दिनेश नारायण श्रेष्ठ
म्याग्दी जिल्लाका मूर्धन्य इतिहासबिद् प्रा.डा. कर्ण बहादुर बानियाँको पछिल्लो प्रकाशित कृति म्याग्दीको इतिहास, संस्कृति र सम्पदा हातमा परेपछि अद्योपान्त अध्ययन गर्दा उक्त कृतिको बारेमा केही टिप्पणी वा विवेचना गर्न मन लागेको हुँदा अन्यथा नलागोस यो धृष्टता गरेको छु । किनकी म कुनै इतिहास सम्बन्धी ज्ञाता होइन नकी संस्कृतिबिद् नै । म एकजना विभिन्न लेखक, बिद्धानहरु, संघसंस्थाहरुले प्रकाशित गरेका म्याग्दी जिल्ला सम्बन्धी परिचय देखि इतिहास, संस्कृति, सम्पदा, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य आदि बिधाका लेख रचनाहरु लगायत विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित समाचारहरुको अध्ययन र संकलक तथा विभिन्न स्थानहरुको अवलोकन भ्रमण गरी म्याग्दी जिल्ला सम्बन्धी केही मात्रामा भएपनि जानकारी राख्ने व्यक्तिको रुपमा आफूलाई लिएको छु ।

कर्ण बहादुर बानियाँ सर मेरो आदरणीय गुरु हुनुहन्छ । उहाँले हामीलाई बेनी स्थित प्रकाश मा.वि.मा छ देखि आठ कक्षासम्म इतिहास बिषय पढाउनु भएको थियो । साहित्यिक उपनाम बानियाँ कान्छा भनेर चिनिनु हुने प्रा.डा. कर्ण बहादुर बानियाँ सरले बालकथा, कविता, लघुकथा संग्रहहरु तथा इतिहास र संस्कृतिका गरी हालसम्म बाह्रवटा कृति प्रकाशित गरि सक्नु भएको छ । उहाँले इतिहास विषयमा बिद्यावारिधी उपाधि हासिल गर्नु भई धेरै बर्षसम्म तानसेन पाल्पा स्थित त्रिभुवन बहुमुखी क्याम्पसमा र त्यसपछि त्रिभुवन विश्वबिद्यालय क्याम्पस किर्तिपुरमा अध्यापन गर्नु भई प्राध्यापक पदबाट हालै मात्र अवकाशको जिन्दगी व्यतित गर्दै हुनुहुन्छ ।

बेनी नगरपालिका वडा नं. ५ पुलाचौर भिरमुनीमा जन्मनु भई हाल भरतपुर चितवनमा स्थायी बसोबास गर्नुहुने कर्ण बहादुर बानियाँ सरको पछिल्लो बाह्रौं कृति पहेंलो गाताको अग्र पृष्ठमा म्याग्दी जिल्लाको इतिहास, संस्कृति र सम्पदा बीचमा म्याग्दी जिल्लालाई छ वटा स्थानीय तहमा विभाजित गरिएको सांकेतिक नक्शा र मुनी लेखकको नाम र पछाडि पृष्ठमा लेखकको फोटो, नाम र प्रकाशित कृति भनेर इतिहास र संस्कृतिका सात कृतिहरुको नाम छापिएको छ । बिष्णुदेबी बानियाँ प्रकाशक रहेको पहिलो संस्करण प्रकाशित मिति २०७५ मा १००० प्रति प्रकाशित उक्त पुस्तकमा ४८१ पृष्ठ, मूल्य रु. ७५०, नौ अध्याय, ३९ तालिका र ५२ वटा चित्रहरु रहेका छन् ।

इतिहास मानव समाजको दर्पण हो जसले अतीतका यथार्थ तथ्यहरुको इतिबृत्ति गराउँदछ । इतिहास दुई किसिमको हुन्छ – लिखित र मौखिक । धेरैजसो इतिहास मौखिक रुपमा नै रहेको हुन्छ । किनकी लिखित इतिहास तयार गर्नका लागि इतिहासकारको जरुरत पर्दछ । तर मौखिक इतिहास भने एकले अर्कालाई भन्दै र सुन्दै आइएको हुन्छ । इतिहासकारले तत्काल प्राप्त एतिहासिक तथ्यको आधारमा व्याख्या र विश्लेषण गरेर कुनैपनि समाज, क्षेत्र वा व्यक्तिको इतिहास तयार गर्दछ । मौखिक रुपमा रहेको इतिहास जनश्रुतिमा आधारित हुने हुनाले व्यक्ति–व्यक्ति बीचको श्रुति भिन्नताका कारण कालान्तरमा कुनै पनि कुरा बिकृत हुन सक्दछ र त्यसलाई सच्याउन कठिन हुन्छ ।

