गो अन्तराष्टिय संस्था अन्तराष्टिय नेपाली समाजमा पनि नारी साहित्यकारहरु आवद्ध भएका छन् । हुन त संस्थाले. पनि आजिवन सदस्यताका लागि राखिएको शुल्कका कारणले वास्तविक नारी स्रष्टालाई समेट्न नसकेको हो कि जस्तो लाग्छ । अनि कतिपय पारिवारिक संस्थाहरु पनि नजन्मेका होइनन् ।

केवल आर्थिक कारोवारमात्र प्रष्ट देखिने यस्ता संस्थाहरुले केवल सम्पन्न व्यक्तिलाई साहित्यकारको रुपमा अगाडी ल्याउने गरेको पनि पाइन्छ । वास्तवमा विविध कारणहरुले गर्दा साहित्यमा नारी स्वच्छन्द तरिकाले प्रस्तुत हुन कठिनाइ परिरहेको छ ।हरेक संस्थामा सबैभन्दा पहिले स्वतन्त्र मौलिक रचनालाई पहिचान गर्नुभन्दा आर्थिक कुराहरु अगाडी पुग्ने भएकाले पनि कतिपय साहित्यलाई जीवन बनाउने स्रष्टाहरु पनि कुना पर्दै गएको पाइन्छ । सबैभन्दा ठूलो कुरा त मिडिया हो । मिडियाले साहित्यलाई खासै चासो देखाएको पाइदैन । हरेक ठाउँमा अर्थ र पहुँचले गर्दा साहित्यले समाजमा जति प्रभाव पार्नु पर्ने हो त्यति सकेको छैन ।

निष्कर्षमा महिला एक परिवार समाज राष्ट र प्रकृतिकै महत्वपूर्ण तत्व हो । चाहे संगीत चाहे साहित्य चाहे शिक्षा जहाँ पनि यदि सहिरुपले परिचालन गर्न सकेको खण्डमा देश समृद्ध बन्न समय लाग्दैन । साहित्यमार्फत व्यक्त भएका नारीका संवेदनशील भावनाहरुकाले समाज परिवर्तनमा ठूलो मद्दत पुर्याउन सक्छन् । हरेक ठाउँमा पोथी बास्नु हुन्न भन्ने धारणा रहिरह्यो भने महिलाको मानसिकता पनि बदलिन अझै समय लाग्छ । समाजमा गर्न नजान्ने र नसक्ने काम भनेको महिलाले विर्यको उत्पादन गर्न सक्दैनन्,पुरुषले बच्चा जन्माउन सक्दैनन् तर, अरु सबै काम सबैले गर्न सक्छन् । साहित्यको क्षेत्रमा त झन नारीले कैयौं गुणा मौलिकता प्रष्फुटन गर्न सक्छन् । यसर्थ समाजले पनि नारी स्रष्टालाई हौसला र प्रेरणा प्रदान गरेर सहयोग गर्न सक्नु पर्छ ।।
(बेनी साप्ताहिकबाट )