हजारौं आप्रवासीहरू सेन्ट्रल अमेरिकाबाट अमेरिका–मेक्सिको सीमातर्फ बढिरहेका छन् ।उनीहरू आआफ्ना देश होन्डुरस, ग्वाटेमाला र एल साल्भाडोरमा दमन, गरीबी र हिंसाबाट बच्नका लागि भागिरहेको बताउँछन् । आप्रवासीहरूको यात्रामा पानीको अभाव र आपराधिक समूहको आक्रमण लगायत अनेकौं खतराहरू छन् तर धेरै आप्रवासीहरूले हुल बाँधेर हिँड्दा सुरक्षित अनुभव गरेको बताएका छन् ।

अक्टोबर १२ मा होन्डुरसको अपराधका लागि कुख्यात शहर सान पेद्रो सुलामा १६० जनाको एक समूह एउटा बस स्टेसनमा भेला भयो अनि खतरनाक यात्रामा निस्कियो ।

उनीहरूले एक महिनादेखि यात्राको योजना बनाइरहेका थिए । देशमा व्याप्त बेरोजगारी र हिंसाको जोखिमबाट उनीहरू भाग्न खोजिरहेका थिए ।

पहिलेपहिलेका आप्रवासी हुलहरूमा केही सय मानिस हुने गर्थे तर एक पूर्वराजनीतिकर्मीले यो योजनाका बारेमा फेसबूकमा पोस्ट गरेपछि यसको समाचार तीव्र गतिमा फैलियो र मानिसको संख्या बढ्न थाल्यो ।

अक्टोबर १३ मा यो समूह एकाबिहानै हिँड्दा एक हजारभन्दा बढी होन्डुरसवासीहरू भीडमा मिसिइसकेका थिए । त्यसपछि उनीहरू छिमेकको मुलुक ग्वाटेमाला अनि त्यहाँ हुँदै मेक्सिको आइसकेका छन् । उनीहरूलाई बाटैमा हजारौं अन्यले साथ दिइरहेका छन् । अधिकांश आप्रवासीहरू अमेरिका वा मेक्सिकोमा नयाँ जीवन र थप राम्रा अवसरको खोजीमा हिँडेको बताउँछन् । अन्य चाहिँ आफ्नो मुलुकमा भइरहेको हिंसाबाट बच्न भागेको भन्छन् र शरणार्थी बन्नका लागि निवेदन दिने सोचमा छन् ।

होन्डुरसको जनसंख्या लगभग ९० लाख छ । त्यहाँ पहिलेदेखि नै आपराधिक समूहको हिंसा, लागूऔषधका कारण हुने झैझगडा र भ्रष्टाचार जस्ता समस्या छन् । त्यस क्षेत्रमै संसारको सबभन्दा बढी हत्या दर रहेको छ । ‘अमेरिका पुग्ने हाम्रो सपना छ । हामीहरू आफ्ना सन्तानलाई थप राम्रो भविष्य दिन चाहन्छौं र यहाँ होन्डुरसमा हामीले कामै पाउन सकेनौं,’ दुई सन्तानकी आमाले स्थानीय पत्रिका एल हेराल्डोलाई बताइन् । सेन्ट्रल अमेरिकावासीहरूले आआफ्नो देश छोडेर अमेरिका आउने गरेको भएपनि यो लर्कोको व्यवस्थित रूप चाहिँ तुलनात्मक रूपमा नयाँ नै हो ।

आप्रवासीहरूलाई प्रायः मानवतस्कर तथा लागूऔषध कारोबार गर्ने आपराधिक समूहहरूले अपहरण गर्ने गरेका छन् र आफ्ना लागि काम गर्न बाध्य पार्ने गरेका छन् । यति ठूलो समूहलाई चाहिँ तारो बनाउन अलि गाह्रो हुनाले
आप्रवासीहरू भीडमा सुरक्षा खोजिरहेका छन् ।  भीडमा कति मानिस छन् भनी प्रस्ट भन्न त सकिँदैन तर लर्कोको संख्या उत्तरतर्फ बढ्दै गर्दा तीव्र गतिमा बढिरहेको छ ।

संयुक्त राष्ट्रसंघका एक प्रवक्ताले सात हजारभन्दा बढी मानिस अक्टोबर २२ सम्ममा यो समूहमा जोडिएको अनुमान आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आईओएम) ले गरेको बताए । तर केही आप्रवासीलाई देशतिरै फर्काइएको वा मेक्सिकोमा शरण दिइएकोले त्यो संख्या घटेको छ । अक्टोबर ३० मा अमेरिकाका एक सीमा अधिकारीले लश्कर दक्षिणी मेक्सिकोतर्फ बढिरहेको र त्यसमा लगभग ३५ सय मानिस भएको बताउँछन् । अर्का अधिकारीले तीन हजारजनाको अर्को समूहमा प्रमुख रूपमा होन्डुरसका आप्रवासीहरू ग्वाटेमाला–मेक्सिको सीमामा रहेको बताए ।