यद्यपी लिखित इतिहास पनि लेखकमा रहेको चिन्तन र उसले प्राप्त गर्न नसकेका तथ्यको कारणले अधुरो वा बिकृत हुन सक्दछ । तथापी ती कमीकमजोरीलाई पछि प्राप्त हुने तथ्यको आधारमा अर्को लेखकले सच्याउन सक्ने गुन्जायस रहन्छ । तथ्यहरु हराएर वा मासिएर जान नपाउन भन्नाको खातिर जुनसुकै स्थान समाज वा व्यक्तिको इतिहास सकभर तत्काल लिपिबद्ध गर्नु अति उत्तम कार्य ठहर्दछ । यही महान उद्देश्यको अभिप्रेरणाले आफ्नो जन्मस्थल तथा कर्मस्थल म्याग्दीको इतिहास लिपिबद्ध गर्ने जमर्को गरेको छु भनी आफ्नो कृतज्ञताज्ञापनको पहिलो हरफमा लेखकले उल्लेख गर्नु भएको छ ।

त्यसैले लेखक बानियाँ सरले विभिन्न इतिहास र संस्कृतिबिद्हरुद्धारा विभिन्न पुस्तक, स्मारिका, पत्रपत्रिका, वेभसाइट आदिमा विभिन्न समयमा पूर्व प्रकाशित अनुसन्धानात्मक लेख रचनाहरु, मालपोट कार्यालय–म्याग्दी, पाल्पा, नेपाली सेनाको पुस्तकालय, राष्ट्रिय अभिलेखालयमा रहेको माइक्रो फिल्म लगायत विभिन्न सन्दर्भ ग्रन्थहरु एकिकृत गरेर आफ्नो विषय अनुकूल समाबेश गरी विभिन्न ज्ञाता व्यक्तिहरुसंग अन्र्तबार्ता र सोधपुछ गर्नु भई एउटा खोजमूलक अनुसन्धानात्मक कृति तयार पार्नु भई एक महान कार्य गर्नु भएको छ । त्यसैले उहाँ हामी विशेष गरी म्याग्दी जिल्लाबासीहरुको बिशेष धन्यवादको पात्र हुनु हुन्छ ।

यस पुस्तकमा लेखकले वर्तमान म्याग्दी जिल्ला अस्तित्वमा आउनु भन्दा पहिले प्राग–एतिहासिक प्राचीनकाल देखि हालसम्मकै इतिहासका तथ्यगत बुँदाहरु, केही रोचक तथ्यहरु, बिषयगत बिश्लेषण र निचोड प्रस्तुत गर्नु भएको छ । तर यसको वावजुद केही बुँदाहरु अनाबश्यक रुपमा समाबेश गरिएको, कतिपय कुराहरु दोहोरिएको, कतिपय कुराहरु छुट्न गएको वा समाबेश नभएको, तिथिमिति र अङ्क फरक पर्न गएको, छपाई अशुद्धि वा शुद्धाशुद्धी जस्ता कुराहरुमा ध्यान पु¥याउन नसकिएको केही कमी–कमजोरीहरु पनि रहेका छन् ।

लेखकले इतिहासको बारेमा वि.सं. २०१८ देखि २०६८ सालसम्मको बिस्तृत विवरण, व्याख्या र बिश्लेषण गरिएको छ भनिएको छ तथा चौंथो अध्यायको राजनीतिक पक्षमा २०७५ जेठ ८ गतेसम्मको विवरणहरु समाबेश गरिएको छ । लेखकको राजनीतिक आस्था, बिचार र सिद्धान्त कुनै एक पार्टी प्रति अटल होला र यसलाई अन्यथा लिनु पनि हुँदैन । तर यस पुस्तकमा तड्कारो रुपमा खड्किने र खाना खाँदा दाँतमा ढुङ्गा परेको जस्तो अनुभूति हुने म्याग्दी जिल्लाको इतिहास, संस्कृति र सम्पदा पुस्तकको पाना ४७१ मा समाबेश भएको नेपाल कम्युनिष्ट पार्टी, केन्द्रीय कार्यालय, काठमाडौंको सोही मितिमा जारी प्रेस बिज्ञप्तिलाई लिन सकिन्छ ।

म्याग्दी जिल्लाबाट उक्त कार्य समितिको केन्द्रीय सदस्यमा थममाया थापा र भुपेन्द्र बहादुर थापा दुई जना मनोनित भएका छन् भनेर पाना १४५ मा उल्लेख गरिएकै छ । मेरो बिचारमा परिशिष्टको संख्या १३ समाबेश गर्नु जानकारीमूलक त हुँदै हो तर आबश्यकता र सान्दर्भिक भए जस्तो लाग्दैन ।

