गलाको धानको बिउको मालामा, बाला कहिले लहलह झुल्छ हजुर ?

0
186

प्रकाश पौडेल 

खोल्सा र खोल्सी बाढी है आयो बर्षाको बेलैमा
कांधमा हलो हातमा जुवा लागी हुन मेलैमा
मै पनि जान्थें हल गोरु साउनु बेंसीको खैतैमा
लैबरी भाखा गाएको सुन्थें डाँडा र पाखैमा
समयले बर्खा फेरी चक्र अनुसार घुमाएर ल्याइदिएको छ । देशको मुख्य बाली धान रोप्ने कार्यको शुभारम्भ भएको छ । समय अनुसार धान रोपाई हुने ठाउँहरुमा काम सुरु भैसकेको छ भने असार १५ राष्ट्रिय धान दिवस । धान उत्पादन व्यक्तिका लागी सरकारले दिवस नै मानेर अभियान सुरु गरेको छ । जब यो अभियानलाई कार्यक्रमको रुपमा केही संघ संस्थाहरुले ल्याए र त्यहाँ उपस्थित व्यक्तिहरुको अत्यन्तै लाजमर्दो र आम किसानहरुको मन घोच्ने गरि प्रश्नहरुको जन्म भएको छ । सम्माननिय ज्यूहरु , तपाईको गलामा धानको बिउबाट बनेको मालामा कहिले धानका वाला लहलह झुलिन्छ ?

कृषक कसैले धानको बिउ काढेर माला बनाएर लगाउँदैन । नाटक र रमाइलो गर्न भेला भइ पौडी पोखरीमा जस्तै हिलोमा हाम फाल्न र अश्लिलता प्रकट गर्न किन असार १५ नै चाहिन्छ ? जतिबेला मनलागेको समयमा आफ्नो हर्कत प्रस्तुत गर्दा भैहाल्छ । बास्तविक किसानले सोच्ला कि कहाँको परम्परा र नियम रहेछ यस्तो भनेर ।

किसानहरु खेती किसानी गर्ने दैनिकि फरक छ । रोपाइ गर्ने दिनको २ ३ दिन अगाडीबाट खेताला हलि बाउसे गोरु र रोपाइलागी आवश्यक पानिको प्रबन्धमा किसान दौडिन्छ । सबै कामको व्यबस्थापन पछि रोपाईको दिन सुरु हुन्छ । घरमा राखेको मध्य पुरानो कपडा काम अवधि भरको पहिरन बन्न पुग्छ । बिस्तारै हलोको अनो समातेर हिलोमा छिरेका हलिल दाई हिलोमा छ्यापिदै हिले बन्न पुग्दछन् । मकैका डाँठ र ठोसाहरुले खुट्टा काटिन सुरु हुन्छ , आली लगाउने खेत खन्ने बाउसेको औलाँका नंगमा माटो छिरेर आलीमा रहेका घाँसका ठोसाले घोचेर टनटनि दुख्दा पनि काममा निरन्तर लागी रहन्छन् । खेतालीहरु बनेको मेलोमा रोपाई गरेर थकित बन्दछन् । यसरी काममा मरेर लाग्ने किसानहरुलाई त्यो नाटक कस्तो लाग्ला ? खडेरीले छरेको बिउ सबै नउम्रिएर व्याडमा भएको बिउले रापाई नपुग्दा डोको बोकेर खेतकी मालिक्नी आमा छिमेकिको व्याडमा रहेका दुई चार मुठा बिउ उठाउँदै हिड्ने बेला मुठा मुठा बिउ काढेर गलामा लगाउन बनाइएको त्यो माला देखेर के महशुस हुन्छ होला ? पानिले भरिएको खेतको गहरा एक अम्मल बाँकी नराखी जोत्न पर्ने हलि दाईलाई सट पाइन्टमा ठाँटिएर २ ४ सियो गोरुको तालामा जोत्ने नव हलिहरु देखेर कति दिक्दार लाग्दो होला ?

