कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यो सजिलै पच्छ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फास्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व हुन्छन् । केही व्यक्ति ‘ग्लुटेन’ प्रति संवेदनशील हुन्छन् । यस्ता व्यक्तिका लागि कोदो राम्रो विकल्प हो ।कोदो खाए शक्ति मिल्छ । यो ऊर्जाको राम्रो स्रोत हो । यसबाहेक तौल घटाउनसमेत कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ ।

मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ । यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ ।

कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ । यसमा आइरनसमेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन ।पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ । कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ ।केहि अध्ययनका अनुसार कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ । यसको नियमित सेवनले मधुमेहको खतरासमेत कम हुन्छ । ekantipur.com