यसै अध्यायको पाना ६१ मा तत्कालिन चौबिसी राज्य मध्येको पर्वत राज्यलाई पर्वत जिल्ला मानिएको र तत्कालिन सो जिल्ला अन्र्तगत र हालको म्याग्दी जिल्ला अन्र्तगत पाखापानीमा वि.सं. १८९७ सालमा तुले रोहानीले तत्कालिन शासन सत्ताको बिरुद्ध हतियार उठाई गरेको बिद्रोह र त्यसलाई दवाउन को–को कहाँ–कहाँबाट खटिएका थिए भनेर सन्दर्भ सूची सहित रोचक ढङ्गले प्रस्तुत गर्नु भएको छ । अन्य राजनीतिक घटनाक्रम, आन्दोलन, काण्ड, पार्टीहरुको गतिविधि र गठन सम्वन्धमा पनि सविस्तार उल्लेख गरिएको छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ गठन भएको उल्लेख गरिएको छ । तर नेपाल कम्युनिष्ट पार्टी लगायत अन्य पार्टीहरुको भातृ संगठनहरु गठनको उल्लेख गरिएको छैन ।

राजनीतिमा जन सक्रियता अन्र्तगत विभिन्न कालखण्डमा स्थानीय, जिल्ला र केन्द्रीय तहसम्म को–को निर्वाचित र मनोनयन भए भनेर पछिल्लो निर्बाचन २०७४ मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभासम्मको विवरणहरु प्रस्तुत गरिएको छ । त्यसैगरी थम माया थापा संघीय नेपालको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हुनु भएको २०७४ फाल्गुन ३ गतेको विवरण समेट्नु भएको छ तर २०७४ चैत्र १२ गते पहिलो गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्री हुनु भएकी नरदेवी पुनको भने छुट्न गएको छ ।

म्याग्दी जिल्लाको ओखरबोटमा जन्मेर राष्ट्रिय राजनीतिमै प्रभावकारी भूमिका निर्वाह गर्न सफल हुनु भएका तत्कालिन संयुक्त जनमोर्चाका अध्यक्ष, ६२–६३ सालको सफल लोकतान्त्रिक जनआन्दोलन पश्चात गठित मन्त्रिमण्डलको उप–प्रधान तथा स्वास्थ्य मन्त्री, तत्कालिन माओबादी केन्द्रका बरिष्ठतम नेता तथा हालका नेपाल कम्युनिष्ट पार्टीका स्थायी आमन्त्रित सदस्य अमिक शेरचनको बारेमा यस पुस्तकमा कहींकतै उल्लेख गरिएको छैन । भलै उहाँले म्याग्दी जिल्लालाई आफ्नो राजनीेतिक कार्यक्षेत्र नबनाई चितवन जिल्लालाई बनाउनु भयो तर जन्मेको त म्याग्दी जिल्लामै हो नी ।

तेश्रो अध्यायको प्रशासनिक पक्ष अन्र्तगत म्याग्दी जिल्लामा २०२४ देखि २०७४ श्रावण र कार्तिकसम्म नियुक्त प्रमुख जिल्ला अधिकारीहरु र स्थानीय बिकास अधिकारीहरुको नावावली दिइएको छ । अन्य कार्यालय प्रमुखहरुको नामावली दिइएको भए अझ राम्रो हुने त थियो । तर पुस्तकको पृष्ठ अझै बृद्धि भई भद्दा हुने सम्भावना रहन्थ्यो । मेरो बिचारमा पाना ५४ मा प्रमुख जिल्ला अधिकारीका काम, कर्तव्य र अधिकारहरु भनेर उल्लेख गरिएको छ । ती काम, कर्तव्य र अधिकार नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीहरुको काम, कर्तव्य र अधिकार हुन् न की म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारीको मात्र ।

छैटौं अध्यायको आर्थिक पक्षमा पाना २६५ मा जागिर अन्र्तगत प्रशासनिक क्षेत्रमा नेपाल सरकारको विशिष्ट श्रेणी सचिव पदमा राखु पिप्लेका राज कुमार मल्ल हुनु भएको थियो भने नेपाल प्रहरीको नायव प्रहरी महानिरिक्षक (डिआईजी) मा राखु पिप्लेकै देबेन्द्र बहादुर मल्ल हुनु भएको थियो । त्यसै गरी तत्कालिन श्री ५ को सरकारको प्रथम श्रेणीमा कर विभागको महानिर्देशक पदमा बाबियाचौरका ललित बहादुर खड्का हुनु भएको प्रस्तुत पुस्तकमा छुट्न गएको छ ।

