एक महिनामै फेरिन्छ देश

0

कृष्ण जिसी
आमाले सानो प्लास्टिकको थैलीमा कुराउनी लिएर आईन् अनि छोराछारीलाई भनिन् “यहाँ कुराउनी छ । भाइबहिनि सबैलाई मैले बराबर बाँडीदिन्छु कसैले झिकेर नखानु है त ?” तिनजना छोराछोरीले एकै स्वरमा “हस” भने । आमा बाहिर गइन् । ढोकाबाट आमा बाहिरिन नपाउंदै जेठो चाहिं दाइले भन्यो “जा जा आमालाई हेर त ।” एउटा भाइ ढोकामा आमालाई हेर्न बस्यो, एउटाले प्लास्टिकको थैली खोल्यो र चोर औंलाले थोरै झिकेर क्वाप्प मुखमा हाल्यो । घुटुक्क थुकनिल्दै सानी बहिनीले भनि “मलाइ पनि दे नत्र आमालाई भन्दिन्छु ।”

उसले बहिनीलाई पनि थोरै दियो अनि ढोकामा बसेको भाइलाई त दिनै पयार्,े उसले अलिकति कुराउनी ढोकामा उभिएर आमालाई हेर्ने भाइलाई पनि दियो । अनि बाँकिरहेको कुराउनी पोको पारेर जहाँको तहीं राखिदियो । एक छिनपछि आमा आइन । सानी छोरीले भनि “आमा कुराउनी दिनु न?” आमाले पोको हेरिन तर कुराउनी त थोरै छ । अनि गालि गरिन “कसले खायो?” तिनै जना मुखा–मुख गरे किनकि सबै मिलेर खाएका थिए । आमाले भनिन “मैले नखानु, अहिले म आएर बाँडिदिन्छु भनेकी हैन ?” पोको खोल्दै फत्फताउन थालिन “जे नगर्नु भन्यो त्यहि गर्छन ।”

अर्को दिन आमाले फेरी त्यसैगरी कुराउनी ल्याइन । त्यो दिन भने कसैलाई केहि भनिनन् । भुइंमा प्लाष्टिकको पोको फ्यात्त फालिन अनि बाहिर गइन् । केहि बेरपछि छोराछोरी आए, भुइंमा फालेको पोको देखेर जेठो छोराले “के हो यो ?” भन्यो अर्कोले “छि यो त दिसा जस्तो छ” बहिनीले एउटा हातले नाक थुन्दै “छि छि” भन्दै बाहिर मिल्काई । केहि बेर पछी आमा भित्र आइन र सोधिन “यहाँ मैले कुराउनी राखेकी थिएं खै ?” छोरीले भनि “त्यो त दिसा जस्तो भनेर हाम्ले बाहिर फाल्दियौँं” आमाले भनिन “त्यो कुराउनी हो” छोरा छोरी ट्वाल्ल परे । “नगर्नु भनेको कुरा पो गर्छौ त” आमा झर्कीइन ।

माथिका यी दुइवटा प्रसंगबाट के बुझ्न सकिन्छ भने आमाले पहिला भनिन “नखानु ।” नखानु, नगर्नु नजानु, नभन्नु, यी सबै नकारात्मक शब्द हुन् । हामी सबैमा भएको स्वाभाव त्यहि हो, जे नगर्नु भन्यो हामि त्यो झन् छिट्टो गर्छौं । किनकि नकारात्मक कुराको तागत धेरै हुन्छ ९५ प्रतिशत सकारात्मक कुरालाई ५ प्रतिशत नकारात्मक कुराले मारिदिन्छ । त्यसो त मानवमा सकारात्मक र नकारात्मक दुवै कुरा हुन्छन तर नकारात्मक कुरा बढी शक्तिशाली हुन्छ । मर्नको लागि एक बोतल बिष पिउनै पर्दैन एक बिर्को काफी छ । नकारात्मकताको कुराको तागत धेरै हुन्छ चाहे त्यो थोरै किन नहोस ।

प्रसङ्ग बर्तमान मानवीय स्वभाव र शैलीको हो । म र मेरो सामाज अझै भन्नु पर्दा हामि र हाम्रो समाज सबै नकारात्मक कुरामा बढी रुमल्लिइरहेका छौँ । चाहेर या नचाहँदा नचाहँदै पनि यस्ता कुरामा अल्झिईरहेका छौं । चारैतिर नकारात्मक कुरा हावी भैरहेको छ । सकारात्कम उर्जाे मरिरहेको छ । बिहानै उठेर एउटा व्यक्ति नकारात्मक कुरा बोकेर हिड्छ । नैराश्यताले थिचेको भारि मन बोकेर दिनको शुरुवात गर्छ ।

