म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा करिव तीन सय वर्ष पुरानो चाँपको रुख परिसरमा २७ वर्ष अघि निर्माण गरिएको चौतारीको संरक्षण गरिएको छ ।बेनपा १ का वडा अध्यक्ष टेकवहादुर रावलको पहल,स्थानीय रत्नसहकारी संस्थाको आर्थिक सहयोग र युवा क्लवको सक्रियतामा चौतारीको मर्मत गरी प्लाष्टर समेत गरिएको स्थानीय रमेश वोगटीले जानकारी दिनुभयो । रत्नेचौरको सिङ्गो इतिहास बोकेको उक्त चाँपको रुख कहिले र कस्ले कुन उदेश्यले रोपेकोे हो भन्ने वारेमा वास्तविक इतिहास नभेटीएपनी उक्त रुख १७ औं शताब्दीतिर रोपिएको स्थानीय बूढापाकाहरुको भनाइ रहेको छ ।

२०५२ सालसम्म माटाको चौतारी रहेकोमा २०५२ सालमा सालमा तत्कालिन वडा अध्यक्ष एवम् स्थानीय समाजसेवी बसन्त बोगटीको सक्रियतामा स्थानीय आमसमुहले देउसी भैलो खेलेर त्यसवाट उठेको रकमले ढुङ्गे चौतारी निर्माण गरिएको थियो । प्राचिन कालमा आपसी झगडा मिलाउन,मेला पर्वको आयोजना गर्न र युवायुवतीहरुले माया पिरतीका कुराहरु गर्नका लागि यो चौतारीको प्रयोग हुने गर्दथ्यो ।