त्यसैगरी म्याग्दी जिल्लामा कार्यरत विभिन्न संघसंस्थाहरुको बारेमा पनि उल्लेख गरिएको छैन । शिक्षा, स्वास्थ्य आदिको बारेमा पनि छोटकरीमा मात्र बर्णन गरिएको छ । पाना २१५ मा श्रीपञ्चमीमा पुराना ऋण चुक्ता गर्ने, नयाँ ऋण लिने, हली, गोठाला फेर्ने, मास, चामल, घिउ, अदुवा र अन्य मसला मिसाएर खिचडी पकाएर खाने चलन छ भन्ने कुरा उल्लेख गरिएको छ । मैले केही बर्ष पहिले शान्ता चौधरीको पुस्तक अध्ययन गर्दा तराई क्षेत्रका थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा धुमधामसंग मनाउने र माथि उल्लेखित कार्यहरु सोही पर्वको अवसरमा सम्पन्न गरिन्छ भनेर पढेको थिएँ ।

साथै म्याग्दी जिल्लामा माघे सक्रान्तिको दिनमा आफ्ना चेलीहरुलाई आमन्त्रण गरी खिचडी खाने चलन रहेको छ नकी श्रीपञ्चमीको दिनमा । त्यसै गरी पाना २१६ मा नेवार जातिमा चैत्र मसान्तका दिन बिस्केट जात्रा मनाउने चलन छ भनिएको छ । बिस्केट जात्रा भक्तपुरबाट गएका नेवारहरुले मात्र मनाउने गर्दछन् भने काठमाडौंबाट गएका नेवारहरुले घोडेजात्रा, बनेपाबाट गएका नेवारहरुले चण्डी पूर्णिमा आदि मनाउने गर्दछन् ।

म्याग्दी जिल्लाको वर्तमान स्वरुप यसो हेर्दा अंग्रेजी वर्णमालाको ग् अक्षरसंग केही अंश मिल्दोजुल्दो देखिन्छ । म्याग्दी जिल्लाको कुल क्षेत्रफल २२९७.०६ वर्ग कि.मी रहेको छ । विश्व मानचित्रमा यो जिल्ला ८३ डिग्री ८ मिनेट देखि ८३ डिग्री ५३ मिनेट पूर्वी देशान्तर र २८ डिग्री २० मिनेट देखि २८ डिग्री ४७ मिनेट उत्तरी अक्षांशमा अवस्थित रहेको छ । समुद्री सतहबाट न्यूनतम ७९२ मिटर देखि अधिकतम ८१६७ मिटरसम्मको उचाईमा यो जिल्लाको भूभाग रहेको म्याग्दी उद्योग बाणिज्य संघबाट प्रकाशित स्मारिका २०७४ मा उल्लेख गरिएको छ ।

नेपाल संघीय गणराज्यको वि.सं. २०७२ असोज ३ गते जारी संविधानमा व्यवस्था भए अनुसार ७ प्रदेश र ७७ जिल्ला मध्ये गण्डकी प्रदेश नामाकरण हुनु भन्दा पहिले प्रदेश नं. ४, पाँच बिकास क्षेत्र मध्ये पश्चिमाञ्चल बिकास क्षेत्र, वि.सं. २०१८ सालमा नेपाल अधिराज्यलाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा धौलागिरी अञ्चल अन्र्तगत पहिलो पटक म्याग्दी जिल्लाको गठन र नामाकरण भएको पाउँछौ । शुरुमा म्याग्दी जिल्ला गठन गर्दा २१ गाउँ पंचायत थियो भने २०२८ सालमा जनगणना गर्दा २५ गाउँ पंचायत रहेको पाउँछौ ।

२०३२ सालमा जिल्ला र गाउँ पंचायतको सीमा र क्षेत्र व्यापक रुपमा हेरफेर गरी रघुगंगा उत्तरको १२ गाउँ पंचायत मुस्ताङ्ग जिल्लाबाट र काली गण्डकी पूर्वको पर्वत जिल्लाबाट ७ गाउँँ पंचायत म्याग्दी जिल्लामा गाभिएको थियो । त्यसैगरी पुःन २०३५ सालमा विभिन्न जिल्लाहरुको सीमाक्षेत्र परिवर्तन गरी म्याग्दी जिल्लाको मालिका गाउँ पंचायत बाग्लुङ्ग जिल्लामा तथा नागी गाउँ पंचायतको ६ वटा वडा पर्वत जिल्लामा गाभिए पछि माथि उल्लेख गरिएको बर्तमान म्याग्दी जिल्लाको स्वरुप बनेको पाउँछौ ।

