बेष्ट प्वाइन्ट मन्टेश्वरी प्रिस्कुलको वार्षिक क्यालेण्डर अनुरुप मिति २०७५ असार ५ गते उक्त प्रिस्कुलका टोडलर देखि कक्षा युकेजीसम्मका जम्मा ५५ जना नानीबाबुहरुको नियमित स्वास्थ्य परीक्षण गरिएको थियो । बेनी अस्पताल म्याग्दीका मेडिकल अफिसर डा. विवेक पौडेल र म्याग्दी सञ्जिवनी हस्पिटल प्रा.लिका मेडिकल अफिसर डा. रञ्जित चौरसियाले संयुक्तरुपमा नानीबाबुहरुको स्वास्थ्य जाँच गर्नुभएको थियो भने विद्यालयका मेडिकल एसिस्टेन्ट झकमाया शेरपुञ्जाले औषधि वितरण तथा उपचारमा सहयोग गर्नुभएको थियो ।

डाक्टर विवेक पौडेलले नानीबाबुहरुमा प्रायशः सामान्य रुघाखोकी, भाइरल ज्वरो, कानेगुजीले कान फोहोर हुने, किटाणुले दाँत बिग्रनेजस्ता समस्या धेरै देखिएको बताउनुभयो साथै उहाँले भाइरल ज्वरो सामान्य समस्या भएको हुँदा अभिभावकहरु धेरै आत्तिन नहुने सीधै एन्टिबायोटिक प्रयोग गर्नुभन्दा घरमै थर्मोमिटर प्रयोग गरी पानीपट्टी गर्ने, पानी र झोलिलो पदार्थ तयार खुवााइरहनुपर्ने त्यति गर्दापनि लगातार ज्वरो आएमा मात्र हस्पिटल जानु उचित हुने सल्लाह दिनुभयो ।

नानीबाबुहरुको शैक्षिक विकासलागि नियमित स्वास्थ्य जाँच महत्वपूर्ण भएको र अभिभावकहरुमा आफ्ना नानीबाबुहरुको नियमित स्वास्थ्य जाँचको सचेतना जगाउनका लागि वेष्ट प्वाइन्ट मन्टेश्वरीले गर्मी याम र जाडो याममा गरी वर्षमा दुईपटक स्वास्थ्य परीक्षण कार्यक्रम गर्ने कार्ययोजना अनुरुप उक्त स्वास्थ्य परीक्षण गरिएको वेष्ट प्वाइन्ट मन्टेश्वरी प्रिस्कुलका इन्चार्ज थरीमाया पुनले बताउनुभयो ।

उहाँले स्वास्थ्य परीक्षणलाई सफल गराउनका लागि डाक्टर उपलव्ध गराई सहयोग गरेकोमा बेनी हस्पिटल र म्याग्दी सञ्जिवनी हस्पिटललाई यसैगरी निशुल्क औषधिहरु उपलव्ध अमूल्य सहयोगका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, म्याग्दीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।