रेडियाबाट बन्द, हड्ताल, हत्या, आतंक, बलात्कारका समाचार सुन्छ । टेलिभिजन हेर्छ त्यहि हत्या, आतंक, बलात्कार, बन्द, आन्दोलन, बिरोधका ब्रेकिंग न्युज देख्छ । पत्रिका पढ्छ त्यस्तै खबरले मुख्य पृष्ठ भरिएका हुन्छन । सामाजिक संजाल हेर्छ त्यहाँ पनि यस्तै कुरा सयौं हजारौं पटक शेयर भएका हुन्छन । अनि उसको मनमा निराशताको बादलले ढपक्कै ढाक्छ ।

हो आज यस्तै भईरहेको छ । एउटा उर्जा र सकारात्मक सोच यस्तै हजारौ निराशता र नकारात्मकताको भुमरीमा सोहोरिएर हराइरहेका छन् । इमान्दारिता कहिँ कतै छैन । दुइचार जना भेट भएर बस्यो कि कुनै बिषयमा घनिभूत छलफल हुनै सक्दैन । उदासिनताले सबैलाई फुङ्ग उडाईदिएको छ । कसैका फरक र उर्जावान सोच अनि बिचार हाँसो बनेर उड्छन् । आखिर यस्तो अबस्थाको सृजना कसरि भैरहेको छ ? किन हामी नैराश्यताको चुलेसिमा रेटीइरहेका छौं ? यस्तो अबस्थाको जिम्मेवार को हो् ? के हामि, हाम्रो समाज यस्तै अबस्थामा रहेको हेर्न सक्छौं ? के हाम्रो सोच सँधै यस्तै हुने हो ? सोच्नु पर्ने बेला आएको छ अब ।

यस्तो कहालीलाग्दो अबस्थाको जिम्मेवारी को हो ? आउनुस सोचौं चिन्तन गरौँ र पहल गरौँ त्यस्ता नकारात्मक र निराशाजनक अबस्थाबाट उम्किएर सकारात्मक र संमृद्धितर्फ उन्मुख हुन । उदेक लाग्दो अबस्था के छ भने, मन्दिर, मस्जिद, चर्च जस्ता पबित्र धार्मिक स्थलहरु बिबादको घेरामा छन् । धर्मगुरुहरु यौनदुराचार, तस्करी जस्ता कुरामा मुछिएका छन् । जनताको सुरक्षामा खटिने प्रहरी, हत्या आतंक बलात्कार र तस्करीको चंगुलमा फसेको घटनाले प्रहरी र प्रहरी प्रशासानले जन–बिस्वास गुमाएको छ ।

भबिष्य निर्माणका प्रणेता मानिएका शिक्षकहरुद्वारा विद्यालयमा हुने बलात्कार र यौन दुराचारका घटनाले शिक्षक र शिक्षा क्षेत्र दुर्ग्न्धित र घृणित भएको छ । न्याय क्षेत्र बेलाबेलामा बिबादित र आलोचित हुने गरेको छ । राजनीतिका कुरा गरि साध्य नै छैन । सबै भन्दा घृणित र दुर्गन्धित राजनीति नै बनेको छ । ब्यबसायीहरुमा नैतिकता हराउदै गएको छ । त्यस्तो कुनै पनि क्षेत्र छैन जुन विवाद र आलोचनाले चुुल्र्लुम नपारेकोहोस् । मिडियाको समेत आलोचित र बिबादले संक्रमित छ ।

संचार र संचारगृहको काम सरकारको पहरेदारी र मुद्दा उठाइदिनु हो । आम व्यक्तिले देख्न नसकेका, थाहा पाउन नसकेका कुरा उठान गरिदिनु हो । तर यहाँ मिडिया आफ्नो तह भन्दा माथि उठेर न्याय र निसाफ दिनसम्म पछी परेको छैन । राजनैतिक गालीगलौज ब्यङ्ग र घोचपेचका कुरा नलेखी, नबोली मिडिया चल्दैन भन्ने बुझाइले प्रश्रय पाएको छ । अनि तिनै कुरालाई “ब्रेकिंग न्युज” भन्दै हाइलाइट गरिदैछ । खबरदारी गरिरहनु पर्छ तर यहाँ अस्तित्व नै सिद्याईदिने खेल पनि मिडियाबाट हुने गर्दछ ।