२०३९ सालमा यस जिल्लाको गाउँ पंचायतहरु गाभ्ने र छुट्याउने गरी ४० वटा गाउँ पंचायत कायम गरिएको पाउँछौ । २०५८ भाद्र ४ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार शिखघार गाविसलाई विभाजन गरे पछि ४१ गाविस कायम भएको थियो । २०७१ बैशाख २५ गते ६ वटा गाविस मिलाएर बेनी नगरपालिका बनाइए पछि १ नगरपालिका र ३५ गाविस कायम भएकोमा २०७३ फाल्गुन २७ गते पश्चात म्याग्दी जिल्लामा एक नगरपालिका सहित ५ गाउँपालिका, कुल ४५ वडा, एक प्रतिनिधिसभा र दुई प्रदेश सभा सदस्य प्रतिनिधित्व हुने गरी राज्यको नयाँ संघीय ढाँचा अनुसार पुर्नसंरचना गरिएको छ ।

नेपाल लगायत म्याग्दी जिल्लाका अधिकाशँ जनताहरुको कृषि पेशा जिविकोपार्जनको लागि निर्वाहमुखी परम्परागत पद्धति अपनाई रहेको र केही हुनेखाने जमीन्दारहरुले मात्र बस्तुसंग साटफेर वा बिक्री वितरण गर्ने गरेकोमा सन् १९६२ अर्थात बि.सं. २०१९ पश्चात अमेरिकन पिसकर्प स्वयमसेवकहरुको म्याग्दी जिल्लामा समेत आगमन भएबाट पोषण, शिक्षा र स्वास्थ्य क्षेत्रमा परिवर्तनमूलक जनचेतना अभिबृद्धि हुने कार्यका साथै कृषि र पशुपालन क्षेत्रमा सानै लगानीमा भए पनि व्यावसायिक आधुनिक नविन प्रविधिको प्रयोग गर्न तालिम र शिक्षा अभियान संचालन गरेको पाउँछौं । तर प्रस्तुत पुस्तकमा कहीं कतै यसबारेमा केही कुरा उल्लेख गरिएको छैन ।

सिवाय पाना ३३४ को चित्र संख्या २१ मा वि.सं. २०२२ तिरको बेनी बजार र आसपासको क्षेत्र भनेर सन् १९६५÷११÷१४ मा पिसकोर भोलेण्टियर वायने स्टिनसनले खिचेको तस्वीरलाई बेनी अनलाइनबाट साभार गरी छापिएको छ । उक्त तस्वीर नेपालमा पीसकर्प भोलेण्टियर्सहरुको आगमन भएको बर्ष सन् १९६२ देखि नेपालको बिभिन्न ठाउँ र अवसरहरुमा विभिन्न भोलेण्टियरहरुबाट संकलन गरी १९ हजार भन्दा पनि धेरै तस्वीरहरु र ती तस्वीरहरुको मुनी लेखिएको क्याप्सनमा उल्लेखित विवरण अनुसार म्याग्दी जिल्लाको पनि विभिन्न स्थान, अवसर, व्यक्ति, परिवार र समाज बिशेषलाई फोकस गरी इन्टरनेट वेभसाईट धधध।चयगलमष्mबनष्लन।अयm मा उपलव्ध गराइएको छ ।

नेपालको विभिन्न गाउँ, ठाउँ लगायत म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार, धौलागिरी हिमाल, दरबाङ्ग, ताकम, मुना, गर्जा, भुरुङ्ग तातोपानी, दाना लगायत स्थान बिशेष, बजार, गाउँ, शहरका घरहरु, समाज, परिवार, व्यक्ति आदिको रहनसहन, पोशाक, चाडपर्व र पेशा व्यवसायलमा सम्लग्नता बारेमा ५० बर्ष भन्दा अघि कस्तो थियो भनेर ती तस्वीरहरु र त्यसको मुनी क्याप्सनमा लेखिएको विवरणहरुबाट पनि त्यसबेलाको इतिहास, संस्कृति र सम्पदा बारेमा धेरै थोरै भए पनि जानकारी प्राप्त गर्न सकिन्छ ।

