घुँडा खिइने समस्या : यस्तो छ उपचार विधि

0

घुँडा खिइने समस्याले धेरैलाई दुःख दिएको हुन्छ। घुँडा खिइने समस्या दुई प्रकारको हुन्छ। पहिलो उमेरका कारणले घुँडा खिइन्छ भने दोस्रो मोटोपन, बाथ तथा सुगर रोगका कारणले पनि घुँडा खिइन्छ। चोटपटकका कारण पनि घुँडामा समस्या आउन सक्छ।

हड्डीका जोर्नीहरूलाई समातेर राख्ने काम लिगामेन्टले गर्छ। जोर्नीहरूको मुभमेन्टका कारण लिगामेन्टमा क्षति पुग्दै जान्छ। जसले गर्दा जोर्नीमा दबाब पर्न थाल्छ। लिगामेन्टले जोर्नीहरूलाई सजिलै मुभ गराउन लुब्रिकेन्ट्सको काम गर्छ, जसको क्षतिका कारण जोर्नी सजिलै मुभ नहुने र घर्षण भएर खिइँदै जाने हुन्छ। घुँडा खिइने समस्या महिलामा ७० प्रतिशत हुन्छ भने पुरुषमा ३० प्रतिशत हुन्छ। हर्मोनको गडबडीका कारण महिलामा धेरै घुँडा खिइने समस्या देखापर्छ।

घुँडा खिइएको कसरी थाहा पाउने ? 
घुँडा दुख्ने, खुम्च्याउँदा अप्ठ्यारो हुने, सुन्निने, कडापन महसुस हुन्छ। भर्‍याङ चढ्दा अप्ठ्यारो हुन्छ। नियमित हिँड्डुल गर्न पनि गाह्रो हुन्छ। बिहान ओछ्यानबाट उठ्दा भुइँमा खुट्टा टेक्न गाह्रो हुन्छ।

जुन जोर्नी वा घुँडामा समस्या छ त्यसलाई धेरै चलाउनु हुँदैन। तलमाथि वा ओरालो–उकालो बढी हिँड्नु हुँदैन। सहयोगी सामग्रीको सहायतमा हिँड्डुल गर्नुपर्छ। नि क्यापको प्रयोग गर्नुपर्छ। फिजियोथेरापिस्टको निगरानीमा अभ्यास तथा फिजियोथेरापी गर्नुपर्छ।

उपचार 
धेरै नै दुःखको अवस्थामा तत्काल दुखाइ कम गर्ने औषधि सेवन गर्नुपर्ने हुन्छ। मसल रिल्याक्स गराउने स्प्रे प्रयोग गर्न सकिन्छ। मल्टी भिटामिन डी-३, क्याल्सियम सेवन गर्नुपर्छ।

फिजियो थेरापी, अकुपन्चर, प्राकृतिक चिकित्साअनुसार पनि उपचार गर्न सकिन्छ। घुँडाको केही अभ्यास सिकेर घरमै गर्न पनि सकिन्छ। विद्युतीय मेसिनले उपचार गर्ने विधि पनि अपनाउन सकिन्छ। अल्ट्रासाउन्ड थेरापी, सर्ट वेभ डाइफर्मी तथा करेन्टको माध्यमबाट पनि उपचार गर्न सकिन्छ। बढ्दो उमेरसँगै घुँडा दुख्ने समस्या देखापर्‍यो भने बेलैमा सावधानी अपनाउनुपर्छ। आफ्नो उमेर र क्षमताअनुसार मात्र काम गर्ने तथा तौल उठाउने गर्नुपर्छ। उमेर बढ्दै गएपछि दौडिने वा धेरै हिँडडुल गर्नु हुँदैन।

घुँडा खिइएर औषधि तथा फिजियोथेरापीबाट उपचार नहुने अवस्थामा जोर्नी इम्प्लान्ट गर्ने पद्धतिको विकास भइसकेकाले यो विधि पनि अपनाउन सकिन्छ। घुँडा रिप्लेसमेन्ट गर्नुपर्ने अवस्थामा पुग्नुअगावै थोरै सावधानी अपनाउँदा घुँडा खिइने समस्याबाट जोगिन सकिन्छ। – डा.अमरेन्द्र झा, अर्थोपेडिक फिजियोथेरापिस्ट 

-अन्नपूर्ण सम्पूर्णबाट