‘खेलकुद र परम्परागत कला संस्कृतिको संरक्षण गरौं’ भन्ने मूल नारासहित हरितालिका तीजको पावन अवसरमा आयोजित विविध खेलकुद तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । भकुण्डे युथ क्लबको आयोजनामा म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा आयोजित तीज विशेष कार्यक्रम बुधबार सकिएको हो ।

कुल २४ टिम सहभागी भलिबल प्रतियोगितामा गणेश स्मृति युवा क्लब डोले भकिम्ली प्रथम, भकुण्डे युवा क्लब द्वितीय र बराङ्जा युवा क्लब तृतीय भएका थिए । विजयी टिमलाई क्रमशः नगद ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । यसैगरी छेलो फ्याँक्ने प्रतियोगितामा बेनपा–३, भकिम्ली डोलेका गजेन्द्र परियार प्रथम र बेनपा–२, ज्यामरुककोटका रेशम किसान द्वितीय भई नगद तीनहजार, एकहजार पाँचसय र प्रमाणपत्र दिइएको छ ।

भलिबलको प्रथम पुरस्कार क्लब सदस्य भीम नेपाली, द्वितीय सागर थापा र सुमन घिमिेर तथा तृतीय भविन्द्र घिमिरेले प्रायोजन गरेका थिए । क्लबको आफ्नै भवन र स्टेच निर्माण गर्न आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित तीजको अवसरमा भलिबल, छेलो र बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ । कार्यक्रममा सो डान्स प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले नेपालीहरुको महान् पर्व तीजको परम्परा जोगाउनका लागि कला संस्कृतिको संरक्षण गर्नुपर्ने बताइन् । कार्यक्रममा बेनपा–२, का वडा अध्यक्ष हिराबहादुर थापाले योजना छनोट गर्दा स्थानीय आवश्यकता र प्राथमिकताको आधारमा निर्माण गर्ने गरिएको बताएका थिए ।

कार्यक्रममा समाजसेवी टिकाबहादुर कार्कीले मन्तव्य राखेका थिए । कार्यक्रम क्लब अध्यक्ष दिलबहादुर घिमिरेको अध्यक्षता, प्रकाश विश्वकर्माको सञ्चालन र सचिव भीमबहादुर पौडेलको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा कलाकारहरु रवि कार्की, अमृता श्रीपाल, गणेश पौडेल, विष्णु थापा, खिमलाल सापकोटा, शिव बोहोरा र दिपेन थापाले आ–आफ्नो प्रस्तुती देखाएका थिए ।

यसैबीच रत्नेचौर युवा क्लबको आयोजनामा रत्नेचौरमा सञ्चालित बृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रम पनि बुधबारै सकिएको छ । फुटबल प्रतियोगितामा विर गोर्खाली समूह प्रथम र उत्साही समूह पर्वत बेनी द्वितीय भई कप, मेडल र प्रमाणपत्र हात पारेका छन् । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले हाँस्यव्यङ्ग्य एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।