बजार लिँदै जमराको जुस

0
224

बागलुङ नगरको पाखाथरकी ८२ वर्षीया लीलावती शर्मालाई पेट दुख्ने, हातखुट्टा दुख्ने र रक्तचापलगायतको समस्या थियो ।धेरै पटक अस्पताल धाएर पनि बिसेक भएको थिएन ।निरास भएर उनी घरमै बस्थिन् । छोरा हेमलालले जमराको जुस खाँदा धेरै प्रकारका रोग निको हुने सुने । पोखराबाट ल्याउन लगाएर आमालाई एक/दुई दिन खुवाए ।

टाढाबाट ल्याएर दैनिक खुवाउन गाह्रो भएपछि आफैं उत्पादनमा लागे । अहिले हेमलालले व्यावसायिक रूपमै जमराको जुस उत्पादनको काम थालेका छन् । ‘घरको आडरग्राउन्ड तलामा बालुवा र माटो मिसाएर जमरा उब्जाएर उत्पादन थालेको छु’ उनले भने, ‘अहिले आमालाई सञ्चो भएको छ, मेरो र श्रीमतीको पनि स्वास्थ्यमा सुधार भएको छ ।’ कब्जियतलगायत पेटका अन्य समस्या पनि जुस सेवन गर्न थालेपछि निको भएको उनले बताए ।

सुरु सुरुमा मकैको जमरा पनि बनाएका शर्माले अहिले गहुँ र जौका बनाउन थालेका छन् । खानेबेलामा तितो भए पनि जौका जमराको जुस बढी लाभकारी भएको उनले अनुभवबाट सिकेको बताए । सम्भव भए उवाको जुस बनाउन सक्दा झन् राम्रो हुने सेवनकर्ताको अनुभव छ । अहिले शर्माको घरमा दैनिक कहिले ३० जना र कहिले ३५ जनासम्म बिरामी जुस पिउन भेला हुन्छन् ।

हरेक दिन ३० मिलिलिटर सेवन गर्दा स्वास्थ्यमा सुधार हुने उनले बताए । त्यसका लागि उनले काँचका गिलास र जमरा पेल्ने मेसिनसमेत राखेका छन् । ‘मेरो नगद ५० हजार जति खर्च भएको छ तर काम थालेको ६ महिनामै ३० जना बिरामीहरू नियमित सम्पर्कमा छन्,’ उनले भने, ‘केहीले घरमै बनाएर खान्छौं भन्दै सल्लाह लिएर गए ।’

अन्त एक गिलासको १ सय ५० रुपैयाँ सम्ममा बिक्री हुन थालेको जमराको जुस शर्माले भने ५० रुपैयाँमै दिने गरेका छन् । तत्कालका लागि धेरै जनालाई निरोगी बनाउने प्रयास भए पनि नियमित सेवनकर्ता बढदा उनको आम्दानी पनि बढेको छ । सानो लगानी भए पनि उनले दैनिक १५ सय रुपैयाँको जुस बिक्री गर्ने गरेका छन् ।

किराना व्यवसाय गर्दै आएका शर्माको पसलमै पाइने भएकाले दैनिक धेरैजना जमराको महत्त्वबारे बुझ्न पनि आउँछन् । ‘मैले सुरु–सुरुमा उहाँकै घरमा आएर बुझ्ने र खाने गरेको थिएँ,’ बागलुङ नपा ३ का सूर्य गौतमले भने, ‘उहाँबाटै सिकेर आफैं जमरा राख्न थालेको छु ।’

गौतमले आफ्नो उत्पादनसँगै जुस पेल्ने मेसिनको माग बढेकाले बिक्रीका लागि खरिद गरेर ल्याएका छन् । ६ हजारदेखि १२ हजार रुपैयाँसम्मका मेसिन पाइने भएकाले बिरामीहरूले सजिलै खरिद गर्न सक्ने उनले बताए । गौतमले परिवारका सबै सदस्यलाई खुवाउने गरी जमरा उत्पादन थालेको बताए ।

दसैंमा राखिएका जमरा पनि १० दिनमा लगाउने चलन छ । यो चलनजस्तै उनीहरूले पनि ९ दिनदेखि १२ दिनसम्मका जमराबाट जुस निकाल्ने गरेका हुन् । ‘दसैंको जमरामा पनि केही वैज्ञानिक कारण होला भन्ने अहिले चेतना आएको छ,’ गौतमले भने, ‘बूढापाकाले बसालेको चलनबाट पनि हामीले केही सिक्नै पर्ने भयो ।’

एक वर्षयता बागलुङमा झन्डै सय जनाभन्दा बढीले जमराको जुस नियमित सेवन गर्न थालिसकेका छन् । यसको सेवनले अनुहारमा चमक आउने, पेटको रोग निको हुने र दीर्घ रोगीलाई समेत सुधार भएको विश्वास सेवनकर्ताहरूको छ ।

धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्टडेन्ट डा. सागरकुमार राजभण्डारीले जमराको जुसमा पाइने मिनरललगायतको तत्त्वले शरीरको कोष उत्पादनमा सहयोग पुग्ने बताए । ‘म आयुर्वेदमा दक्ष त होइन तर जमरामा पाइने तत्त्व वैज्ञानिक रूपमा रक्तकोष उत्पादनमा सहयोगी हुन्छ,’ उनले भने, ‘क्यान्सरले कोष मार्ने हो । जमराको जुस खाँदा कोष बढ्यो भने स्वभावैले समस्या घटेर जाने नै भयो ।’ इलेक्ट्रोनिक मेसिनमा पेलेर खाँदा भने ती तत्त्व हराउने उनले बताए ।.kantipurdaily.com