सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविले ‘म अंग्रेजी बोल्छु अभियान’को सुरूवात गरेको छ।संसारभर धेरै प्रयोग गरिने भाषाको रुपमा चिनिएको अंग्रेजी भाषालाई विद्यालयले अनिवार्य प्रयोग गर्ने गरी बिहिबार एक कार्यक्रमका बीच अभियानको सुरूवात गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा सञ्चालक समितिका सदस्य प्रमोद श्रेष्ठ, सुरत केसी र रमेश गिरीले अभियानको उद्घाटन गदैं नेपाली र अंग्रेंजी दुवै भाषामा समान दखल राख्ने गरी विद्यालय समयमा विद्यार्थीलाई अंग्रेजीको प्रयोगमा आर्कषित गर्ने बताए । उनले अंग्रेंजीलाई अनिवार्यले विद्यार्थीको बोलाइ तथा सिकाईमा परिवर्तन आउने बताए ।

सोही अवसरमा सञ्चालक सदस्य केसी र गिरीले विश्वमा करिव ६० राष्ट्रले सरकारी कामकाजमा समेत अंग्रेजी भाषामा प्रयोग गर्ने गरेको बताउँदै अभियानलाई सहयोग पुग्ने गरी विभिन्न रचनात्मक प्रतिस्पर्धालाई समेत ध्यान दिने बताए । विद्यालय समयमा आफ्ना छोराछोरीलाई भेट्न पुगेका अभिभावकलाई समेत अभियानका बारेमा जानकारी गराउने प्रधानध्यापक त्रिदिव उपाध्यायले बताए ।

उनले नेपाली बाहेक सबै पाठ्यक्रम अंग्रेंजीमा हुने भएकाले पनि अभियानले विद्यार्थीको बुझाई क्षमता समेत बढ्ने बताए। उनले नेपाली विषयमा विद्यार्थीलाई शुद्ध र प्रष्ट नेपाली बोल्न, लेख्न समेत सिकाइने बताए । सोही अवसरमा अभियानलाई लक्षित ब्याज समेत वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रअ अमृत सापकोटाले गरेका थिए । विद्यार्थीलाई जवरजस्ती भन्दा पनि पारिवारिक वातावरणमा अंग्रेंजी बोल्न सिकाईने गरी विद्यार्थीकै उपस्थितीमा समेत कार्ययोजना सहित सहभागितामुलक गतिविधि गरिने विद्यालयले जनाएको छ ।