यदि म गलत छैन भने देशमा बिकास निर्माण, उन्नति, सफलता जस्ता सकारात्मक उर्जा दिने काम पनि त भएकै छन् नि हैनर ? स्वास्थ्य चौकीको उद्घाटन गर्न पुगेका नेताको अभिव्यक्ति जस्तो भए पनि जनस्वास्थ्य र सचेतनाका कुरालाइ हाइलाइट गरेर समाचार आउदैन । उसले कुन चाहिं पार्टीलाई गालि गर्यो, त्यो मुख्य समाचार बनेर आउँदछ । जसले गर्दा आमसंचार प्रति जनविस्वास कम हुदै गएको छ र नकारात्मकता मौलाउदै गएको छ । किनकि कुनै पनि व्यक्तिले मिडिया मार्फत यी सबैकुरा सुनेर, देखेर र पढेर थाहा पाउँदछ ।

आउनुस बहस गरौँ छलफल चलाऔँ । त्यति मात्रै हैन शुरुवात गरौँ । शिक्षा, स्वास्थ्य, सुरुक्षा, संचार, राजनीति, धर्म ब्यापार–ब्यबसाय जो जहाँ छौं, सबैले आफ्नो धर्म, मर्म र नैतिकतालाई आत्मसात गरेर काम गरौँ । यस्तो भयो भने प्रत्येक क्षेत्रबाट निस्किने सानो झिल्कोले सकारात्मकताको ज्वाला बन्छ । धेरै गर्ने पर्दैन, एक महिना, मात्रै एक महिना एउटा ब्यापारी इमान्दार भएर (मुनाफा सहित) सेवाको भावनालाई आत्मसात गर्दै आफ्नो ब्यबसाय चलाओस । एउटा शिक्षक इमान्दार र सच्चा गुरु बनेर विद्यार्थीलाइ मार्गदर्शन गरोस ।

एउटा सेना, प्रहरी इमान्दार भएर देश र जनताको सेवामा लागोस, एउटा डाक्टर कर्तब्य निष्ठ भएर अस्पातालमा आउने बिरामीलाई उपचार सेवा प्रदान गरोस, प्राइभेट क्लिक्निक्मा रिफर नगरोस । एउटा राजनीतिज्ञले इमान्दार बनेर जनताको भावना बुझेर काम गरोस । अनावस्यक आस्वासन र “नेपोटिज्म” को अबस्था सिर्जना नगरोस । कर्मचारीले सेवाग्राहीको काम आजको आजै गरिदियोस ।

हुदैन र भोलि नभनोस । हुन्न भने के कारणले हुन्न ? यो–यो प्रक्रिया पुर्याएर आउनुस भनोस, तरिका बताइदियोस । एउटा संचारकर्मीले इमादारिताका साथ् कलम चलाओस । दुइ चारवटा बिकास र संमृद्धिका समाचार लेखोस । यस्तै र यी सबै कुरा केवल एक महिना, मात्र एक महिना जिम्मेवार भएर गर्यौ भने तत्कालै परिबर्तन हुन्छ । हामी सकारात्मक र स्वार्थ बिहिन भएर काम गर्न थाल्यौं भने पुनः सकारात्मकता हावी हुन्छ अनि संमृद्धि तर्फ हाम्रो समाज उन्मुख हुन्छ ।

अहिले सम्म म लगायत हामि कोहिपनि इमान्दार भएर आफ्नो काम गरेकै छैनौं । हुदैन, भएन, खत्तम, छि छि, यस्ता कुरा गर्दै–गराउंद,ै हेर्दै–देखाउंदै, सुन्दै–सुनाउदै, भोग्दै–भोगाउन्दै, पढ्दै–पढाउँदै आइरहेका छौ । दुःखको कुरो नबन्दै भत्काइन्छन् हाम्रा संरचनाहरु । प्रस्तुत हुन नपाउंदै मारिन्छन हाम्रा बिचारहरु, केवल हाम्रै कारणले शाम्रै स्वभावले, हाम्रै व्यबहार र शैलिले । अब हामि “ब्लेमिंग कल्चरबाट” उम्केर मात्रै एक महिना हामीले बोकेको र लिएको सोच त्यागेर उठौ परिबर्तन सम्भब छ । कुनै जादुको छडीले निमेषभरमा परिबर्तन हुने हैन । सबैले एकैपटक र एकैसाथ शुरुवात गर्यौ भने एक महिनामै परिबर्तन हुन्छ हाम्रो समाज र मुलुक संमृद्ध बन्छ ।