खाद्य नलीले खाएको खानेकुरा पेटमा पुर्‍याउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ यो प्रकृतीजन्य कुरा हो। एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका व्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम एसीडले गर्छ। तर, त्यही समयमा एसिडले तन्तुलाई जलाउन सक्ने क्षमता समेत राख्छ। तन्तुलाई बचाउन सक्ने क्षमता पनि त्यही छ। कुनै पनि तवरबाट एसिड बढी निस्कियो भने हुन्छ।

एसिड सामान्य निस्किए पनि शरीरलाई एसिडबाट बचाउन जुन काम हुन्छ त्यो काममा कुनै पनि किसिमले कमी आयो भने ग्याष्ट्रिक हुन्छ।कसै कसैको पेनकिलर बढी खाएमा पनि ग्याष्ट्रिक हुन्छ। चुरोट खाने मान्छेलाई पनि ग्याष्ट्रिक हुन्छ। कसैलाई पेटको क्यान्सर भयो भने खाना खाएपछि असजिलो हुन्छ। ग्याष्ट्रिकको लक्षण भएको मन्छेलाई क्यान्सर समेत हुने खतरा हुन्छ। खाद्यनलीमा समस्या आयो भने पनि ग्याष्ट्रिक हुन्छ।पेटमा भएको क्यान्सर, खाद्यनली क्यान्सरको लक्षणले पनि ग्याष्ट्रिक गराउँछ।ग्याष्ट्रिकको लक्षण भएको मान्छे सजग हुन जरूरी छ।

एसिड प्रोडक्सन बढी हुने कारणले पनि ग्याष्ट्रिक हुन्छ। हर्मोनको कारणले पनि ग्याष्ट्रिक हुन्छ। रक्सी खायो भने एसिड बढी निस्किन्छ जसले गर्दा ग्याष्ट्रिक गराउँछ । मुटुको रोगीले खाने कतिपय औषधिले पनि ग्याष्ट्रिक गराउँछ।धेरै पिरो खाने, कफी धेरै खाने, कडा–कडा दूध चिया धेरै खाने, मसलेदार खाना बढी खानेलाई पनि ग्याष्ट्रिकको समस्या बढी हुन्छ। चिल्लो बढी खाने मान्छेलाई पनि ग्याष्ट्रिक हुन्छ। त्यसैले चिल्लो कम खानुपर्छ।

के खाने? के नखाने ?

ग्याष्ट्रिक भएपछि उमालेको मात्रै खाने, माछामासु नखाने प्रवृत्ति गलत हो। सन्तुलित भोजन गर्नुपर्छ। लामो समयसम्म भोकै बस्नु हुँदैन। तर, धेरै तातो खानेकुरा भने खानु हुँदैन। मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ। चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ।

ग्याष्ट्रिकको पहिलो उपचार भनेको सतर्कता अपनाउने नै हो। सुन्तला, कागती, भोगटे लगायतका फलफूल खानुहुँदैन। डाक्टरको सल्लाह लिएर मात्र औषधि खानुपर्छ, जथाभावी गर्नु हुँदैन।

यसको उपचार के हो ?

कतिपय ग्याष्ट्रिक सामान्य हुन्छ। कतिपय ग्याष्ट्रिक बिग्रिएर अल्सर भएको हुन्छ। अल्सर लामो समयसम्म उपचार नगरे रक्तश्राप भइरहन्छ। ग्याष्ट्रिक कुन चरणमा छ त्यसको उपचार पनि त्यसमा भरपर्छ।

कसैको रक्तश्राप धेरै भइरहेको छ भने आकस्मिक कक्षमा राखेर समेत उपचार गर्नुपर्छ। अल्सरका कारण रक्तश्राप भएको छ भने त्यसको उपचार छुट्टै किसिमले गर्नुपर्छ।

सामान्य अल्सर छ भने त्यसको उपचार अलग्गै गर्नुपर्छ। एसिड प्रोडक्सन कम गर्ने औषधि पनि दिनुपर्छ। सामान्य खालको ग्याष्ट्रिक हो भने एसिड कम गर्ने औषधि केही समय खाएपछि आफैं ठीक हुन्छ। setopati.com

( लेखक :डा.अजित खनाल,वरिष्ठ ग्याष्ट्रोलोजिष्ट)