म्याग्दी जिल्लामा धेरैपटक रक्तदान गर्नेलाई सम्मान गरिएको छ । जिल्लामा ११ पटकभन्दा धेरै रक्तदान गर्ने रक्तदातालाई माउण्ट एभरेष्ट आवासीय मावीले कदरपत्रले सम्मान गरेको हो । साविकको धौलागिरी अञ्चलमा सबैभन्दा धेरै रक्तदान गर्ने जिल्लामा पर्ने म्याग्दीमा रक्तदान अभियानलाई प्रभावकारी बनाउन विद्यालयले २०६५ भाद्र १९ देखी ०७५ जेठ २५ गतेसम्म धेरैपटक रक्तदान गर्ने सुरत केसी,विरेन्द्र श्रेष्ठ याम बहादुर शाक्य, चन्द्रकुमार केसी, हिक्मत श्रेष्ठ, हरि गिरी, राजु केसी, दिपक पौडेल र प्रकाश पौडेललाई सम्मान गरिएको विद्यालयका सञ्चालक सदस्य राजु केसीले बताए ।

मानवीय सेवाको नमुना उदाहरणको रुपमा चिनिने रक्तदानलाई प्रोत्साहन गर्ने सम्मान गरिएको विद्यालयले जनाएको छ।२०६५ सालमा जिल्ला अस्पताल परिसरभित्र स्थापन भएको रक्तसञ्चार केन्द्रमा बार्षिक २ सय ५० देखी ३ सय पिन्ट रगत संकलन हुने गरेको छ । नेपाल रेडक्रस अन्र्तरगत रक्तसञ्चार केन्द्रका संयोजक सुरत केसीले बताए । जिल्लामा सबैभन्दा धेरै ३२ पटक रक्तदान समेत केसीले गरेका छन् । जिल्ला अस्पतालमा अप्रेसन सहितको प्रसुती सेवा सहित जटिल अप्रेसन समेत सुरु गरिएपछि रगतको खपत धेरै हुने गरेको छ ।