द मिलिसियाज ब्रखरहुडले म्याग्दीको मुख्य धार्मिक स्थल गलेश्वरधाम मन्दिरमा साउन महिनाको दोस्रो सोमबार स्वयमसेवकका रुपमा कार्य गर्नुका साथै मन्दिर परिसर सरसफाई समेत गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा रहेका युवा शिक्षकहरुको समुह द मिलिसियाज ब्रदरहुडले विभिन्न ठाउँबाट गलेश्वर दर्शन गर्न आउने भक्तजनहरुलाई पूजा व्यवस्थापनमा सहजता ल्याउनका लागि लाईनमा व्यवस्थित गर्ने, शिवलिङ्गहरुमा दर्शनार्थीले चढाएका सिक्का संकलन गर्ने, दर्शनार्थीहरुले चठाएको नरिवल फुटाउने लगायतका कार्यहरु गरेको छ ।

पूजाका क्रममा मन्दिर परिसरमा भक्तजनले चढाएको फूल, यत्रतत्र छरिएका अगरबत्तीका प्याकेटहरु, प्लाष्टिक तथा पानीका बोतलहरु, दुनाटपरी लगायतका विभिन्न सामग्रीहरुबाट मन्दिर परिसर फोहोर भएको हुँदा समूहले दर्शनार्थीहरु फर्किसकेपछि मन्दिर परिसर सरसफाई समेत गरेको हो ।

विद्यालयमा हुने विभिन्न कार्यक्रमलाई व्यवस्थित गर्न युवापङ्क्ति एक हुनु आवश्यक रहेको महसुुस गर्दै युवा शिक्षकहरुले २०७४ सालमा द मिलिसियाज ब्रदरहुड नामक समूहको गठन गरेका थिए । सो पश्चात् विद्यालयमा हुने कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संयोजन गर्दै अगाडि बढाइरहेको र हाल समूहले विद्यालयभित्र मात्र नभएर समुदायमा समेत सेवाभाव दर्शाउँदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने समूहको नीति अनुसार नै गलेश्वर मन्दिरमा स्वयंसेवकको रुपमा खटिई कार्य गरेको समूहका अध्यक्ष सन्दिप मल्लले जानकारी दिए ।

साउनको दोस्रो सोमबार आज गलेश्वरमा स्वयंसेवकका रुपमा सन्दिप मल्ल, रेशमान पुन, सतिश श्रेष्ठ, सुदिप श्रेष्ठ, प्रमोद शर्मा, सन्तोष कँडेल, सञ्जय गुरुङ, विश्वास आले, रोशन गुरुङ, नेल्सन श्रेष्ठ, सविन नेपाली र दिपक जिसी गरी समूहका १२ जना पदाधिकारी सदस्यहरुले कार्य गरेको द मिलिसियाज ब्रदरहुडका उपाध्यक्ष सतिश श्रेष्ठले जनाएका छन्।

साउन महिनाको दोस्रो सोमबार गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की लगायतबाट करिब ३० हजार भक्तजनले दर्शन गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधव प्रसाद रेग्मीले जानकारी दिएका छन् । मन्दिर परिसर र आसपासका क्षेत्रमा थप सरसफाइका लागि श्रीबक्स गुल्म अर्थुङ्गे ब्यारेकबाट प्रत्येक मङ्गलबार टोली खटिई सरसफाई भइरहेको कुरा रेग्मीले बताएका छन् ।