तिथिमिति तथा अन्य शुद्धाशुद्धि
पाना नं. ७ मा बैंक सुविधा अन्र्तगत काष्ठमण्डप, निलगिरी, पश्चिमाञ्चल, प्रभु फाइनान्स, सहकारी बैक भनेर नाम दिइएको छ । यी दिइएका नामहरु हाल अस्तित्वमा छैनन् र अन्य बैंक तथा बित्तीय संस्थाहरु थप भएका छन् भने सहकारी बैंकको बेनीमा शाखा छैन बाग्लुङ्गमा मात्र रहेको छ । पाना नं. ८ मा होटल सुविधामा जिल्लामा ५५ वटा महँगा होटल छन् जहाँ बिदेशी पर्यटक मात्र बस्न सक्दछन भन्ने उल्लेख गरिएको छ जव कि ती कुनै तारे होटल नभएका हुँदा आन्तरिक पर्यटकहरु बस्न सक्दैनन् वा खर्च बहन गर्न सक्दैनन् भन्नु त्यति युक्तिसंगत हुँदैनन् कि ? त्यसैगरी पाना नं. ४७ मा बेनीमा स्याटेलाइट केन्द्र थियो भनिएको छ जव कि हामी सानो हुँदा र बेनीमा टेलिफोनको सुविधा नपुग्दासम्म अर्थात २०४३(४४ सालसम्म आ.वा. अर्थात आकाशवाणी केन्द्र थियो जुन ठाउँलाई आवारोड भनेर पनि पुकारिन्छ । अर्थुङ्गेका याम बहादुर के.सीलाई सोही आवाको अपरेटर उपनामबाट चिनिन्छ ।

पाना नं. ६८ मा छत्तिससालको आन्दोलन अन्र्तगत वि.सं. २०३७ साल बैशाख १९ गते राति बेनीबजारमा बहुदल पक्षधर र निर्दल पक्षधर बीच झडप भएको थियो भनिएको छ । १९ गते होइन भन्ने म आफै जानकार थिएँ किन कि उक्त झडप हुँदा बहुदल पक्षधर व्यक्तिहरुसंग म आफै पनि सामेल थिएँ र प्रत्यक्षदर्शी हुँ । सो बारेमा डा. भुपेन्द्र बहादुर खड्कासंग कुराकानी गर्दा मतदानको मौन अवधि शुरु हुने राति बीबीसीको समाचार सुनिरहेको समय तिर हो अर्थात ९ बजेको आसपास हो भन्नु भएको थियो ।

जनमत संग्रहको मतदान हुने मिति बैशाख २० गते मौन अवधि शुरु हुने त्यसको ७२ घण्टा अगाडि अर्थात १७ गते तिर हुनुपर्छ भन्ने भनाई रहेको छ । पाना नंं. १०५ मा वि.सं. २०४३ मा रुद्र बहादुर के.सी. पंचायत नीति तथा जाँचबुझ समितिको केन्द्रीय सदस्यमा मनोनित भएका थिए हुनु पर्नेमा भाषा यताउता हुँदा उक्त समिति गठन भएको भन्ने बुझिन्छ । पाना नं. ११२ मा २०६३ सालमा संसद पुर्नस्थापना हुँदा नारायण सिंह पुनको देहान्त भइसकेको थियो र पाना नं. १५५ मा २०६३ सालमा देहान्त भएपछि नेपाल समता पार्टी छिन्नभिन्न भयो भन्ने उल्लेखित छ । तर नारायण सिंह पुनको निधन बि.सं. २०६४ साल फाल्गुन ९ गते बिहिबार तदनुसार सन् २००८ फेब्रुवरी २१ तारिखमा उपचारको क्रममा नयाँदिल्लीमा भएको हो ।

पाना नं. ११० मा छत्तिसे र पचहत्तरे बीचको बिबाद भनिएको छ त्यसमा छत्तिसे र चौहत्तरे हुनु पर्ने हो । पाना नं. १२४ मा नारायण सिंह पुन सहायक मन्त्री हुनु भएको कार्यकाल २०५६(२०५७ उल्लेखित छ त्यो २०५६ असार देखि २०५६ चैत्रसम्म हो । पाना नं. १२८ मा खेम भट्टचन हुनु पर्नेमा शेरचन भएको छ । पाना नं. १४७ मा २०१५ सालको निर्बाचनमा नेपाली काँग्रेसले प्रतिनिधिसभाका १०९ सिटमध्ये ७९ सिट प्राप्त गरेको उल्लेखित छ । ७९ नभई ७४ सिट हो । १४८ मा सुरज कुमार श्रेष्ठ हुनु पर्नेमा सुरजमान भएको छ । पाना नं. १५० मा नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिक एकिकरण भएको भनेर वि.सं. २०६२ साल असोज २७ गते उल्लेख (श्रोतमै गल्ती) गरिएको छ ।

