भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने उच्च कोटीको सांगीतिक प्रतियोगितात्मक कार्यक्रम सारेगामापामा नेपाली गायीका मेनुका पौडलले अर्को खुड्किलो पार गरेकी छन् ।उनी मेगा अडिसनबाट छनोट भएर आगामी राउण्डमा प्रवेश गरेकी छन् । आइतबार प्रशारण भएको सो कार्यक्रममा मेनुकाले रंग दे वसन्तीमा लता मंगेसकरले गाएको ‘लुका छुपी बहुत हुई..’ बोलको गीत गाएकी थिइन् । उनलाई सो गीतले अघिल्लो राउण्डमा पुर्याएको छ ।

मेनुकाले लताको गीत गाउँदा जज र जुरी मेम्बर नतमस्तक बनेका थिए । उनको आवाजले त्यहाँ जादू गरिरहेको थियो । जुरी मेम्बरबाट ९५.३ नम्बर प्राप्त गरेपछि उनी आगमी राउण्डका लागि प्रवेश गरिन् । कार्यक्रम सञ्चालक नेपाली मुलका आदित्य नारायण झाले मञ्चमा मेनुकासँग नेपालीमा कुरा गरेका थिए । उनले भनेका थिए, ‘तपाईँले गाएको गीतले सबैजनालाई आ आफ्नो ठाउँबाट उठाएको छ , तपाईँले राम्रो गाउनु भो ।’

त्यसपछि आदित्यले मेनुकालाई जुरी मेम्बरले दिएको अंक सुनाएका थिए । मेनुका ब्लाइण्ड भएकाले उनले जुरी मेम्बरले दिएको अंक आफै भने हेर्न सकिनन् । कार्यक्रमको दर्शक दिर्घामा रहेकी मेनुकाकी आमा भने छोरी अघिल्लो राउण्डमा प्रवेश गर्दा हर्षले विभोर देखिन्थिन् ।मेनुका नेपालमा हाल जारी रहेको नेपाल आईडलमा टप टेन भित्र पर्न नसकेपछि सारेगामापाको अडिसनमा पुगेकी थिइन् । सारेगामापाले पहिलो पटक नेपालमा पनि अडिसन गरेर नेपाली प्रतिभालाई मौका दिएको हो ।