जाडो बढेसँगै बालबालिकामा निमोनियाको जोखिम उच्च हुन्छ । नेपालमा हुने बाल मृत्युदरमा निमोनियालगायतका छातीको संक्रमण सबैभन्दा बढी छ ।निमोनियाका कारण नेपालमा हरेक वर्ष पाँच वर्ष मूनिका ५ हजार ६ सय बालबालिकाको मृत्यु हुने तथ्यांक छ । सन् २०११ को तथ्यांक अनुसार कुल बालमृत्युमध्ये १६ प्रतिशत निमोनिया र ११ प्रतिशत झाडापखालाबाट हुने गरेको उल्लेख छ ।

आर्थिक बर्ष २०७३÷०७४ मा कान्तिबाल अस्पतालमा मात्र १ हजार २ सय ७५ जना बालबालिकालाई निमोनियाको उपचार गरिएको थियो । कान्ति अस्पताल आउने बालबालिका मध्ये पहिलो रोग निमोनिया हो ।स्वासप्रस्वास रुघाखोकी र झाडापखाला जस्ता समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको संख्यामा वृद्धि भएपछि बालबालिकाको स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।

जाडो मौसममा रुघाखोकी, निमोनिया, दम, ब्रोंकाइटिस, चिसोको एलर्जी, छालाको समस्या, कोल्ड डायरिया लगायतका रोगले बालबालिकाको ज्यानै लिन सक्छ । रुघाखोकीबाट जोगाउन ६ महिना पूरा भैसकेका बालबालिकालाई इन्फ्लुएन्जा भ्याक्सिन, निमोनियाबाट जोगाउन निमोकोकल भ्याक्सिन लगाउन सकिनेछ ।