उनीहरूको यात्रा कष्टकर छ र लर्कोमा जोडिन चाहने व्यक्तिहरूका लागि अनेकौं चुनौती रहेका छन् ।

त्यहाँ गर्मी मौसम भएकाले घामले डढ्ने र शरीरमा पानीको अभाव हुने जोखिम छ र केही आप्रवासीहरूले आफूलाई छाता र कार्डबोर्डका टुक्राले जोगाउन खोजेका छन् ।

लगातार ६ दिन हिँड्दा यात्राकै क्रममा धेरै मानिस बेहोश भएका छन् ।

आप्रवासीहरू सडकमा वा अस्थायी शिविरमा सुतिरहेका छन् र स्वच्छ पानी तथा सरसफाइको अभाव झेलिरहेका छन् ।

खानेकुराको पनि अभाव छ र स्थानीयहरूले आप्रवासीका भीडलाई आफूले सकेजति खानेकुरा दिएका छन् ।

ग्वाटेमाला र मेक्सिकोको सीमामा आप्रवासीहरूले लामो प्रतीक्षा गर्नुपरेको छ किनकि अधिकारीहरूले उनीहरूको कागजात जाँचबुझ गरिरहेका छन् । यसक्रममा भनाभन हुँदा प्रहरीसँग संघर्ष पनि भएका छन् ।

केही आप्रवासीहरूले ढुंगा हानेपछि प्रहरीले अश्रूग्यास प्रहार गरेको थियो जसले गर्दा अनेकौं मानिस घाइते भए ।

ती आप्रवासीहरू अमेरिका आइपुगेपछि उनीहरूले आफ्नो देशमा हिंसाको शिकार हुनुपरेको भनी शरणार्थी निवेदन दिएमा त्यसमाथि विचार गर्नैपर्ने कानूनी बाध्यता हुन्छ ।

शरण खोज्नेहरू दमनको गम्भीर डरबाट भागेको हुनैपर्छ । अन्तर्राष्ट्रिय कानूनअनुसार, त्यस्ता व्यक्तिलाई शरणार्थी भनिन्छ ।

शरण माग्ने व्यक्ति अमेरिकामा अवैध रूपमा पसेमा समेत उसको निवेदनमा सुनुवाइ गर्नैपर्ने हुन्छ ।

तर थप राम्रो जीवनस्तर खोजिरहेका व्यक्ति चरम गरीबीबाट भागिरहेका भएपनि शरणार्थी मानिँदैनन् र शरणार्थीले पाउने जस्तो सुरक्षा पाउँदैनन् ।  अमेरिकाका महान्यायाधिवक्ता जेफ सेसन्सले ‘विश्वसनीय डर’ सम्बन्धी शरणार्थी नियमलाई विगतमा दुरुपयोग गरिएको बताए र घरेलु हिंसा तथा आपराधिक समूहको हिंसाका पीडितलाई यसका लागि योग्य नठह¥याइने भनी जुन
महिनामा घोषणा गरेका थिए ।

यो ‘फर्काउने नीति’ विरुद्ध सदर्न पुभर्टी ल सेन्टर नामक संस्थाले मुद्दा हालेको छ र उसले शरण प्रक्रियामा पहुँचमाथि आप्रवासी अधिकारीहरूले अवैध रूपमा ढिलाइ गरेको आरोप लगाएको छ । आप्रवासीहरूको पहिलेको सानो लर्कोविपरीत यो लश्करले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको ध्यान आकर्षित गरेको छ । उनले सेन्ट्रल अमेरिकाका अनेकौं देशको आलोचना गर्दै आफ्ना जनतालाई उक्त क्षेत्र छोड्न अनुमति दिएर अमेरिकामा ‘अवैध’ रूपमा आउन दिएको बताए ।

ट्रम्पले ती देशलाई दिइने वैदेशिक सहायता पनि कटाउने धम्की दिएका छन् तर कुन रकम कटाउने हो भनी उनले तोकेनन् र कसरी कटाउँछन् भन्ने पनि प्रस्ट छैन ।

ट्रम्प राष्ट्रपतिको उम्मेदवार हुँदा चुनावी अभियानका क्रममा अवैध आप्रवासलाई नियन्त्रण गर्ने प्रतिज्ञा गरेका थिए ।

उनको रिपब्लिकन पार्टीले नोभेम्बर ६ मा मध्यावधि चुनावको सामना गरिरहेको छ र प्रतिनिधिसभामा डेमोक्रेटहरूले रिपब्लिकनलाई हटाउन सक्छन् ।

ट्रम्पले आप्रवासीहरूको ‘आक्रमण’को सामना गर्नका लागि अमेरिकी सेना तयार रहेको बताए अनि सोमवार अमेरिकाले मेक्सिको सीमामा ५२ सय सैनिकहरू पठाइने घोषणा पनि ग¥यो ।

त्यसो त राष्ट्रपतिले अमेरिकामा शरण खोज्ने आप्रवासीहरूलाई राख्नका लागि ‘शिविर शहरहरू’बनाइने फक्स न्युजलाई बताए ।http://lokaantar.com/