सो २०६४ साल असोज ७ (नेपाली काँग्रेस र नेपाली काँग्रस प्रजातान्त्रिकको एकिकरण महाधिवशेन २०६४ असोज ५, ६ र ७ गते पछि) भएको हो । पाना नं. १७३ मा थकाली जातिको बसोबास कुइनेमंगलेमा छुटाईको छ । पाना नं. २०४ मा विवाह अन्र्तगत मामा र फुपूकी चेला चेलीबीच विबाह गर्न बर्जितमा खसआर्य जातिका ब्राह्मण र क्षेत्री जातमा भनिएको छ त्यो नेवार जातिमा पनि बर्जित छ । पाना नं. २२१ मा आहारविहार अन्र्तगत म्याग्दीमा उत्पादन हुने धानहरुमा मसिनो र बास्नादार चामलको रुपमा प्रख्यात गौरिया धानको नाम छुटाइएको छ ।

पाना नं. २३५ मा हरिबन्दीको कृति रत्न बहादुर विष्टको जीवनी (२०४६) उल्लेख गरिएको छ जवकी राम प्रसाद सुवेदीको म्याग्दी ः श्रष्टा र सृष्टिको पाना नं. १०९ मा २०४२ उल्लेखित छ । त्यसैगरी पाना नं. २४२ मा कथा÷लघुकथा विधामा सन्जय कुमार श्रेष्ठको कथा संग्रह सम्मान र ताली २०७२ कार्तिक मा प्रकाशित गरेको छुट्न गएको छ । बेनीमा वि.सं……. सालमा गठित संगीत बिकास समितिले गीत र सगीत क्षेत्रमा पु¥याएको योगदानको बारेमा पनि कृति मौन रहेको छ । यी त केही प्रतिनिधि उदाहरणहरु मात्र हुन् । अन्य अरुहरुका थाहा नभएका कति छुटेका हुन सक्छन् ।

पाना नं. २८१ मा खानी संचालन र ३१० मा खानीहरु भनेर एउटै कुराहरु दोहोरिएका छन् । पाना नं. ३११ मा सविताका खानीहरु सञ्चालन भएका थिए भनिएको छ । सविताका खानीहरु भनेको के हो बुझ्न सकिएन । पाना नं. ३१३ मा बनस्पतीहरु अन्र्तगत म्याग्दी जिल्लाको धरातलीय भूबनोट ९१५ मिटर होचो भूभाग देखि ८१६७ मिटरको उच्च भूभागसम्म रहेको उल्लेखित छ । तर म्याग्दी जिल्लाको सबैभन्दा होचो भूभाग ७९२ मिटर मापन गरेको भनेर बेनी नगरपालिका वडा नं. १ को रत्नेचौर मुनी ढोडेनी खोला र कालीगण्डकी नदीको दोभानलाई मानिएको छ । बेनीबजारलाई नै जीपीएस सिष्टमको अल्टीमिटरले ८४० मिटरको आसपास देखाउँछ भने ९१५ मिटर कसरी होचो भूभाग हुन सक्छ ?

पाना नं. ३२४ मा टोड्केमा २०७२ फाल्गुनमा लाल युवा क्लवको सक्रियतामा दोश्रो गुरासँ महोत्सवको आयोजना गरिएको भनिएकोमा टोड्के क्षेत्र विकास कोषले आयोजना गरेको र गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालको सिफारिसमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०१५ सेप्टेम्वर २७ का दिन ३६ औं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा काठमाण्डौमा टोड्केलाई पर्यटकीय गन्तव्य र झीँ, वाखेत र पूर्णगाउँलाई होमस्टे गाउँ घोषणा गरेको राष्ट्रिय र स्थानीय विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशित भएको पनि छुट्न गएको छ ।

पाना नं. ३६३ मा फागु मेला बेनी बजारका नेवार समुदायहरुले पनि भगवती मन्दिरमा भेला भै फागु गीत गाउँदै एकअर्कामा रंग अविर दलेर बजार परिक्रमा गरेर धुमधामसंग मनाउँदछन् भन्ने कुरा छुट्न गएको छ । त्यसै गरी पाना नं. ३६४ मा बेनीमा देखाइने नेवार संस्कृतिका जात्रा र नाचहरुमा घोडे नाचको बारेमा नै छुट्न गएको छ भने नाच नाच्ने कलाकारहरु र बजाउने संगीतकर्मीहरुको धेरैको नाम छुट्न गएको छ । पाना नं. ३७३ मा जोगी नाच नाच्ने कलाकारहरु भनेर तीन जनाको नाम र अन्य विभिन्न कलाकारहरु भनिएको छ । जोगीनाच, रोपाई नाच, हनुमान नाच एकदुइ जना कलाकार मात्र नाच्ने नाच नभई धेरै जना सहभागी भएर नाचिने नाच हो । त्यसैगरी मेला पर्व अन्र्तगत वाखेतको हरेलो मेलाको बारेमा पनि छुट्न गएको छ ।