यि मान्छे पनि अचम्म अचम्मले जिन्दगी चलाउछन्
खेतमा घर बनाउछन् अनि छतमा घिरौंला फलाउँछन्

एक गजलकारको यो सेरले साच्चिकै अहिलेको अवस्थालाई दर्शाएको छ । भुमाफियाहरु मुरीका मुरी उब्जाउ हुने जमिनमा मिटर र फिट लागएर लाखौको करोवार गर्दैछन् । उत्पादन हुने भुमिमा गगन चुम्बी भवनहरु फलाउँदै छन् । त्यस्तै भुमाफियाहरुको खेता सम्झनाहरुको एक दिन खेतमा जाने हिलो छ्याप्ने हिलोमै टिका लगाउने र दिवस मनाउने र भोलीबाट फेरि भुमाफियाको कर्ममा सरिक हुनेहरुको जमातमा जनप्रतिनिधि देखि नेता सम्म फसिएर लाइन लागेर होसेमा हैसे मिलाउने नेता मन्त्री मेयर र जनप्रतिनिधिहरुबाट किसनाहरुले यो नाटक चाहिरहेका छैनन् । खडेरीले सुख्खा बन्ने खेतका फाँटहरुमा सिचाँई पुगोस् , कृषिमा नविन र आधुनिक प्रणालीको बिकासबाट उत्पादनमा बृद्धि होस् । गुजारामुखी होइन व्यावसायिक बन्न सकियोस् । बिउ बिजन र मलहरु सहज रुपमा प्राप्त गर्ने वातावरणको निर्माण होस् । कृषिकर्म रमाइलो गर्ने माध्यम होइन देश पाल्ने जिम्मेवारी हो ।

के यसरी सम्भव छ आत्मनिर्भरता ?

आजपनि ३० वटा जिल्ला खाद्य असुरक्षित जिल्लाका रुपमा रहेका छन् । अझ दुखद कुरा अन्नको भण्डार भन्दै आएको तराईका ७ वटा जिल्ला नै यो सूचिमा रहेका छन् ।
खेति जन्य जग्गामा कंक्रिट फलिरहेका छन् । शहरीकरण बढ्दै जाँदा उत्पादनको कमि संगै देश आज भन्दा भोली परनिर्भर बन्दैछ । यो अवस्थालाई नजरअन्दाज गरेर हिलोमा पौडिने नेतृत्वबाट निर्वाहमुखी कृषकले देशमा कृषि क्रान्ति हुन्छ भनेर कसरी पत्याउन सक्छ ?
कछुवाको गति दौडिरहेको यो प्रणालीले ग्रामिण जनताको आर्थिक स्तरमा सुधार ल्याउने सम्भावना देखिदैन । बर्षमा २५ अर्बको धान चामल आयात हुने देशलाई कृषि प्रदानमा देश भनेर कसरी भन्न सकिन्छ ?

धान उत्पादन नेपालको प्रमुख खाद्य बाली हो । कुल ग्राह्स्थ्य उत्पादनमा धानको योगदान मात्रै २० देखि २१ प्रतिशत रहेको तथ्यांक छ ।
नेपाललाई आवश्यक पर्ने करिब ६० लाख मेट्रिक टन धान उत्पादन देशमै किन हुन सक्दैन । आजपनि मलका लागी कृषकहरु छट्पटाइरहनु परेको छ । सिचाँईको प्रबन्ध छैन । नदि कटान क्षेत्रमा तटवन्धको व्यवस्था छैन । नेताहरुले यो दुरावस्थालाई सम्बोधन गर्ने तर्फ बेलैमा अब पनि नसोच्ने हो भने कृषि क्रान्तिको नारा नारामै सिमित हुने पक्का छ ।

देशबाट युवा शक्ति पलायन भैरहैंदा व्यासायिक कृषिलाई पाठ्यक्रममा समावेश गरि बिद्यालय तहबाटै यसप्रतिको आर्कषण बढाउन सक्नुपर्दछ । आफुले आफ्ना लागी र देशको उत्पादनका लागी सबैलाई जिम्मेवार बनाउन आवश्क छ ।

अन्त्यमा , धान उत्पादन कम हुदै गइरहेको अवस्थामा दिवसको नाममा गर्धनमा धानको बिउको माला लगाइ जिम्मेवार व्यक्तिहरुबाट भएको हास्यास्पद गतिविधिलाई समर्थन गर्न किमार्थ सकिदैन । देखाउनलाई हलो नजोतौं , उत्पादनलाई सघाउनलाई जोतौ । बिउलाई चुडेर माला होइन जरा सहित माटोमा रोपौं । नेतृत्व जिम्मेवार बनौं , यसखालको मजाकले बास्तविक किसानको मन रोएको छ ।