बालबालिकाको दाँत किरालाग्नबाट यसरी जाेगाउनुहाेस्

0
184

आधुनिकताका नाममा डब्बा बन्द र प्याकेट बन्द खानेकुरा, जंक फुड, चकलेट, कोल्ड ड्रिंक्सलगायतका खाद्य पदार्थको प्रयोग बढ्दो छ । यस्ता खाद्यको प्रयोगले हाम्रो खानपानसँगै जीवनशैलीसमेत बदलिदिएको छ । साथमा यसले हाम्रो देश नेपालका आधाभन्दा बढी बालबालिकाको दाँत किराले खाएको छ । दाँतमा किरा लाग्ने अनुपात गाउँको दाँजोमा सहरी क्षेत्रका बालबालिकामा झण्डै दोब्बर छ ।

दाँतमा किरा लाग्नबाट कसरी रोक्ने ?

दाँतमा किरा लाग्न नदिन बचाउका केही उपाएहरु अत्यन्त महत्त्वपूर्ण रहेको दन्तरोग बिशेषज्ञहरू बताउँछन् ।बालबालिकालाई उचित बानी व्यवहार, खानपानलगायत स्वास्थ्यसम्बन्धी सकारात्मक कुरा सिकाएर कीरा लाग्ने समस्या ५० देखि ६० प्रतिशतसम्म घटाउन सकिन्छ ।

राति सुत्नुअघि र बिहान खाजा, खाना खाएपछि स्कुल जानुअघि दुईपटक दाँत माझ्नुर्ने डाक्टरहरू सुझाउँछन् । खाना खाएपछि मुख पानीले कुल्ला गर्नु पनि मुख स्वास्थ्यको लागि राम्रो उपाय हो ।बालबालिकालाई हरेकपटक खाना, खाजा खाएपछि खानेपानीले नै राम्ररी कुल्ला गर्न सिकाउनुपर्छ ।

दाँतमा अड्किएका खानाका कण कुल्ला गर्दा पखालिएर बाहिर निस्किन्छन् । खाद्यकण दाँतमा नरहँदा दाँतमा किरा लाग्नुका साथै मुख गन्हाउने समस्या समेत हुँदैन ।प्रत्येक स्कुलले बालबालिकालाई बिहान-बेलुका दाँत माझ्न प्रेरित गर्नुपर्नेमा चिकित्सकहरूको जोड छ । नरम ब्रसमा फ्लोराइड भएको टुथपेस्ट हालेर दाँत माझ्नु राम्रो हुन्छ ।

बालबालिकाको दाँत मुखमा टुसाउने बित्तिकैदेखि नरम कपासले पुछ्ने गर्नुपर्छ ।दूधे बालबालिकालाई दूध, लिटो ख्वाइसकेपछि दुई/चार चम्चा पानी ख्वाउनुपर्छ । यसो गर्दा दूधमा भएको ल्याक्टिक एसिड र खाद्य पदार्थ दाँतको इनामेलको सतहमा टाँसिँदैन र दाँत स्वस्थ रहन्छ ।दूधे दाँत देखि नै मुख स्वास्थ्यमा विचार पुर्‍याउनुपर्छ । बालबालिकालार्इ छ वर्षपछि नियमित रूपमा वर्षको दुईपटक दन्त चिकित्सककहाँ लैजानुपर्छ ।