पाना नं. ३८९ मा बेनीका ऐतिहासिक तथा धार्मिक स्थलहरुमा दोविल्लाको शिवालयको बर्णन गर्दा ढु«ङ्गैढङ्गाले गुम्बज शैलीमा निर्माण गरिएको एक शिवालय जसलाई दोविल्लाको शिवालय भनिन्छ भनिएको छ । त्यस मन्दिरको शीरबाट बरपिपल झ्याँगिएको र त्यसको जरा र हागाँविंगाले मन्दिरलाई जकडाएर राखेको एक सुन्दर, आकर्षक र ऐतिहासिक मन्दिर रहेको छ र हाल त्यस मन्दिरलाई भर्तिबम शिवालय नामले पुकारिन्छ भनिएको भए अझै सुृन्दर हुने थियो कि भन्ने मेरो बिचार रहेको छ ।

मुद्रा राक्षस अर्थात छपाई अशुद्धि
कुनै पनि छपाई वा प्रिन्टिङ्ग गर्दा भरसक अशुद्धि नहोस भनेर सतर्कता अपनाइएको हुन्छ । तर यसको बावजुट पनि अशुद्धि हुन जान्छ नै । यस पुस्तकमा पनि केही कम्प्युटर टाइपिङ्ग गर्दा वा छपाई अशुद्धिहरु रहेका छन् । जस्तै प्रशासन हुनु पर्नेमा प्रशान(२७), विद्रोहमा हुनु पर्नेमा बिद्राहमा(४५), सरकारी वा सहकारी (४७) हुलाक, रोल्पाको होलेरी हुनु पर्नेमा कुलेरी(७६), समिति हुनु पर्नेमा सिमिति(१३१), भेदभावपूर्ण हुनु पर्नेमा भेदभापूर्ण (१८६) ससुराली हुनु पर्नेमा सुराली (२२२) आदि यस्तै सामान्य छपाई अशुद्धिहरु रहेका छन् ।

अन्त्यमा लेखक आदर्निय गुरु बानियाँ सरले हामीलाई म्याग्दी जिल्लाको सम्वन्धमा पहिलो कृतिको रुपमा प्राग–एतिहासिक पौराणिककाल देखि हाल वर्तमान आधुनिक कालसम्मको इतिहास, संस्कृति र सम्पदाको बारेमा अथक प्रयास र मिहिनेत गरी अनुसन्धानात्मक पुस्तक हामी समक्ष ल्याउनु भएको छ । यो अति नै सह्राहनिय र अतुलनीय रहेको छ । प्रस्तुत पुस्तक म्याग्दी जिल्लाको सम्वन्धमा चासो राख्ने र खोजिनीति गर्ने जो कोही सबैलाई उपयोगी र सहयोगी सिद्ध हुने नै छ ।

भलै यस पुस्तकमा केही छुट्न गएको, दोहोरिएको, तिथिमिति फरक पर्न गएको वा छपाईमा अशुद्धि जस्तो केही कमीकमजोरी रहेको किन नहोस । यसको बावजुत पनि यस पुस्तक अध्ययन गर्नु हुने पाठकहरुले वर्तमान म्याग्दी जिल्ला अस्तित्वमा आए पछिका र त्यस पूर्व पौराणिककाल, प्राचिनकाल, पूर्वमध्यकाल, मध्यकाल, राणाशासनकाल, प्रजातन्त्रकाल, पंचायतकाल, बहुदलिय व्यवस्थाकाल र बर्तमान गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाकालसम्मको एतिहासिक, राजनीतिक, प्रशासनिक, सामाजिक, आर्थिक, प्राकृतिक, साँस्कृतिक, धार्मिक, भूगोल आदिको बारेमा यथेष्ट जानकारी हासिल गर्नु हुनेछ र छुट्टै रस्वासादन प्राप्त गर्नु हुने छ ।

मैले माथि नै उल्लेख गरि सकें की आदर्निय गुरु बानियाँ सरकोे प्रस्तुत पुस्तकको बारेमा अद्योपान्त अध्ययन गरे पछि मलाई लागेको केही कुराहरु, छुटपुट, सुझाव र शुद्धाशुद्धि औंल्याईं धृष्टता गरेकोमा क्षमा प्रार्थी छु । मैले औल्याएका कुराहरु केही उदाहरण मात्र हुन् र ती पनि पूर्ण छैनन् । बिद्धान लेखक बानियाँ सरबाट भविष्यमा प्रस्तुत पुस्तकलाई अझै परिमार्जन र परिष्कृतका साथ अन्य छुटेका विधाहरु समेत समाबेश गरी पुनः दोश्रो संस्करण प्रकाशित गर्नु हुने छ भन्ने अपेक्षा गर्दछु ।
धन्यबाद ।